शिक्षा विधेयक भोलि पारित गर्ने समितिको तयारी, विवादित यी विषयमा जुट्यो सहमति (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका विवादित विषयमा सहमति जुटाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले निजी विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा सहमति जुटाएको हो । बैठकमा निजी विद्यालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी र गैरनाफामूलक बनाउने प्रस्तावमा सहमति जुटेको छ ।

निजी विद्यालयलाई क्रमशः सेवामूलक, लोककल्याणकारी र गैरनाफामूलक बनाएर जाने शिक्षा विधेयकको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको समिति सभापति अम्बरबहादुर थापाले जानकारी दिए ।

 

त्यस्तै प्रारम्भिक बाल विकास शिक्षालाई दुई वर्षको बनाउने सहमति भएको छ । स्थानीय तहले राष्ट्रिय मापदण्डको अधिनमा रही बाल विकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेगरी सहमति भएको सभापति थापाले जानकारी दिए ।

त्यस्तै ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्ने प्रावधान पारित भएको उनले बताए ।

हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद नलाग्ने, सेवा सुविधा स्थानीय तहले तोक्ने र बाल विकास सहजकर्ताका लागि कक्षा १२ उत्तीर्ण हुनुपर्नेलगायतका प्रावधान विधेयकमा राखिएको छ । समितिको बैठक शनिबार पनि बोलाइएको छ । शनिबार नै उक्त विधेयक पारित गर्ने समितिको तयारी छ ।

Comments

One response to “शिक्षा विधेयक भोलि पारित गर्ने समितिको तयारी, विवादित यी विषयमा जुट्यो सहमति (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    पहिला यिनले नागरिकता विधेयक पारित गर्छन् ।समितिमा पनि विधेयकमा न बिरोध, न परिमार्जन किनभने यी दक्षिणका भक्त हुन् । नेपालीलाई विदेश पठाउने अनि दक्षिणबाट आएर बसेकालाई नागरिकता दिन व्यवस्था खुकुलो बनाउदै जाने । सिक्किमीकरणको नयाँ फर्मूला । त्यसपछि शिक्षा विधेयक । निजामती विधेयकलाई त सरकारका मान्छेले अहिलेका सचिवहरूसँग दाम कमाउने भाँडो बनाउन पाएका छन् । पास गर्दैनन । बरू फेरि परिमार्जन भनेर फिर्ता लिन सक्छन् । अहिले ओलिलाई निजामति विधेयकले कलंकित गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *