काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) भित्र अन्तरविराेध तीव्र बनेकाे छ । सचिव पारस खड्कासँग असन्तुष्ट रहँदै आएका उपाध्यक्ष रोशन सिंहसहित ८ बोर्ड सदस्यले अध्यक्ष चतुरबहादुर चन्दलाई गुहारेका छन् ।
केही दिनअघि उनीहरुले अध्यक्षलाई पत्र लेख्दै क्यानको वर्तमान कार्यशैली, पारदर्शिता र निर्णय प्रक्रिया विषयमा ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण गराउनेमा सिंहसहित बोर्ड सदस्य प्रदीप मजगैया, दुर्गाराज पाठक, विक्रम विष्ट, माधव कर्मचार्य, विरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्ट छन् ।
ध्यानाकर्षण पत्रमा कसैको नाम उल्लेख नगरेपनि उनीहरुले लगाएका आरोप सचिव पारस खड्काप्रति लक्ष्यित देखिन्छ ।
पारसले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण सम्पन्न गर्न मुख्य भूमिका खेलेका थिए । यस्तै पछिल्लो समय क्यानले गर्ने अधिकांश गतिविधिमा पारसकाे नेतृत्वदायी भूमिका रहँदै आएकाे छ ।
क्यानबाट भइरहेका प्रयास संस्थागत नभई व्यक्तिगत स्वार्थमा भएको उनीहरुको आरोप छ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको हिसाबकिताब नपाएको, बोर्डबाट अनुमोदन नभएको, नेपाल र वेष्ट इन्डिजबिचको टी–२०आई सिरिजका बारेमा बोर्डलाई जानकारी नदिएको र संस्थागत पारदर्शिता र सामूहिक निर्णय प्रणालीमा गम्भिर त्रुटि भएको उनीहरुले दाबी गरेका छन् ।
क्यानबाट हुने निर्णय स्पष्ट, खुला र संस्थाको विधि विधानमा हुनुपर्नेमा ती बोर्ड सदस्यले जोड दिएका छन् ।
‘ध्यानाकर्षण पत्रलाई समेत वेवास्था गरी अगाडि बढेमा आगामी दिनमा आउने सक्ने सम्भावित परिस्थितिको जिम्मेवारीमा हामी कुनै दायित्व नरहने कुराको समेत स्पस्ट पार्न चाहन्छौं,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।


Leave a Reply