भिजिट भिसाबारे रास्वपा- ठगिएका २ हजार पीडित सम्पर्कमा आए, गृहमन्त्रीले धम्काउँदैछन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको नाममा ठगिएका २ हजारभन्दा धेरै पीडित आफूहरूको सम्पर्कमा आएको जनाएको छ । रास्वपाले भिजिट भिसाको नाममा ठगिएकाहरूलाई सम्पर्कमा आउन आह्वान गरेको थियो ।

त्यसबारे प्रवक्ता मनिष झाले भने, ‘जेठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही हुनुहुन्छ भने कृपया प्रमाणसहित सम्पर्कमा आउनुस् भनेर आह्वान गरेर अभियान चलाएका थियौँ । त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजारभन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनुभयो ।’

त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएकोसम्बन्धी प्रमाण लिएर पार्टी कार्यालयमा आएको उल्लेख गर्दै उनले सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगलगायतमा उजुरी दिन सुझाएको बताए ।

उनले भने, ‘यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो । रास्वपा केन्द्रीय सदस्य तथा सांसद सुमना श्रेष्ठको निर्देशन भनेर उल्लेख गर्दै नक्कली उजुरी दिन लगाएको भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको छ ।’

रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको प्रवक्ता झाले उल्लेख गरे ।

सांसद श्रेष्ठले निर्देशन दिएको भनेर आएको समाचार गलत भएको दाबी गर्दै उनले पार्टीमा आवद्ध कोही व्यक्ति भए नभएकोबारे सत्यतथ्य पत्ता लगाउन प्राडा चन्दा कार्की भण्डारीको संयोजकत्वमा समिति बनेको बताए ।

उनका अनुसार समितिमा वरिष्ठ अधिवक्ता डाक्टर नारायण घिमिरे र पूर्वएसएसपी लव विष्ट सदस्य रहेका छन् ।

उनले भने, ‘हामीले पटकपटक भनेकै छौँ । हामी भिजिट भिसा र मानव तस्करीको सङ्गठित अपराधको विरुद्ध आन्दोलन गर्दैछौँ । यसमा विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भनेका छौँ । हाम्रो मुद्दा कोही एक दल र नेताप्रति लक्षित छैन । कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *