अध्यादेशपछि भूमि विधेयकको पनि विपक्षमा जसपा नेपाल, कार्यकारिणी समिति बैठकमा छलफल गर्ने

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकबारे पार्टीमा छलफल गर्ने भएको छ।

सरकारले ल्याएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पार्टी बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

यसअघि सरकारले भूमि अध्यादेश ल्याएको थियो। तर राष्ट्रिय सभामा पारित गर्नको लागि निर्णायक रहेको जसपा नेपाल विपक्षमा उभिएपछि अध्यादेश निष्क्रिय बनाएर सरकारले विधेयक अघि सारेको थियो।

तर, विधेयकको पनि जसपा नेपालले चर्को विरोध गरेको छ। विधेयकबारे पार्टीको तर्फबाट संशोधन प्रस्ताव समेत हालिसकेको छ। उनले भने, ‘पहिला अध्यादेश पनि हामीले विरोध जनाएपछि फिर्ता भएको थियो। अहिले सरकारले विधेयक पेस गरेको छ। यसबारे पार्टीको आगामी कार्यकारिणी समिति बैठकको एजेन्डा बनाएरै छलफल गर्छौँ।’

सरकारले अध्यादेश ल्याएकै बखत आफूहरूले देश र जनताको हितमा नभएको प्रस्ट भनिसकेको स्मरण गरे । उनले भने, ‘रियल स्टेट र भू-माफिया तथा दलालहरूलाई पक्षपोषण हुने गरी अध्यादेशलाई विधेयकको रूपमा ल्याइएपछि पार्टी यस विषयमा गम्भीर भएको छ ।’

तराई/मधेशको वनजङ्गल तथा सार्वजनिक जग्गा आफ्ना पार्टी कार्यकर्तालाई वितरण गर्ने मनसायले विधेयक ल्याइएको जसपा नेपालको बुझाइ छ।

यसले वास्तविक भूमिहीन तथा सुकुम्वासीहरूले जग्गा प्राप्त गर्न गर्न नसक्ने उनले बताए। यो अध्यादेशको यसअघि जसपा नेपाल मात्रै होइन, लोसपासहित मधेस केन्द्रित सबै दलहरूले विरोध जनाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *