ओ माई गुडनेस… हिजोको म्याच ! मानौँ हामी एउटा खेल मैदानको भिडन्त नभएर कागजमा पटकथा लेखिएको अद्भुत सस्पेन्स थ्रिलर हेरिरहेका थियौँ थियो । क्रिकेट अनिश्चितताको खेल हो, तर यहाँ त हदै भयो । विश्व क्रिकेटले नै पहिलो चोटि तेस्रो सुपर ओभर देख्यो । क्रिकेटमा रोमाञ्चकताको एउटा इतिहास रचियो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई विश्लेषकहरूले ‘कार्डियाक किड्स’ उपमा दिने गरेका छन् । यसको आशय हो, उनीहरूको खेल यति उतारचढावले भरिएको हुन्छ कि दर्शकले मुटुको धड्कन थामेर हेर्न बस्नुपर्छ । अहिलेको नेपाली टिमका दुईवटा विशेषता छन् । पहिलो, यो टिमले अन्तिम बलसम्म हार मान्दैन । दोस्रो, हातमा आइसकेको जित एउटा न एउटा बहाना निकालेर अन्तिम क्षणमा फुत्काइदिन्छ । हिजो यी दुवै विशेषताहरू देखाइदिए हाम्रा खेलाडीहरूले ।
स्कटल्यान्डको ग्लास्गो रंगशालामा नेपालले टस जितेर पहिले बलिङ रोज्यो र नेदरल्यान्ड्सलाई १५२ रनमा रोक्न सफल भयो । यो औसतभन्दा कमजोर स्कोर थियो र नेपालले सहजरुपमा पछ्याउनुपर्थ्यो । यद्यपि, हिजो नेपालको ब्याटिङ लाइनअप त्यति मजबुत यस कारण थिएन कि अनुभवहीन तीन युवा ब्याटर एकै पटक प्लेइङ ११ मा समावेश गरिएका थिए । यदि सोमपाल कामी र गुल्शन झा टिममा थिए भने सायद खेल सुपरओभरसम्म नपुग्न सक्थ्यो ।
९ रनमा २ विकेट गुमाएर खराब सुरुवात गरे पनि नेपाललाई कुशल भुर्तेल र कप्तान रोहित पौडेलले अगाडि बढाए । तर कुशल २३ बलमा ३४ रन जोडेर आउट भएपछि नेपालको रन गति सेलाउन थाल्यो । दीपेन्द्र सिंह ऐरी ७ बलमा ३ रन मात्रै जोडेर आउट भएपछि नेपाल दबाबमा पर्यो । त्यसपछि डेब्यूव्वाइ किरण ठगुन्नाले कप्तान पौडेललाई साथ दिने प्रयास गरे । तर उनले राम्ररी स्ट्राइक रोटेट गर्न सकेनन् र अत्यधिक बल खेर फाले, जसले गर्दा पौडेलमाथि रनरेटको प्रेसर बढिरह्यो । उनले नआत्तिईकन जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै नेदरल्यान्ड्सलाई चेकमा राखिरहे ।
किरण २५ बलमा १५ रन मात्रै जोडेर आउट भएपछि आए अर्का डेब्यूव्वाइ रुपेश सिंह । उनले बरु अलिकति ‘इन्टेन्ट’ देखाउँदै १४ बलमा १९ रनको उपयोगी पारी खेले । १६.३ ओभरमा ११२ रन बनाउँदा रुपेश पनि आउट भए र खेलमा फेरि नेदरल्यान्ड्स हाबी भयो । यतिबेला नेपाललाई जितका लागि २१ बलमा ४० रन चाहिएको थियो भने हातमा ४ विकेट थिए ।
तल्लो क्रमका हार्ड हिटर करण केसी पनि चलेनन् । उनी ५ बलमा ८ रन बनाएर पेभिलियन फर्किए । यद्यपि, उनले हानेको एउटा छक्काले नेपालको आशा जीवित राखेको थियो । दबाबका बीच १८.६ ओभरमा कप्तान पौडेल पनि आउट हुन पुगे र नेपालको हातबाट खेल फुत्किएको जस्तो प्रतीत भयो ।
अन्तिम ओभरमा नेपाललाई चाहिएको थियो १६ रन र हातमा थिए मात्र दुई विकेट । पुछारका भए पनि सन्दीप लामिछाने र नन्दन यादव दुवै ब्याटिङ गर्न सक्छन् । उनीहरूले कुनै चमत्कार गरिहाल्छन् कि भन्ने झिनो आशामा थिए दर्शक । नभन्दै नन्दनले ब्याटबाट ‘चमत्कार’ गरे । ओभरका अन्तिम ४ बलमा दुई बाउन्ड्रीसहित १२ रन हान्दै उनले स्कोर बराबरी बनाइदिए । जितको खुशी मनाउन ठिक्क परेको नेदरल्यान्ड्स नन्दनले अन्तिम बलमा चौका हान्दा स्तब्ध बन्न पुग्यो ।

त्यसपछि सुरु भयो ‘तमासा’ । पहिलो सुपर ओभरमा नेपालले पहिले ब्याटिङ गर्यो । कुशल भुर्तेल र रोहितकुमार पौडेल क्रिजमा आए । कुशलले २ छक्का र एउटा चौका हान्दै नेपाललाई १९ रनको मजबुत स्कोरमा पुर्याए । अनि, यो स्कोरको रक्षा गर्ने जिम्मेवारी दिइयो अनुभवी करण केसीलाई । करण नियमित २० ओभरको खेलमा चलेका थिएनन् । आज चम्केका फास्ट बलर नन्दन यादव औँलामा चोटका कारण बलिङ गर्न नसक्ने भएपछि कप्तानसँग करणलाई बल थमाउनुबाहेक अर्को विकल्प थिएन । हुन त स्पिनतर्फ फर्किने हो भने सन्दीप लामिछाने र ललित राजवंशी थिए । तर सुपर ओभरमा कमै कप्तानले मात्रै स्पिनरमा भर पर्ने गर्छन् ।
करणले पहिलो बलमा छक्का खाए पनि त्यसपछिको तीन बल कसिलो गरेका थिए । ४ बलमा नेदरल्यान्ड्सले ९ रन मात्रै जोड्दा खेल नेपालको पोल्टामा आइसकेको भान भयो, किनकि अन्तिम २ बलमा जितका लागि नेदरल्यान्ड्सले ११ रन जोड्नुपर्ने हुन्थ्यो । त्यो सम्भव देखिएको थिएन । तर, क्रिकेटमा असम्भव के हुन्छ र । त्यसमाथि करण केसी प्रेसरको अवस्थामा रन खन्याउने बलरका रूपमा चिनिन्छन् । नेदरल्यान्ड्सका म्याक्स ओ डोउडले उनलाई पाँचौं बलमा चौका र छैटौं बलमा छक्का हान्दै स्कोर बराबरी बनाइदिए । स्तब्ध हुने पालो नेपालको । खेल गयो दोस्रो सुपर ओभरमा ।
नियमित खेलमा स्कोर बराबरी भएर पहिलो सुपर ओभर पनि बराबरीमा टुंगिनु क्रिकेटमा दुर्लभ घटना हो । अहिलेसम्म यस्तो एक पटक मात्रै भएको छ, जुन २०१९ को अक्टोबरमा भारत र अफगानिस्तानबीचको खेलमा भएको थियो । भारतको बैंगलुरुमा भएको उक्त म्याचमा दुवै टिमले निर्धारित २० ओभरमा २१२ रनको समान स्कोर बनाए । त्यसपछि खेल सुपर ओभरमा गयो । पहिलो सुपर ओभरमा पनि दुवै टिमले समान १६ रन बनाए । त्यसपछि दोस्रो सुपर ओभरमा भारत विजयी भयो ।
क्रिकेटमा सुपर ओभरको प्रावधान सन् २००८ बाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले लागू गरेको हो । यसको बढी प्रयोग टी–२० क्रिकेटमा हुने गरेको छ । एक दिवसीयमा पनि नकआउट म्याचहरूमा हुन्छ । सुपर ओभरको प्रावधान ल्याइनुअघिसम्म स्कोर बराबरी भएको अवस्थामा कसरी नतिजा निकाल्ने भन्ने विभिन्न अभ्यास थिए । एकताका बलआउट (प्रत्येक टिमले खाली स्टपमा बलिङ गर्ने) नियम पनि ल्याइयो । तर, यो लोकप्रिय नभएपछि सुपर ओभरको नियम बनाइएको हो । अहिले खासगरी टी–२० मा स्कोर बराबरी भयो भने सुपर ओभरबाटै निर्णय हुन्छ ।
सुरुमा एउटै मात्र सुपर ओभरको प्रावधान थियो । सुपर ओभर पनि टाई भयो भने बाउन्ड्री काउन्ट (जुन टिमले नियमित खेलमा धेरै बाउन्ड्री प्रहार गरेको छ, उही विजेता) का आधारमा निर्णय लिइन्थ्यो । तर सन् २०१९ बाट यो नियम परिवर्तन गरेर ‘अनवरत सुपर ओभर’ लागू गरिएको हो । अर्थात्, जबसम्म नतिजा निस्किँदैन सुपर ओभर भइरहन्छ । यही प्रावधान अनुसार इतिहासमै पहिलो पटक नेपाल र नेदरल्यान्ड्सको म्याच तेस्रो सुपर ओभरमा गएको हो ।
सुपर ओभरमा प्रत्येक टिमले एक–एक ओभर बलिङ र ब्याटिङ गर्न पाउँछन् । जसले धेरै स्कोर बनायो उही विजयी हुन्छ । तर, एउटा टिमबाट तीन ब्याटरहरुले मात्रै ब्याटिङ गर्न सक्ने प्रावधान छ । यदि दुई विकेट गयो भने ब्याटिङ सकियो । त्यसैले तीनजना ब्याटरहरु मात्रै सुपर ओभरमा संलग्न हुन्छन् । हरेक टिमले ठूला सट हान्ने क्षमता भएका हार्ड हिटरहरूलाई सुपर ओभरमा ब्याटिङ गर्न पठाउने गर्छन् ।
अब हिजोकै खेलमा फर्किऊँ ।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्स पहिलो ब्याटिङमा आयो । नेपालका कप्तान रोहित पौडेल यसपालि स्पिनरतर्फ मोडिन बाध्य भए किनकि उनीसँग फास्ट बलर उपलब्ध नै थिएनन् ।
ललित एक कसिला र किफायती स्पिनर हुन्, जसलाई हिट गर्न कुनै पनि ब्याटरलाई सहज हुँदैन । तर, सुपर ओभरको प्रेसरमा उनी पनि डग्मगाए । पहिलो तीन बलमा दुई छक्का खान पुगे । नेदरल्यान्ड्सले तीन बलमा १३ रन बटुल्यो । त्यसपछिका तीन बलमा भने ललितले आफ्नो लय समाते र एक वाइडसहित ४ रन मात्रै खर्चिए । अन्तिम बलमा विकेट पनि लिए । नेदरल्यान्ड्स १७ रनमा रोकियो ।
१८ रन चेज गर्न नेपालबाट ब्याटिङमा आए रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी । कतिपयले सामाजिक सञ्जालमा कुशल भुर्तेललाई अर्को सुपर ओभरमा किन नल्याएको भनेर प्रश्न उठाएका छन् । तर, उनी पहिलो सुपर ओभरको अन्तिम बलमा आउट भएको हुँदा नियमानुसार फेरि ब्याटिङमा आउन पाउँथेनन् । दीपेन्द्र सुपरओभरका लागि राम्रो च्वाइस पनि हुन्, जो ठूला सटहरू खेल्ने क्षमता राख्छन् ।

दोस्रो सुपर ओभरमा उत्कृष्ट सुरुवात गर्दै रोहितले पहिलो बलमा छक्का हाने र दोस्रोमा एक रनका लागि दौडिए । तेस्रोमा दीपेन्द्रले चौका निकाले । अब तीन बलमा ७ रन चाहियो र नेपाललाई फेरि जितको आभास हुन थाल्यो । तर, चौथो र पाँचौँ बल दीपेन्द्रले डट खेल्न पुगे र खेल फेरि नेदरल्यान्ड्सतिरै मोडियो । यहाँबाट नेपालले जित्न सक्दैनथ्यो । अन्तिम बलमा छक्का हान्दा पनि खेल बराबरीसम्म हुन्थ्यो । नभन्दै दीपेन्द्रले शानदार छक्का हाने । फेरि नेदरल्यान्ड्स स्तब्ध । यो एउटा अविश्वसनीय क्षण थियो दोस्रो ओभर पनि ‘टाई’ भएको ।

तेस्रो सुपर ओभर भने ‘एन्टिक्लाइमेक्स’ हुन पुग्यो । पहिले ब्याटिङ गर्ने पालो नेपालको थियो । रोहित र दीपेन्द्रकै जोडी क्रिजमा आए । तर, रोहित पहिलो बलमै आउट भए । त्यसपछि नेपालले सरप्राइज निर्णय गर्दै डेबुटेन्ट खेलाडी रुपेश सिंहलाई ब्याटिङमा पठायो । उनले दुई डट बल खेले र अर्को बलमा आउट भए । नेपालले कुनै रन जोड्न सकेन । नेदरल्यान्ड्सलाई जितका चाहियो एक रन । जुन औपचारिकता सन्दीप लामिछानेलाई छक्का हान्दै माइकल लेभिटले पुरा गरे ।
कसरी हार्यो नेपाल ?
हिजोको खेलमा नेपाल पटक–पटक जितको नजिक देखियो, तर अन्तिम नतिजामा हार्न पुग्यो । खासमा दुवै टिम हार्न लायक थिएनन् । नेपालले टिम छनोटदेखि सुपर ओभरमा पठाउने खेलाडी छनोटसम्ममा गरेको त्रुटि यो हारको जिम्मेवार हो ।

टिम छनोट हेर्दा नेपालले यो त्रिकोणात्मक शृङ्खलालाई धेरै महत्त्व नदिएको जस्तो महसुस हुन्छ, किनकि नेपालले एकै पटक तीन नयाँ खेलाडी (लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह) लाई प्लेइङ ११ मा समावेश गरेको थियो । दुई ब्याट्सम्यान किरण र रुपेश त राष्ट्रिय टिमबाट पहिलो अन्तर्राष्ट्रिय म्याच खेलिरहेका थिए ।
पक्कै पनि यो शृङ्खला लिग २ जस्तो महत्त्वपूर्ण होइन । नेपालले आगामी टी २० विश्वकप छनोट प्रतियोगिताको तयारीका रूपमा यसलाई लिएको छ । तर, जे भए पनि नेदरल्यान्ड्स र स्कटल्यान्ड्सजस्ता बलिया टिमहरूसँगको भिडन्त गर्दैछ नेपाल र यो एउटा आधिकारिक टी–२० अन्तर्राष्ट्रिय म्याच नै हो । यस्तो कठिन भिडन्तमा हुने जित/हारले टिमको मनोबल र मनोविज्ञानमा ठूलो प्रभाव पार्छ । प्रतियोगितामा विजेता भयो भने त्यसले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रभाव अझै मजबुत हुनुका साथै आइसीसी र्याङ्किङमा पनि माथि उक्लिने अवसर हुन्छ । त्यसैले यसमा कुनै पनि दृष्टिले खेलाँची गर्न मिल्दैन ।
यो शृङ्खलामा दुई प्रमुख अलराउन्डर सोमपाल कामी र गुल्शन झा नहुँदा नेपाली टिममा रिक्तता पक्कै भएको छ । तर, एकै पटक तीन अनुभवहीन खेलाडीलाई समावेश गरेर त्यो रिक्तता पूर्ति हुन सक्दैन । नयाँलाई चान्स दिनु आवश्यक त छ, तर एकै पटक सबैलाई दिँदा टिम कमजोर हुन पुग्छ । प्रतिस्थापनमा आएका तीनमध्ये एक खेलाडीलाई समेटेर बाँकीलाई अन्य म्याचमा पालैपालो अवसर दिन सकिन्थ्यो ।
नेपालको स्क्वाडमा आरिफ शेख, भीम सार्की, बसिर अहमदजस्ता मध्यक्रमका ब्याटरहरु छन् । आरिफ शेखले लिग २ शृङ्खलामा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनलाई यदि टिममा राखेको भए उनले पार्ट टाइम पेस बलिङ पनि गर्न सक्थे किनकि हिजो नेपालसँग पेस बलरको स्टक कमी थियो । यसमा रणनीतिक गल्ती भएको छ । यस्तै, बसिर अहमद नेपालको फ्युचर स्टारका रूपमा हेरिएका अलराउन्डर हुन्, जसले एनपीएलदेखि लगातार प्रभावित गर्दै आएका छन् । उनले पनि मौका पाउनुपर्थ्यो भन्ने लाग्छ ।
पहिलो र दोस्रो सुपर ओभरमा नेपालले छानेका ब्याटर र बलरमा प्रश्न उठाउने ठाउँ छैन । तर तेस्रो सुपर ओभरमा रुपेशलाई ब्याट थमाउनु अर्को गल्ती थियो । कुनै अन्तर्राष्ट्रिय अनुभव नभएका रुपेशलाई यति धेरै प्रेसर सिचुयसनमा किन पठाइयो ? सही छनोट अनिल साह वा लोकेश बम हुन सक्थे । हो उनीहरूले नियमित २० ओभरमा रन हान्न सकेका थिएनन् । तर, सुपरओभर भनेको एउटा क्षणिक प्रतिस्पर्धा हो, जहाँ ब्याटरको दिमागमा बाउन्ड्री निकाल्ने बाहेक अरू सोच हुँदैन । यस्तोमा बाउन्ड्री हिटर नै चाहिन्छ ।
जे होस एउटा ऐतिहासिक म्याचको साक्षी हुन पाइयो । खेल नेपालले जितेको भए अझै मजा आउँथ्यो । तर, हारे पनि दुख छैन । किनकि हामी आफूभन्दा माथिल्लो दर्जाका टिमहरूलाई यसरी हराबरा खेलाइरहेका छौँ, यही नै सन्तोषको विषय हो ।

Leave a Reply