जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । मेयर दिपेन्द्र महतोले गुण्डागर्दी शैलीमा गेटबाटै छिर्न नदिएको भन्दै भिडिओमार्फत् असन्तुष्टि पोखेकी छन् ।
मेयर महतो र प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीको मिलेमतोमा दर्ता चलानीको कोलम खाली राखेर अनियमितता गरिरहेको आरोपसहित हिजो उनले रजिष्टर नियन्त्रणमा लिएकी थिइन् । मेयर-उपमेयर दुवै जसपाबाट निर्वाचित हुन् ।
कार्यालयमा उनलाई छिर्न नदिन नगर प्रहरी तैनाथ गरिएको भिडिओमा देखिन्छ । आज बिहानदेखि कार्यपालिका बैठक बसिरहेको भन्दै उनले नगरबासीसँग सहयोग मागेकी छन् ।
उनले भनिन्, ‘दर्ता चलानी धेरै ठाउँमा खाली राखिएको छ । किन खाली राखेको हो ? यो विषयमा छानबिन हुनुपर्छ ।’
‘आज बिहान ८ बजे कार्यपालिकाको बैठक राखिएको थियो । म करिब साढे ८ बजे पुगे । तर, भित्र प्रवेश गर्नै दिएनन् । वातावरण ठिक थिएन । म फर्केँ । त्यसपछि कार्यालय समयमा पुग्दा पनि भित्र प्रवेश गर्न दिएको छैन’, उपमेयर महतोले बताइन् ।
मेयरको निर्देशनमा कर्मचारीले भित्र प्रवेश गर्न नदिएको भन्दै अधिकारका लागि लडिरहने उनको उद्घोष छ ।
उपमेयरलाई गेटबाट छिर्न नदिएको विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा मेयर र प्रमुख प्रशासकीय अधिकृतको फोन उठेन ।

Leave a Reply