मधेस प्रदेश– आफैंले ल्याएको बजेटमा जनमतको विरोध, संशोधन गर्नुपर्ने निर्णय

जनकपुरधाम । आफ्नै पार्टी नेतृत्वको मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा असन्तुष्टि जनाउँदै जनमत पार्टीले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।

जनमतको संसदीय दलको बैठकले नीति तथा कार्यक्रम बमोजिम बजेट नआएको निष्कर्ष निकाल्दै संशोधन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो । सो दलका नेता महेश प्रसाद यादवले बजेट संशोधन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘नीति तथा कार्यक्रम एकातीर बजेट अर्कातिर छ । मुख्य एजेण्डालाई छाडेर सहायक एजेण्डामा बजेट हालिएको छ । यो हामीलाई स्वीकार्य छैन ।’

बजेटमाथि छलफलका लागि आज डाकिएको प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । सो विषयमा सभामुखसँग जवाफ माग गर्ने निर्णय पनि भएको जनमतका दलका नेता यादवले बताए ।

बजेट आएको १० दिनपछि मंगलवार प्रदेशसभा बैठक डाकिएको थियो, जुन बैठकमा रेडबुक बाँडियो । दुई साँसदले मात्र छलफलमा भाग लिएपछि सभामुख रामचन्द्र मण्डलले बजेटको अध्ययन साँसदहरुले नगरेको भन्दै बैठक स्थगित गरे ।

उनले अर्को बैठक बुधवार दिउँसो १ बजे बस्ने जानकारी गराएका थिए । तर आज अन्तिम समयमा आएर सूचना टाँसगरी बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । प्रदेशसभा बैठक स्थगित गरिएकोमा पनि जनमत पार्टीले आपत्ति जनाएको छ ।

बजेटमा जनमतका राष्ट्रिय अध्यक्ष डा। सीके राउतले समेत आपत्ति जनाइसकेका छन् । उनले बजेटमा बिचौलियाले प्रवेश पाएको भन्दै आफू स्वयंम पीडित बनेको उल्लेख गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *