काठमाडौं । भिजिट भिसाको आवरणमा मानव तस्करी भएको भन्दै विरोधमा रास्वपाका सांसदहरुले ‘निलो रिबन’ भिरेर संसद पुग्दा सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय मर्यादाको विषय उठाउँदै सदनबाट निष्कासन गर्नुपर्ने कुरा उठाएपछि रास्वपा सांसदहरुले आक्रोशित भएका छन् ।
मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘नीलो रिबन’ को प्रतीकले जनाउने भन्दै रास्वपाका सबै सांसदहरुले नीलो रिबन लगाएर सदनमा पुगेका थिए । उनीहरुले भिजिट भिसा प्रकरणलाई मानव तस्करीको संज्ञा दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।
उनीहरुले सदनमा वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन् । यही क्रममा रास्वपाका सांसदहरुले अभद्र व्यवहार देखाएको भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाउँदै नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था रहेको स्मरण गराए ।
उनले भनेका थिए, ‘नीलो स्कार्फ लगाएर संसद्मा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्टमात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ?’
घिमिरेले यसो भन्दा रास्वपाका सांसदहरु नाराबाजी गरिरहेका थिए । निलो रिबन लगाएर संसद् छिरेका रास्वपा सांसदलाई निष्कासन गर्न माग गरेपछि उनीहरु आक्रोशित भएका छन् ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भनेका छन्, ‘सदनमा रातो मफलर लगाउन पाउने, तर नीलो नलगाऊ भन्ने कुन नियमावलीले भन्छ ?’
उनले मात्रै होइन, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले आफूहरुलाई माइक भाँच्न, कुर्सी फोड्न, मान्छे कुट्न नआउने भन्दै उल्टै कांग्रेसलाई कटाक्ष गरेका छन् ।
उनले भनेका छन्, ‘तर आमनागरिकको आवाज बोल्न आउँछ । विश्वास छ, हामीले गर्ने शान्तिपूर्ण विरोधले नागरिकको पीडा बोल्नेछ र यही विद्रोहले अपराधी र भ्रष्टाचारीहरूको मन पोल्नेछ ।’
सांसद सोविता गौतमले पनि सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको मागसहित निरन्तर संसदमा आन्दोलनरत रहेको बताइन् ।
उनले भनिन्, ‘विरोधका आयाम अनेकौं हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ । आज मानव तस्करीविरुद्धको ऐक्यबद्धतास्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ । हुन्छ, संसदबाट निकालियोस्, तर नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन ।’
कांग्रेस विपक्षीमा हुँदा उपसभापति घनराज गुरुङले प्रधानमन्त्री केपी ओलीलाई कुट्न सदनमै झम्टिएका थिए । सांसद गौतमले प्रधानमन्त्री ओलीलाई कुट्न आएकै घटना आर्काइभमा हेर्न सुझाइन् ।
पोशाकको विषयमा कांग्रेसले कुरा उठाएपछि सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्मा छिरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू आफैं स्वनियमनमा बस्नुपर्ने बताए ।

Leave a Reply