काठमाडौं । गत महिना नेपाल ल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कोषाध्यक्ष पदमा विधिशा मिश्र निर्वाचित भइन् । सभापति अनेरास्ववियुले जित्दा कोषाध्यक्ष भने नेविसंघबाट मिश्रले जितेकी थिइन् ।
उनी नेपाल बार एशोसियसनका अध्यक्ष विजय मिश्रकी छोरी हुन् । बुबाले बारमा अध्यक्ष जिते लगत्तै छोरीले ल क्याम्पसको कोषाध्यक्ष जितेको चर्चा भएको थियो ।
आइतबार सम्पन्न प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन –पिपिएलएको केन्द्रीय कमिटीमा नवोदित वकिलको क्लस्टरबाट ओजस्वी भट्टराई र कृपा पोखरेल निर्वाचित भए ।
एमालेनिकट कानून व्यवसायीहरूको उक्त सङ्गठनको केन्द्रीय कमिटीमा नवोदित वकिलहरूको क्लस्टर छुट्याइएको छ । महिला कोटाबाट २ सदस्य निर्वाचित हुनुपर्नेमा ५ जना प्रतिस्पर्धी थिए ।
तीमध्ये ओजस्वीले २७६ र कृपाले २५२ मत पाएर विजयी भए । संयोग नै भन्नुपर्छ उनीहरू दोस्रो पुस्ताका नवोदित कानून व्यवसायी हुन्, जो पिपिएलएको केन्द्रीय नेतृत्वमार्फत बारको राजनीतिमा लम्किएका छन् ।
कृपा वरिष्ठ अधिवक्ता तथा नेकपा एमालेका पूर्व सांसद कृष्णभक्त पोखरेलकी छोरी हुन् । चितवन २ बाट लगातार चुनाव जितेर संविधान निर्माणमा समेत उल्लेख्य भूमिका निर्वाह गरेका पोखरेलकी छोरी कृपा अनेरास्ववियुको राजनीतिबाट कानून व्यवसायीको पेशागत राजनीतिमा फड्को मार्न सफल भएकी छन् ।
उनी बार काउन्सिलको २९ औँ ब्याचकी हुन् । दिल्लीको नेशनल ल युनिभर्सिटीबाट संवैधानिक तथा क्रिमिनल ल मा स्नातकोत्तर गरेकी कृपा जनसेवा ल फर्ममा कार्यरत छिन् ।
कृपाले युएनडिपी,टोखा नगरपालिका लगायत निकायमा कानूनी परामर्शदाताका रुपमा काम गरेकी छन् । कानून विषयमा अध्यापन समेत गराइरहेका उनी राजनीतिक क्षेत्रमा समेत क्रियाशील छन् ।
त्यस्तै ओजस्वी नेपाल बार एशोसियसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता ईश्वरी भट्टराईकी छोरी हुन् । नेपाल ल क्याम्पसबाट अध्ययन गरेकी ओजस्वी बार काउन्सिलको २८ औँ ब्याचको टपर हुन् । उनी बुबाकै आइबी ल एशोसियट्समार्फत कानून व्यवसाय गर्छिन् ।
ओजस्वीको बुबामात्र होइन आमा बिष्णुमाया भुसाल पनि बरिष्ठ अधिवक्ता तथा नेपाल बारको पूर्व केन्द्रीय सदस्य हुन् । ईश्वरी र बिष्णुको नामबाट आइबी ल एशोसियट्स स्थापना भएको उनले बताइन् । नेपाल ल क्याम्पसबाटै क्रिमिनल ल को टपर समेत रहेकी यशस्वी सोही कलेजमा अध्यापन समेत गराउँछिन् ।
पिपिएलएको नवोदित समूहकी केन्द्रीय सदस्य कृपाले विद्यार्थी राजनीतिको अनुभवलाई समेत समेटेर बारको पेशागत राजनीतिमा अघि बढ्न यो निर्वाचनले हौसला थपेको बताइन् ।
ओजस्वी भने कलेजमा राजनीति नगरे पनि पेशागत जीवनमा यो निर्वाचनले नयाँ अनुभव दिएको र यसअघि आफू पिपिएलएको विदेश विभागमा रहेर काम गरिसकेको बताइन् । उनीहरुले दुवैले यसलाई नवोदित पुस्ताको उदय र पुस्तान्तरणको सुरुआत बताए ।


Leave a Reply