काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बीचमा जाँदा पार्टीको इमेज धेरै बढेको पाएको दाबी गरेका छन्।
चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीको क्रेज बढेकै कारणले अहिले षड्यन्त्र गरेर बदनाम गराउने प्रयास भइरहेको बताए।
उनले भने, ‘प्रचण्डको क्रेज मैले ०८४ मा जस्तो देखेको थिएँ। अहिले त्यस्तै देख्छु, फिल्डमा जाँदा, तराई मधेशमा हाम्रो लाखौँ मान्छेसँग प्रत्यक्ष भेट भयो। बालबालिका, युवा, वृद्धवृद्धाहरु सबै माओवादी र प्रचण्डतिर केन्द्रित हुन थाल्यो, यो देखेर दलाल, नोकरशाहहरु, प्रतिक्रियावादी, अवसरवादीहरूलाई बेचैन भइरहेको छ।’
उनले माओवादी फेरि आउने देखेपछि कहाँ हान्ने भनेर षड्यन्त्र भइरहेको सुनाए।
उनले थपे, ‘शेरा दरबारको कुरा उठाएर हुन्छ कि गोरु बेचेको साइनो पनि नभएको ठाउँमा प्रचण्डलाई जोडेर १२ वर्षअघि पार्टी छाडेको मान्छेसँग प्रचार गरे, क्यान्टोनमेन्ट मेरो कुनै संलग्नता छैन, गिरिजाबाबु हुँदा नै फर्छ्यौट भइसकेको छ। क्यान्टोनमेन्टमा केही भएको भए अहिलेसम्म रहन्थ्यो त। तर क्यान्टोनमेन्ट ल्याएर प्रचण्डलाई केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको छ। त्यो पनि पार लाग्नेजस्तो नदेखेपछि अहिले दुई बुँदेलाई ल्याएर सरकारमै रहेकाहरूले माओवादीलाई बदनाम गर्न खोजिरहेका छन्।’

Leave a Reply