काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागसहित रास्वपाका सांसदले आज पनि वेल घेराउ र नाराबाजी गरिरहेका छन् । राप्रपाका सांसद भने बैठक बहिष्कार गरेर निस्किए ।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको तर्फबाट शक्ति बस्नेतले बोल्ने क्रममा भने रास्वपाका सांसद नाराबाजी रोकेर मौन बसे । माओवादीले दुई बुँदे सहमति गरेर सदन खुलाएपनि रास्वपाले त्यसमा असहमति राख्दै विरोधलाई जारी राखेको हो ।
माओवादीले धोका दिएको निष्कर्ष निकालेको रास्वपाले सदनमा माओवादीका सांसद बस्नेतले बोल्ने बेलामा भने मौन बसेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।
उनका अनुसार रास्वपाका सांसदहरूले आज हाम्रो आन्दोलन जारी छ, मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई संरक्षण बन्द गर, फासफुस सम्झौता चाहिँदैनलगायतको नारा लगाएका छन् ।
रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको थियो । तर, त्यसमा सत्तापक्ष सहमत छैन । बस्नेतले आफूहरूसँग भएको सहमति अनुसार ३० दिन नलगाई तत्काल छानबिन समिति गठन गर्न माग गरे ।
रास्वपाले छानबिन समिति नबनेसम्म अवरोध जारी राख्ने आफूहरूसँग भनेको भन्दै सरकारलाई त्यतातर्फ ध्यानाकर्षण गराए । बस्नेत बोल्नुअघि कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट पदम गिरीले बोलेका थिए । तर, उनीहरूले बोल्दा नाराबाजी गरिरहे ।

Leave a Reply