शारीरिक सुगठन प्रतियोगिताः ग्रेस महर्जनलाई ‘मिस्टर महानगर’ उपाधि, जिते ५ लाख ७५ हजार

काठमाडौं । ग्रेस महर्जनले ‘मिस्टर महानगर’ को उपाधि प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ ले शनिबार राष्ट्रियसभा गृहमा आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको उपाधि उनले जितेका हुन् ।

ओभरअल विजेता भएपछि ‘मिस्टर महानगर’ को उपाधिसहित ट्रफी, मेडल, प्रमाण पत्र र नगद ५ लाख ७५ हजार रूपैयाँ (क्याटागोरी विजेताका रूपमा ७५ हजार रुपैयाँ र ओभरअल विजेताका रुपमा ५ लाख रुपैयाँ) महर्जनले प्राप्त गरे । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा ६ तौल समूहमा ३८ जना खेलाडी प्रतिस्पर्धामा थिए । प्रतियोगिताको पहिलो दिन असार ६ गते तौल मापन गरिएको थियो ।

७५ के. जी. माथिको तौल समूहमा ६ जना खेलाडी थिए । यस समूहमा नेपाल व्यायाम मन्दिर, ज्याठाबाट भाग लिएका महर्जन क्याटागोरी विजेताका रूपमा अन्तिम प्रतिस्पर्धामा गए । ७५ केजीसम्म तौल समूहका ५ जना खेलाडीमा नेपाल व्यायाम मन्दिर ज्याठाका सुरेश मुनिकार, ७० केजीसम्म तौल समूहका ६ जना खेलाडीमा पावर फिजिकल फिटनेस, पेप्सीकोलाबाट सुसन श्रेष्ठ, ६५ केजीसम्म तौल समूहका ८ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका युवराज बस्नेत, ६० केजीसम्मको तौल समूह भएका ७ जना खेलाडीमा फिटनेस ग्यारेज, न्युरोडका सुमित गिरी र ५५ केजी सम्मको तौल समूहका ६ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका नेवबहादुर राना क्याटागोरी विजेता बनेका थिए ।

प्रिजजिङ् चरणपछि भएको प्रतियोगितामा उत्कृष्ट ५ छनोट गरियो । क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रूपैयाँ नगद प्रदान गरिएको थियो । यस्तै चौथो स्थान हासिल गर्नेलाई १५ हजार नगद र पाँचौ स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

त्यस अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु नै अमूल्य सम्पत्ति रहेको बताउँदै, निरोगी जीवन प्रवर्धनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे ।

‘आरोग्य जीवनका लागि सरकारदेखि समुदायसम्म सबैका आफ्नाआफ्नै भूमिका छन् । सबैले आफ्नाआफ्ना भूमिका निभाउनुपर्छ । नागरिकले स्वस्थ्य आचरण पालनामा ध्यान दिनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले यसप्रकारका प्रतियोगिताले सहरी जनस्वास्थ्यमा सकारात्मक सन्देश प्रवाह हुने बताइन् ।

आयोजक वडाका अध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘रोग लागेपछि उपचार गर्ने अस्पताल बनाउनुभन्दा रोग लाग्न नदिन खेल मैदान र व्यायामशाला बनाउन आवश्यक छ । यस्ता पूर्वाधार र संरचना बनाउने हो भने स्वास्थ्य क्षेत्रमा सरकारले गरिरहेको खर्च घट्छ ।’

वडा नम्बर २२ ले ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ च्याम्पियनसिप २०८२’ आयोजना गरेको हो । प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *