बागमतीमा प्रदेश आर्थिकमन्त्री काफ्लेले गरे चुनावमा बुथ कब्जाको शैलीमा बजेट कब्जा !

सिन्धुपाल्चोक ।

  • सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका- ८ एक्लेबेसी सानो बस्ती छ, त्यहाँ जम्मा १५ घरपरिवारको बसोबास छ । बागमती प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको बजेटमा उक्त बस्तीमा मात्रै १८ योजनाका लागि बजेट विनियोजन भएको छ । २५ लाखको ६, २० लाखको २ र १० लाखका १० वटा योजना उक्त बस्तीमा समेटिएको छ ।
  • दोलखामा पहिरो नै नगएको बस्तीमा पहिरो नियन्त्रणका लागि बजेट विनियोजन गरिएको छ । २५ जना पनि विद्यार्थी छैनन्, तर विद्यालयका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
  • सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका एक वडा अध्यक्ष बजेट माग्न प्रदेश राजधानी हेटौंडा पुगे । उनले सबै मन्त्रालयमा पुगेर सकेसम्म मन्त्री र कर्मचारीहरुलाई आफ्नो वडामा बजेट व्यवस्थापन गरिदिन अनुरोध गरे । जवाफमा मन्त्रालयका कर्मचारीहरुले भने- ‘हामी बजेट जति पनि हाल्न सक्छौं, जति चाहिन्छ लैजानुहोस्, तर रातो किताब सार्वजनिक भएपछि प्रत्येक योजनाको १० प्रतिशत दिनुपर्छ । योजनाकै १० प्रतिशत दिनुपर्ने भएपछि ती वडाध्यक्ष आफूले त्यति रकम दिन नसक्ने भन्दै हेटौंडाबाट फर्के ।

वागमती प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्‍यो । सासंदहरुलाई दिउँसो ३ बजे बजेट ल्याउने भने पनि राति १० बजेमात्रै बजेट सार्वजनिक भएको थियो । ६७ अर्ब ४७ करोड ७३ लाख बजेटमा दीर्घकालीन महत्वका योजनाहरु नै समावेश छैनन् ।
बागमती प्रदेश सरकारले ल्याएको बजेट हेर्दा एकदमै हचुवा र बजेटको सर्वमान्य सिद्धान्तभन्दा फरक रुपमा आएको प्रदेश सासंदहरुको भनाइ छ ।

एउटै बस्तीमा करोडौंका योजनामा बजेट विनियोजनमात्रै होइन, एउटै योजनामा फरक-फरक नामबाट समेत बागमती प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

बजेट सार्वजनिक हुने केही दिन अगाडिदेखि नै प्रदेश राजधानी हेटौंडामा सांसद, जनप्रतिनिधि र नेताहरुको भीड लाग्ने गर्थ्यो र त्यो भीड यस वर्ष पनि हेटौंडामा लागेको थियो । प्रदेश राजधानीमा भेटिएकाहरु अघिल्लो पटक बजेट माग्न आएको भन्दै थिए भने यो वर्ष ‘बजेट किन्न आएको’ खुलेआम भनिरहेका थिए ।

नेतादेखि जनप्रतिनिधिसम्म अघिकांश बजेट माग्नभन्दा पनि यस वर्ष बजेट किन्न आएको खुलेआम बताउँदै हिँडेको आफूहरुले समेत सुनेको बागमती प्रदेश सरकारका पूर्वमन्त्री युवराज दुलालले बताए ।

बजेट माग्न आउनेहरुसँग ‘बिचौलिया’हरुले योजनाबापत रकमको बार्गेनिङ गरेका थिए । बिचौलियाहरुबाहेक कर्मचारी र मन्त्रीका स्वकीय सचिवहरुले समेत योजना हालेपछि रकमको सुनिश्चित भएपछि मात्रै बजेट विनियोजन गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बजेट सार्वजनिक हुनुभन्दा अगाडिदेखि नै चालू आवमा बाँकी रहेका बजेटहरुका लागि पनि विशेषगरी आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले र उनको सचिवालयले सीधै १० प्रतिशत रकम माग गरेको र त्यो रकम सुनिश्चित हुनासाथ योजना पठाउने गरेको धेरै जनप्रतिनिधिहरुको भनाइ छ ।

आगामी आवका लागि पनि मन्त्री काफ्लेले धेरै योजना १० प्रतिशत रकम आउने सुनिश्चित भएका योजनामा मात्रै हालेको मन्त्रालयका कर्मचारीहरुको भनाइ छ ।

मन्त्रीले बजेटमा सीधै हस्तक्षेप गर्दा कर्मचारीहरुले असन्तुष्टिसमेत प्रकट गरे पनि मन्त्री र उनको सचिवालयका अगाडि कर्मचारीहरु निरीह भएका थिए । बागमती प्रदेश सरकारले दीर्घकालीन महत्वका योजनाभन्दा पनि आफ्ना कार्यकर्ताहरु खुसी बनाउने र कमिसन पाउने योजनाहरुमा मात्रै बजेट राखिएको सासंदहरुको भनाइ छ ।

पहिरो नियन्त्रणका लागि १० लाख विनियोजन गरिएको छ, तर सडक कालोपत्रे भनेर जम्मा ५ लाख रुपैयाँमात्रै विनियोजन गरिएको छ । ‘५ लाख रुपैयाँले सडक कसरी कालोपत्रे गर्न सकिन्छ’, एक जनप्रतिनिधिले भने ।

अधिकांश योजना नदी र पहिरो नियन्त्रणमा

बागमती प्रदेश सरकारले प्रारम्भिक रुपमा सांसदहरुलाई उपलब्ध गराएको बजेट पुस्तिका हेर्दा धेरै योजना नदी र पहिरो नियन्त्रणका लागि विनियोजन भएको छ । यो शीर्षकमा काम गर्दा धेरै रकम बच्ने र मन्त्रालयका कर्मचारी र मन्त्रीहरुलाई समेत दिन सजिलो हुने भएपछि यस्ता शीर्षकमा बजेट धेरै राखिएको यसअघि यस्ता बजेटबाट काम गरिसकेका जनप्रतिनिधिहरुको अनुभव छ ।

स्थानीय सरकारसँग सिफारिस माग्न आउँदा पनि धेरै योजना नदी नियन्त्रण र पहिरोका लागि आउने गरेको जनप्रतिनिधिहरुको भनाइ छ ।

‘हामीले नदी र पहिरो नियन्त्रणका लागि इस्टिमेटसहित गरेर पठाएका योजनामा बजेट पर्दैन, वडाबाट एउटा सिफारिसका भरमा बजेट परेका छन्’, सुनकोशी–७ का वडाध्यक्ष ईश्वर तिमिल्सनाले भने ।

स्रोतको हावादारी अनुमानमा बजेट ल्याइयो: दुलाल

बागमती प्रदेश सरकारका पूर्वमन्त्री युवराज दुलाल शरदले अहिले ल्याएको बजेट एकदमै हचुवा र स्रोतको कुनै अनुमान नै नगरी ल्याएको बताउँछन् ।

‘सरकारले राजस्वको अनुमान नै गरेको छैन, सबै गर्दा प्रदेशको कुल बजेट ६० अर्ब हाराहारीमा होला । अनि बाँकी बजेट कताबाट ल्याउने ?’, दुलालले भने, ‘प्रदेशले धान्नै नसक्ने बजेट हावादारी रुपमा ल्याइएको छ ।’

प्रदेश सरकारले वित्तीय अनुशासनभन्दा बाहिर गएर बजेट ल्याएको दुलालको भनाइ छ ।

‘यो ज्ञानविनाको बजेट हो । यसले प्रदेशको विकास हुनै सक्दैन । अर्थ मन्त्रालयले नै अघिल्लो वर्ष स्रोत सुनिश्चित गरेका योजनाहरुमा समेत यो पटक बजेट नराखेर त्यस्ता योजना अलपत्र बनाएको छ’, दुलालले भने, ‘धेरै योजना उपभोक्ता समितिलाई केन्द्रमा राखेर बजेट ल्याइएको छ । अघिल्लो वर्ष काम गरेका निर्माण व्यवसायीहरुको भुक्तानी गर्नुपर्ने रकम यो वर्ष समेटिएको छैन । यस्तो अवस्थामा बजेट कार्यान्वयन हुन सक्दैन र प्रदेशवासीलाई प्रदेशप्रतिको विश्वास पनि घट्दै गइरहेको छ ।’

बजेट हेर्दा स्वार्थ समूहको प्रभाव र नकारात्मक नियतबाट ल्याइएको दुलालको आरोप छ । ‘पहिचान नै नभएका योजनाहरुलाई बजेट राखिएको छैन । प्रदेश सरकारले गुरुयोजना बनाएर बहुवर्षे ठेक्का लगाएको योजनामा बजेट नै छैन’, पूर्वमन्त्री दुलालले भने ।

