युद्धभूमि इरानबाट घर फर्किए दुई युवा, त्यताको स्थितिबारे के भन्छन् ?

रुपन्देही । युद्धको चपेटामा परेको इरानमा रहेका दुई नेपाली युवा बुटवलस्थित घरमा आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारको अनुरोधमा इरानको मसादबाट भारत सरकारले उद्धार गरेर ल्याएको हो ।

कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुटवल उपमहानगरपालिका वडा नं १२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे बुधबार बुटवलस्थित घरमा आइपुगेका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उनीहरु दुवै सकुशल आइपुगेको जानकारी दिए ।

‘हामीले बेलहिया नाकामा उहाँहरुलाई पर्खिएर बसेका थियौं, तर कृष्णनगर नाका हुँदै घर आइपुग्नु भएछ,’ घिमिरले भने । पोखरेलको परिवारसँग आफूले कुराकानी गरेको र राम्रैसँग घरमा आइपुगेको जानकारी पाएको बताए ।

उद्धारपछि घर फर्किंदै गरेका पोखरेल र गैरेलाई सीमा नाकामा स्वागत गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा सुरक्षा अधिकारीहरु बेलहिया नाका पुगेका थिए । तर, ४ बजेतिर मात्रै उनीहरु कृष्णनगर नाकाबाट घर फर्किएको खबर सुरक्षा अधिकारीहरुले पाएका थिए ।

बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले उनीहरुलाई घरमै पुगेर भेट गरे । भेटका क्रममा उनीहरूले नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफूहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुशल आइपुगेको भन्दै खुशी व्यक्त गरेका छन् ।

नगर प्रमुख पाण्डेयले स्थानीय सरकारका रूपमा हुनसक्ने सहयोग र भूमिका निर्वाह गर्ने तथा संघ सरकारसँग आवश्यक पहल गर्ने बताए ।
उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले मंगलबार स्वागत गरेको थियो । उनीहरूले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासँग मंगलबार दिल्लीमा भेट गरेका थिए ।

दश वर्षदेखि रोजगारीको सिलसिलामा इरान रहेको र आउने–जाने गर्दै आएको सुमनले सुनाए । इरानमा युद्ध भए पनि आफूहरूलाई खासै अप्ठ्यारो भने नपरेको उनको भनाइ छ ।

‘हामीलाई साह्रै अप्ठ्यारो पनि परेको थिएन । प्रत्यक्ष हमला पनि देखिएन । पछि ठूलो अप्ठ्यारो आइलाग्छ कि भनेर भारतीय एम्बेसीमार्फत् फर्किएका हौं,’ उनले भने, ‘तत्काल नफर्किने पनि सोचेका थियौं । तर सबैको सल्लाहमा आयौं ।’

सुमन गएको मार्चमा घर आएर इरान फर्किएका थिए । युद्धभूमिबाट घर फर्केका गणेशले पनि ठूलो समस्या भोग्न नपरेको बताए । त्यहाँको सरकारी क्याम्पमा काम गर्ने गणेशसँग पाल्पा र अर्घाखाँचीका युवा पनि सँगै काम गर्थे ।

‘खासै चहलपहल नभए पनि क्यापिटल सिटी तेहरानमा पनि युद्धको त्रास थियो । हामी फर्किनेबेलासम्म जोखिम भइसकेको थिएन । बजार जाँदाआउँदा पनि हामीलाई कसैले अप्ठ्यारो पारेको थिएन । तर सबैको सल्लाहमा आएका हौं,’ गणेशले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *