काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती विधेयक कार्यसूचीबाट हटाइएकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले असार १४ गतेसम्मको कार्यसूचीमा पनि नराखेको भन्दै असन्तुष्टि जनाए ।
सत्तारुढ दलबीच नै कुलिङ पिरियडबारे सहमति नभएपछि सरकार यसबाट पछि हटेको थियो । त्यसबारे उनले भने, ‘निजामती विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित गरेर ल्याइयो, तर सूचीबाट हटाइयो । सत्तारुढ दलका सांसदहरूले पनि छिट्टै आउँछ भनिराख्नुभएको छ । यो केले रोकिएको छ ? मन्त्रीज्यू उपस्थित हुनुहुन्न । फेरि पनि हामीलाई ढाँटिएको छ ।’
प्रमुख सचेतक पाण्डेले शिक्षकहरूसँग भएको सम्झौताअनुसार बजेट नआएकोप्रति पनि असन्तुष्टि जनाए ।
उनले थपे, ‘शिक्षा विधेयकलाई छिटो पारित गर्नुपर्छ हामी सबैले भनेका छौँ, तर फेरि त्यसको तालमेल बजेटसम्म मिलेको छैन ।’
उनले भिजिट भिसा प्रकरणमा पनि दुई बुँदे सहमतिअनुसार तत्काल छानबिन समिति बनाउन माग गर्दै एक महिना नकुर्न आग्रह गरे ।

Leave a Reply