संसदको लफडा छल्दै रास्वपा सांसदहरूको विदेश लर्को

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार संसद् अवरोध प्रयास गर्दै आएको छ । तर, रास्वपाको विरोधबीच पनि सभामुख देवराज घिमिरेले संसदीय कारबाही अगाडि बढाइरहेका छन् ।

आज पनि रास्वपा सांसदहरू संसदीय प्रक्रियामा सहभागी छैनन् । बैठक सुरुभएदेखि नै उनीहरू वेल अगाडि आएर बसिरहेका छन् । तर, आज रास्वपा सांसदहरूको उपस्थिति पातलो देखिन्छ । पार्टी कार्यवाहक सभापति डीपी अर्यालसहितका केही प्रभावशाली सांसदहरू उपस्थित छैनन् ।

रास्वपा स्रोतका अनुसार अहिले पार्टीका कम्तीमा ५ जना सांसद विभिन्न कार्यक्रम बनाएर विदेश सयरमा हिँडेका छन् । पार्टीको सदन प्रतिरोधलाई कमजोर बनाउने गरी एकसाथ विदेश लर्को लागेको भन्दै स्रोतले असन्तुष्टि प्रकट गर्‍यो ।

कार्यवाहक सभापति अर्याल हिजो बेलुकी कतार लागेका छन् । उनी रास्वपाको प्रवास विभागको कार्यक्रममा भाग लिन गएका हुन् । उनको दुई–तीन दिनको तालीका रहेको स्रोतले बतायो ।

पार्टीकी प्रत्यक्ष निर्वाचित सांसद डा. तोसिमा कार्की अमेरिका पुगेकी छन् । अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गर्ने उनको कार्यक्रम छ । उनले फेसबुकमा जून २१ देखि २९ सम्म विभिन्न सहरमा हुने भेटघाट कार्यक्रमको तालीका सेयर गरेकी थिइन् । आफूलाई पायक पर्ने स्थानमा सहभागी हुन उनले आह्वान गरेकी छन् ।

पार्टीका अर्का सांसद गणेश पराजुली अष्ट्रेलियामा छन् । उनी पनि रास्वपा निकट प्रवासी नेपाली सम्पर्क विभागको निमन्त्रणमा गएका हुन् । उनले असार ७ र ८ गते सिड्नी र क्यानबेरामा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

थप दुई सांसदहरू हरि ढकाल र सोविता गौतम भने छिमेकी देश भारत गएका छन् । उनीहरू हिजो बैंगलोर पुगेको जानकारी फेसबुकबाट दिएका थिए । उनीहरूले आज रास्वपाको कर्नाटक समिति घोषणा गर्ने कार्यक्रम रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *