भैरहवामा टी-१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टीम रेस्पोन्स विजयी

रुपन्देही । रुपन्देहीको भैरहवामा शनिबार टी-१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा एसियन बुद्ध टी-१० क्रिकेट सुरु भएको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले हराएको छ ।

टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ६ विकेट गुमाएर १०५ रनको बलियो योगफल बनायो । प्रोफेसनलका भुवन गैरेले ३६, सुरज खड्काले अविजित १६ र मेहफोज आलमले १२ रन बनाए ।

मायादेवीका निरज मौर्य, अर्जुन करौस र आरिफ खानले समान २-२ विकेट लिए । जवाफी ब्याटिङ गरेको मायादेवीले निर्धारित खेलमा जम्मा ४४ रनमात्रै बनायो ।

उसलाई सस्तैमा रोक्न प्रोफेसनलका जयप्रताप यादवले २ तथा करण केवट, अख्तर हुसेन र सुरज खड्काले समान १-१ विकेट लिए । मायादेवीका ननदलाल यादवले अविजित २६ र निरज मौर्यले १४ रन बनाए । प्रोफेसनलका जयप्रताप यादव प्लेयर अफ द म्याच बने ।

यस्तै दोस्रो खेलमा टीम रेस्पोन्स लुम्बिनीले मर्निङ क्रिकेट क्लबलाई ३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको टीम रेस्पोन्सले ६ विकेट गुमाएर ८९ रन बनायो । उसका लागि जावेद खानले ७३ रनको योगदान गरे । बलिङमा मर्निङ क्रिकेट क्लबका प्रवेज अन्सारीले ३, सिजन मकाजुले २ र आकाश थापाले १ विकेट लिए ।

जवाफमा मर्निङ क्रिकेट क्लबले ४ विकेट गुमाएर ८६ रनमात्रै जोड्यो । उसका लागि अनिल जैसवारले ३० र दामोदर शर्माले २० रन बनाए । बलिङमा टीम रेस्पोन्सका फरहाद खानले २ विकेट लिए । खेलमा टीम रेस्पोन्स लुम्बिनीका जावेद खान प्लेयर अफ द म्याच भए ।

असार ९ गतेसम्म हुने प्रतियोगितामा रुपन्देहीका क्लब र एकेडेमीहरु गरी १४ वटा टीम सहभागी छन् । प्रतियोगिताको विजयी टीमले ८० हजार नगद र उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै सेमिफाइनल पुग्ने दुइटा टीमलाई नगद १०-१० हजार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८-८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २०० रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५०० तथा दर्शक दीर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई ५०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *