काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले दरबारमार्गस्थित होटेल डेला अन्नपूर्ण प्रा.लिले हदबन्दी नाघेको जग्गामा बिना अनुमति गैरकानुनी रूपमा निर्माण कार्य गरिरहेको भन्दै काठमाडौं महानगरपालिकालाई उक्त कार्य तत्काल रोक्न ध्यानाकर्षण गराएको छ ।
पार्टीका काठमाडौं महानगर समितिले महानगरपालिकाका प्रतिनिधिमार्फत महानगरप्रमुख बालेन्द्र साह (बालेन)लाई पत्राचार गर्दै पार्टीले काठमाडौं महानगरपालिका वडा नम्बर १ अन्तर्गत पर्ने कित्ता नं। ६१५ र १५५५ को जम्मा ४१ रोपनी १ आना क्षेत्रफल रहेको जग्गामध्ये ११ रोपनी १ आना जमिन भूमिसुधार ऐन अनुसारको हदबन्दी भन्दा बढी भएकाले उक्त सम्पत्ति भाडामा दिन, बिक्री गर्न वा बैंकमा धितो राख्न नमिल्ने स्पष्ट प्रावधान हुँदा हुँदै पनि त्यसको उल्लंघन भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
पार्टीका कार्यवाहक इन्चार्ज निश्चल थापाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “महानगरपालिकाबाट निर्माणको कुनै अनुमति नलिई अवैधानिक रूपमा होटल निर्माण कार्य अघि बढाइएको पाइएको छ। यस्तो गैरकानुनी काम तत्काल रोक्न र नियमन गर्न आग्रह गर्दछौं।”
पार्टीले काठमाडौं महानगरपालिकालाई आवश्यक नियमन प्रक्रिया पुरा नगरेसम्म निर्माण कार्य रोक्न आग्रह गर्नुका साथै उत्त विषयमा नेपाल ट्रस्टको कार्यालयलाई पनि बोधार्थ जानकारी गराएको छ ।


Leave a Reply