बुद्धभूमिमा योग पुनर्जागरणको अवसर

बुटवल । आज जुन २१ मा विश्वभर ११औं अन्तर्राष्ट्रिय योग दिवस ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् ।

यस्तै अवसरमा शारीरिक-मानसिक स्वास्थ्य, आत्मिक शुद्धि, वैकल्पिक चिकित्सा, पर्यटन र राष्ट्रिय पहिचानसँग गाँसिएको योगको ऐतिहासिक र समकालीन मूल्यलाई पुनःस्मरण गर्नु अत्यन्त आवश्यक छ ।

कहिलेदेखि सुरु भयो योग ?

योगको उत्पत्ति प्राचीन वैदिककालमै भएको मानिन्छ । हिमालको काखमा ऋषिमुनिहरूले ध्यान, अनुसन्धान र साधनाबाट प्राप्त गरेको अनुपम ज्ञान नै योग हो । भगवान शिवलाई योगको आदियोगी तथा आदि गुरु मानिन्छ । महावीर स्वामी र भगवान् बुद्धलाई पनि योग मार्गका प्रचारक तथा साधकको रूपमा स्मरण गरिन्छ ।

श्रीकृष्णलाई ‘योगेश्वर’ भनिन्छ, जसले गीतामार्फत योगशास्त्रलाई जीवनको प्रत्येक पाटोसँग जोडिदिएका छन् । महर्षि पतञ्जलिले योग दर्शनलाई वैज्ञानिक र व्यावहारिक रूपमा ‘अष्टांग योग’ मार्फत व्याख्या गरेका छन् ।

पतञ्जलिको अनुसार योगका आठ अंगहरू छन्- यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि । यी सबै चरण आत्म–संयम, अनुशासन र अन्ततः मुक्ति प्राप्तिको मार्ग हुन् । अष्टांग योगको अभ्यासले केवल रोग निवारणमात्र होइन, चेतनाको विकास र जीवनमा शान्तिको स्थापना गर्छ ।

बुद्ध जन्मभूमिमा योगको सम्भावना

यो बुद्ध जन्मभूमि हो । बुद्धले संसारभर यहीबाट ज्ञानको, बुद्धत्वको, शिक्षाको, मानवताको, बन्धुत्वको र शान्तिको सन्देश छरेका थिए । योग त्यसबेलादेखि नै थियो । योग केवल हिन्दू परम्परा वा आधुनिक अभ्यासमात्र होइन, बुद्धकालीन समाजमा पनि ध्यान र योगको गहन अभ्यास हुने गरेको बौद्ध दर्शनका ज्ञाता डा.गितु गिरीको भनाइ छ ।

‘गौतम बुद्धले बोधि प्राप्ति अघि अनेक तप, ध्यान र योग साधनाको अभ्यास गरेका थिए । उनले मन-वचन-कायको शुद्धता, चित्तको स्थिरता र प्रज्ञा प्राप्तिका लागि ध्यानलाई मूल उपाय बनाएका थिए । विपश्यना, अनापानसति जस्ता ध्यान प्रविधिहरू आज पनि ध्यानमार्गमा योगको आन्तरिक स्वरूपका रूपमा विश्वभर फैलिएका छन्’, डा.गिरी बताउँछन् ।

लुम्बिनीमा योग पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रियस्तरका योग केन्द्र, ध्यानगृह, अध्ययन अनुसन्धान संस्थान र योग अनुकूल आवासीय पूर्वाधार निर्माण आवश्यक रहेको बौद्ध दर्शनका अर्का जानकार जेबी क्षेत्रीको भनाइ छ । आयुर्वेद, प्राकृतिक चिकित्सा र योगको समन्वयबाट लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय योग र नेचुरोपेथी हब’ बनाउने सम्भावना रहेको क्षेत्री बताउँछन् ।

योगको स्वाभाविक भूमि हो लुम्बिनी

बुद्धको जन्मस्थल लुम्बिनी र यसको आसपासको वातावरण योग अभ्यासका लागि अत्यन्त उपयुक्त मानिन्छ । हिमाली शृङ्खला, प्राकृतिक न्यानोपन, शान्त परिवेश र सांस्कृतिक सहिष्णुताले यो क्षेत्रलाई योग-ध्यान केन्द्र र अन्तर्राष्ट्रिय अध्यात्मिक गन्तव्यको रूपमा विकास गर्ने विशाल सम्भावना छ ।

आजका दिन लुम्बिनीलाई केवल धार्मिक पर्यटनको केन्द्र होइन, आध्यात्मिक साधना, योग प्रशिक्षण र अन्तर्राष्ट्रिय योग पर्यटनको गन्तव्य बनाउने बेला आएको छ । बुद्ध मार्गमा हिँड्न चाहने हजारौं विदेशी पर्यटक योग सिक्न नेपाल आउने सम्भावना बोकेको डा. गिरीको भनाइ छ ।

योगः प्राचीन अभ्यास, आधुनिक औषधि

बुद्धकालमै आत्म नियन्त्रण, चित्त एकाग्रता र संयमलाई प्राथमिकता दिइएको पाइन्छ । आजको युगमा पनि योगले तन, मन र आत्माको सन्तुलन कायम गर्न निर्णायक भूमिका खेलेको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई शारीरिक, मानसिक, सामाजिक र आत्मिक समृद्धिको संयोजन मानेको छ, जुन योगको सारसँग पूर्णतः मेल खान्छ । आधुनिक जीवनशैलीले निम्त्याएको तनाव, निद्रा समस्या, उच्च रक्तचाप, मानसिक विचलन जस्ता समस्याहरूको समाधान योगमै छ ।

नेपालमा पछिल्ला वर्षहरूमा शिक्षण संस्था, अस्पताल, कारागार, वृद्धाश्रम, महिला समूह, कार्यालय र संघसंस्थाहरूमा योग तथा ध्यानको अभ्यास बढ्दो क्रममा छ, तर पनि यो प्रक्रिया अझ व्यवस्थित, समावेशी र वैज्ञानिक बन्न आवश्यक छ । राष्ट्रिय योग नीति र योग आयोगको आवश्यकता विशेषगरी यसै सन्दर्भमा उठ्न थालेको हो । योग गुरु ऋषि न्यौपानेको भनाइमा ‘योग नीतिगत र संस्थागत भयो भने जनस्वास्थ्य सुदृढ हुनेछ, आत्मनिर्भर रोजगारीको वातावरण सिर्जना हुनेछ र आत्मसन्तुलित समाज निर्माणमा सहयोग पुग्नेछ ।’

शिक्षा र नयाँ पुस्तासँगको सम्बन्ध

योगलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्नसक्ने सम्भावना आजको शिक्षा प्रणालीमा खोजिनु आवश्यक छ । योगद्वारा आत्म अनुशासन, ध्यान क्षमता, सहिष्णुता र मानसिक सन्तुलन बढाउने कार्य सम्भव हुन्छ, जसले शिक्षालाई पूर्ण बनाउँछ ।

नेपाल विशेष गरी बुद्धभूमि लुम्बिनी आज योगको माध्यमबाट वैश्विक ध्यानको केन्द्र बन्ने संवेदनशील मोडमा उभिएको छ । योग केवल व्यक्तिगत अभ्यास होइन, राष्ट्रिय स्वाभिमान, आर्थिक समृद्धि, मानसिक स्वास्थ्य र आध्यात्मिक नेतृत्वको आधार बन्नसक्ने अभ्यास हो ।

अतः यस योग दिवसमा नेपालले योगको वैदिक-बौद्ध परम्परालाई आत्मसात गर्दै लुम्बिनीलाई विश्व योग राजधानीको रूपमा विकास गर्ने दीर्घकालीन दृष्टि अपनाउन सक्यो भने यो केवल एउटा आध्यात्मिक पुनर्जागरणमात्र होइन, समग्र राष्ट्रिय विकासको नयाँ अध्याय हुने निश्चित छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *