काठमाडौं । रास्वपाका सांसदहरू माइतीघरबाट हिँडेर संसद् भवनतिर लागेका छन्। माइतीघरमा तेस्रो स्थापना दिवसको अवसरमा पार्टीले आयोजना गरेको बृहत् भेलामा सहभागी भएर सांसदहरू सदनतिर लागेका हुन्।
‘लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनको लागि सडक र सदनमा सँगै उत्रिएको प्रवक्ता मनिष झाले बताए। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै निरन्तर सदन पनि अवरोध गर्दै आइरहेको छ।
पार्टी स्थापना दिवसको अवसर सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान पनि सुरु गरेको छ।
आजबाट यो मुद्दा जनताको अदालतमा पनि दर्ज भएको नेता दीपक बोहोराले बताए। उनका अनुसार कार्यवाहक सभापति डीपी अर्यालले हस्ताक्षर अभियानको सुरु गरेका हुन्।
रवि यति बेला सहकारी प्रकरणमा भैरहवा कारागारमा छन्। उनले आजै पार्टी स्थापना दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले आफू विरुद्ध आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन्। रास्वपाले पनि सरकारले प्रतिशोध राखेर अनेकौं मुद्दा लगाएर फसाएको आरोप लगाउँदै रविको पक्षमा हस्ताक्षर अभियान थालेको हो।



Leave a Reply