पूर्वमन्त्रीहरूले सुरक्षाकर्मी लिएर हिँड्नु लाजमर्दो हो, तत्कालै फिर्ता बोलाइयोस्: प्रकाश ज्वाला (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वमन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरूको सुरक्षामा खटाएको सुरक्षाकर्मी तत्काल फिर्ता गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू पनि मन्त्री भएको, तर मन्त्रीबाट बिदा भएलगत्तै सुरक्षाकर्मी फिर्ता पठाएको बताए ।

उनले भने, ‘यतिबेला सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीलाई भूतपूर्व मन्त्रीहरू, कतिपय राजनीतिक दलका नेताहरू, कतिपय व्यापारीहरूको सुरक्षामा खटाएको छ । ऐन, कानूनविपरीत त्यसरी सुरक्षाकर्मीहरूलाई खटाउने कुरा निश्चित रूपमा गम्भीर छ, बेठीक छ, गलत छ ।’

गैरकानुनी रूपमा सुरक्षाकर्मीहरू कुन कुन व्यक्तिका लागि खटाइएको छ, त्यो गृहमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने उनले बताए ।

सांसद ज्वालाले थपे, ‘तुरुन्तै त्यसरी खटाइएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाउनुपर्छ । म पनि मन्त्री भएको, म जुन दिन मन्त्रीबाट बिदा भएँ, त्यसै दिन सुरक्षाकर्मी फिर्ता गरेँ, तर अहिले कतिपय पूर्वमन्त्रीको पछिपछि सुरक्षाकर्मी खटाइएको छ । यो लाजमर्दो कुरा हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *