काठमाडौं । सामाजिक सञ्जालमा ‘सुसाइड नोट’ लेखेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठ रामेछापमा स्वार्थ समूहको घेराबन्दीमा परेको खुलेको छ । जुन समूहलाई विगतमा उनले प्रयोग गरे, त्यसैले अहिले उनलाई लखेटेको स्थानीय स्रोतहरुले बताए ।
डा. श्रेष्ठले बाग्मती प्रदेशको लोकसेवाबाट आठौं तहमा नाम निकालेर २५ महिना अगाडि जिल्ला अस्पताल रामेछापमा आएका थिए । उनलाई जिल्ला अस्पताल ल्याउन केदार कार्कीकै मुख्य भूमिका थियो, जसलाई उनले अहिले आरोपित गरेका छन् । उनी यसअघि रामेछाप नगरपालिका -८ का वडाध्यक्ष थिए ।
कार्की र उनको समूहसँग मिलेर सुरुबाटै डा. श्रेष्ठले अस्पतालमा प्रभूत्व जमाउँदै आए । यसबीचमा उनले आफूभन्दा माथि मेडिकल सुपरिटेन्डेन्ट आउन नदिनका लागि विभिन्न चलखेलल गरेको र सफल पनि भएको स्रोत बताउँछ । मेसु भनेको नवौं तहको कर्मचारी हो । मेसु ल्याउन रोकेर आठौं तहका श्रेष्ठले नै १८ महिनादेखि निमित्त मेसुका रुपमा अस्पताल चलाइरहेका थिए ।
यसअगाडि सिन्धुली जिल्ला अस्पतालमा नवौं तहमा कार्यरत बालरोग विशेषज्ञ डा. अच्युतलाई बाग्मतीको प्रादेशिक स्वास्थ्य मन्त्रालयले रामेछाप अस्पतालको मेसुका रुपमा सरुवा गरेर पठाएका थियो । तर डा. श्रेष्ठले कार्कीको समूहसँग मिलेर उनलाई टिक्न दिएनन् । डा. श्रेष्ठकै डिजाइन र कार्कीको सक्रियतामा बजारका ५०–६० जना युवाहरुलाई अस्पताल घेर्न लगाएर मेसुलाई अस्पताल छिर्न अवरोध गरिएको थियो । पछि बल्लतल्ल उनले हाजिर त गर्न पाए, तर डा. श्रेष्ठले कार्यालय प्रमखु बस्ने क्वाटर, कार्यकक्ष कुर्सी केही पनि छोडेनन् । अन्ततः डा. अच्युत अस्तापल छोडेर हिँड्न वाध्य भए ।
पछि डा. श्रेष्ठ र केदार कार्कीबीच नै विवाद सुरु भयो । कार्कीको स्वार्थअनुसार श्रेष्ठले काम गर्न नमानेपछि उनीहरुको सम्वन्ध बिग्रिएको थियो । श्रेष्ठले आफ्नो स्टाटसमा कार्कीले पैसा माग्दा नदिएकोदेखि कार्यलय सहयोगीमा सिफारिस गरेका व्यक्तिलाई जागीर नलगाइदिएका कारण उनी आफूविरुद्ध लागेको उल्लेख गरेका छन् । त्यसवापत आफूले स्पष्टीकरण सोधेका ३ डाक्टर र अन्य दुई महिला डाक्टरहरुलाई प्रयोग गरी आफूमाथि झूटा आरोपहरु लगाएर अहिले सरुवा गराएको उनको आरोप छ ।
उनी लेख्छन्, ‘एप्रन किन नलगाएको भनेर एकजना डाक्टरलाई प्रश्नमात्र गरेको थिएँ, ममाथि मुखमुखै लागेर मर्निङ कन्फ्रेन्समा प्रस्तुत भई । त्यही डाक्टरले त्यही दिन केदार कार्कीलाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्कायो र धन्नै हात हालेन । हाम्रो अस्पतालको अध्यक्षज्यूको अगाडि ३ दिनमा तेरो सरुवा गरिनँ भने मेरो नाम पनि केदार होइन भनेर धम्की दिएर हिँड्यो ।’
त्यसपछि केदार कार्कीको समूह उनलाई सरुवा गराउनका लागि प्रादेशिक स्वास्थ्य मन्त्रालयमा डेलिगेसन नै गएको थियो । डा. श्रेष्ठलाई हटाएपछि कार्कीले फेसबुक स्टाटस पनि लेखेका थिए ।

उनीहरुले सरुवा नगरिएमा उनलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । प्रादेशिक स्वास्थ्य मन्त्रालयले श्रेष्ठमाथि कुनै अप्रिय घटना नहोस भनेर मन्त्रालय तानेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले भने, ‘उहाँविरुद्ध महिला चिकित्सकबाट लिखित गुनासो आएको थियो र छानविन समिति पनि बनेको थियो । बीचबीचमा उहाँको विषयलाई लिएइर विभिन्न व्यक्तिबाट कल पनि आउने गरेको थियो । कुनै अप्रिय घटना नहोस भनेर सरुवा गरेका हौं ।’
श्रेष्ठमाथि उजुरी गर्ने महिला पूर्व गाविस अध्यक्षका आफन्त हुन् । (यसअघि मन्थली नगरपालिकाका पूर्ववडाध्यक्ष नारायणदास श्रेष्ठको आफन्त भनेर भुलवश नाम पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ -सं)
अस्पताल विकास समितिका एक पदाधिकारीले भने–उनी यसअघि पनि यस्ता धम्की दिने गर्थे,तर आत्महत्या गर्ने खाले होइनन् । सहानुभूति बटुल्ने मेलो हो कि जस्तो लाग्छ । सरुवा हुँदैमा आत्महत्या किन गर्नुपर्छ र ? उसै पनि उनको सरुवा हुने अवधि पुगेको हो । विगतमा जुन गुण्डा र नेता प्रयोग गरेर सिनियर हाकिमलाई लखेटे अहिले तीनै मान्छेले उनलाई लखेटेका हुन् अरु केही पनि इस्यु होइन ।
डा.श्रेष्ठले आरोपित गरेका केदार कार्की नेपाली कांग्रेस रामेछाप नगर कार्य समितिका उपसभापति तथा नगर खेलकुद विकास समितिका अध्यक्ष समेत हुन् । उनीहरु केही समय अघिसम्म सँगै खानपीन र रमाइलो गर्थे । लेनदेन र स्वार्थ नमिलेपछि उनीहरुबीच विवाद भएको थियो । कांग्रेस नेताहरुले पावर लगाएर सरुवा गरेपछि डा.श्रेष्ठ विक्षिप्त थिए ।

Leave a Reply