‘मन्त्रीले बुथ कब्जा जस्तै गरेर बजेट कब्जा गरे’

दोलखाको गैरीमुदीलगायतका मतदान केन्द्रहरुमा प्रत्येक निर्वाचनको बेला बुथ कब्जा हुने गर्छ । गएको निर्वाचनमा पनि गैरीमुदीलगायतका मतदान केन्द्रमा बुथ कब्जा भएपछि दोस्रो पटक निर्वाचन गरिएको थियो । बुथ कब्जाको नेतृत्व कांग्रेस नेता एवम् हालका बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भएको थियो ।

बुथ कब्जाको अभ्यासबाट राजनीतिमा आएका काफ्लेले सोही शैलीमा बजेटमा समेत अट्याक्क गरेका छन् । ‘हामी बजेट बनाइरहेका थियौं । मन्त्रीसहितका टोली आएर बुथ कब्जाको शैलीमा बजेट र हामीमाथि अट्याक भयो’, मन्त्रालयका एक कर्मचारीले भने ।

मन्त्रीले बजेटमा अट्याक गरेपछि बेलुकी अबेरमात्रै बजेट आएको थियो । आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले बजेट ल्याउने समयमा मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली र अन्य कर्मचारीहरुलाई हातपातसमेत गर्न खोजेका थिए ।

सांसदभन्दा शक्तिशाली मन्त्रीका पीए !

नेकपा एमालेकी बागमती प्रदेश समानुपातिक सांसद माइली लामालाई आफ्ना क्षेत्रका नेता कार्यकर्ताहरुले बजेटको लामै लिस्ट थमाएका थिए । उनी योजनाका लिस्ट बोकेर विभिन्न मन्त्रालयमा धाइन्, तर हातलाग्यो शून्य । अन्तिममा मन्त्रालयले सांसदहरुका लागि उपलब्ध गराएको बजेटबाटै भाग लगाएर सकेसम्म धेरै योजनाहरु समावेश गरिन् ।

सांसदहरुले एउटा योजना पाउन धेरै कष्ट र हैरानी व्यहोर्न परे पनि मन्त्रीका स्वीकय सचिवहरुले भने आफू निकटका व्यक्तिहरुलाई सहजै रुपमा करोडौंको बजेट दिन सफल भएका छन् ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको स्वकीयसचिव सुनकोशी- ६ निवासी मिलन भण्डारी आफ्नो गाउँ टोलमा मात्रै होइन, ससुराली दोलखाको कालिञ्चोक गाउँपालिकाको सुनखानीमा समेत करोडौंको योजना हाल्न सफल भएका छन् ।

बजेट सार्वजनिक भएपछि उनलाई करोडौंको योजना हाल्न सफल भएको भन्दै धेरैले सामाजिक सञ्जालमार्फत धन्यवादसमेत दिएका छन् । ‘हामी सासंदहरुभन्दा मन्त्रीका पीएहरु बढी शक्तिशाली भए । बजेटमा हाम्रोभन्दा उनीहरुको बढी चल्यो’, माओवादीकी समानुपातिक सांसद अमृता नेपालले गुनासो गरिन् ।

माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष एवम् प्रदेश सांसद सरल सहयात्रीले पनि बजेट आधारभूत तहमा नै कमजोर रहेको बताए । सासंद र जनप्रतिनिधि झोला बोकेर बजेट माग्न जाने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

‘नीति तथा योजना आयोगले एउटा नीति बनाउँछ । सरकारले अर्को नीति र बजेट ल्याउँछ । अनि कसरी बजेट प्रभावकारी हुन्छ’, उनले भने, ‘प्रदेश सांसदको नेतृत्वमा बजेट निर्माण गरेर त्यसको कार्यान्वयनमा लाग्ने गरेर प्रदेशले नीति बनाउनुपर्छ ।’

Comments

One response to “बागमतीमा प्रदेश आर्थिकमन्त्री काफ्लेले गरे चुनावमा बुथ कब्जाको शैलीमा बजेट कब्जा !”

  1. ksp pyl Avatar
    ksp pyl

    विद्यार्थी नेता भएका बेला दिनदिनै चर्चामा हुन्थे यी । तर चर्चा झगडा गरेको, मान्छे पिटेको, क्याम्पस तोडफोड गरेको यस्तै यस्तै कुराको हुन्थ्यो । सकारात्मक काम, कुरा केही नगरेकोले गर्ने यस्तै कब्जा त हो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *