कारागारभित्रै व्यवसायीको शंकास्पद मृत्यु : शरीरभरि नीलडाम र घाउ, शव नउठाउने आफन्तको अडान

कैलाली । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा नीलडाम र चोटपटक भेटिएको छ। पालीका आफन्तहरूले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

पालीलाई केही दिनअघि डडेल्धुराबाट पक्राउ गरी कैलाली कारागारमा चलान गरिएको थियो। असार २ गते राति एक्कासि बिरामी भएको भन्दै सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई ३ गते बिहान दिएका थिए। प्रहरीले बिरामी भएर उपचारको क्रममा मृत्यु भएको बताए पनि आफन्तहरूले यो सामान्य मृत्यु नभई पूर्वनियोजित हत्या भएको दाबी गरेका छन्।

मृतक पाली व्यवसायी हुन्। प्रहरी नायब निरीक्षक हरिजित नाथले दायर गरेको मुद्दामा दोषी ठहर भएर पाली केही वर्षपछि पक्राउ गरेका थिए। त्यसपछि पनि नाथले रकम माग्ने गरेको र २ गते मात्रै ८५ हजार रुपैयाँ नाथकै खातामा पठाएको मृतकका काका पदम सिंह पालीले जानकारी दिए। नाथले भने ‘अदालतको फैसलामा रकम बुझाएपछि रिहा हुने भनेको हुँदा फैसला अनुसारको रकम बुझाउन पाली परिवार नै राजी भएको’ बताउँछन्।

सई नाथको भारतीय व्यापारीसँग पनि सेटिङ हुने गरेको र उनीहरूको फसेको पैसा नाथले उठाउन भूमिका खेल्ने गरेको पालीका आफन्तहरूको आरोप छ। ‘कारागार भित्र निर्मम यातना दिएर उनको मृत्यु भएको’ आफन्तहरूको भनाइ छ। ‘शरीरभरि घाउ र नीलडाम छन्। यो सामान्य मृत्यु होइन, हत्या हो,’ पदमसिंहले भने।

मृतकका भाइ हिक्मतले पनि ‘घटना रहस्यमय भएको’ भन्दै सत्यतथ्य छानबिनको माग गरेका बताएका छन्।

सीसीटीभी फुटेज नदेखाएपछि थप आशंका

आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको उनीहरूको आरोप छ ।

यसले घटनामा झनै शंका थपिएको आफन्तहरूको भनाइ छ। मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाहीको माग गरेका छन्  ।

न्याय सुनिश्चित नभएसम्म शव नउठाउने अडान उनीहरूले लिएका छन्। साथै उनीहरूले प्रहरी अधिकारीहरूमाथि अदालतमा मुद्दा दर्ता गर्ने तयारी पनि गरेका छन्।

मृतकका श्रीमती र एक छोरा रहेका छन्।

Comments

One response to “कारागारभित्रै व्यवसायीको शंकास्पद मृत्यु : शरीरभरि नीलडाम र घाउ, शव नउठाउने आफन्तको अडान”

  1. MR. LAMA Avatar
    MR. LAMA

    yo police bhanne sabada ta malai ekdum fohori lagchha manchhe birami bhanchha marne bela chotai chot le marchha sala…

Leave a Reply

Your email address will not be published. Required fields are marked *