माधव नेपाललाई संसदीय दलको नेताबाट कहिले हटाइन्छ ? यसो भन्छन्- घनश्याम

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यतिबेला सांसदबाट निलम्बित छन् । उनी पार्टी अध्यक्षसँगै संसदीय दलका नेता पनि हुन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर पछि उनी निलम्बित भएका हुन् ।

सांसदका रूपमा काम गर्न नपाउने व्यक्ति संसदीय दलको नेता हुनु शोभायमान नहुने भन्दै नेपाललाई दलको नेताबाट हटाएर अर्को नेता तोक्न पार्टीभित्र माग भएको छ । मागकर्ता एक नेताका अनुसार, स्वयं अध्यक्ष नेपालसँग भेटेर उनीहरूले दलको नेता फेर्नुपर्ने माग गरेका थिए । त्यसयता न संसदीय दलको बैठक बोलाइएको छ, न त पार्टीमै छलफल चलेको छ ।

ती नेताका अनुसार पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि पार्टीको कुनै पनि तहको बैठक बोलाइएको छैन ।

‘अध्यक्षमाथि कानूनी प्रश्न उठेपछि उक्त प्रश्नको कानूनतः निरुपण नहुञ्जेल नैतिकताका अधारमा पार्टी अध्यक्ष र संसदीय दलको जिम्मेवारीबाट अलग हुनुपर्थ्यो’, ती नेताले भने, ‘सम्मानित नेता झलनाथ खनालले प्रारम्भिक प्रतिक्रियामै यस्तो कुरा भन्नुभयो, त्यसैले बैठक पनि बोलाइएन ।’

पार्टी महासचिव घनश्याम भुसालका अनुसार अहिले अध्यक्ष नेपाल कानूनी परामर्शकै चरणमा भएका कारण दलको नेता फेर्ने विषयमा पार्टी प्रवेश गरेको छैन । ‘यो जहिले गर्दा पनि हुने कुरा हो, हामीले छलफल गर्नै पाएका छैनौँ’, उनले भने ।

उक्त पार्टीका सांसद कृष्णबहादुर (किसान) श्रेष्ठलाई यसबारे प्रश्न गर्दा उनले पनि दलको बैठक नबसेको प्रतिक्रिया दिए ।

‘हटाउने हो कि होइन, पर्छ कि पर्दैन भन्ने कुरा हामीभन्दा माथिका नेताले भन्ने कुरा हो, मैले भन्ने कुराचाहिँ दलको बैठक नै बसेको छैन’, उनले भने ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे दलका उपनेता पनि हुन् । अहिले उक्त पार्टीका तर्फबाट संसदमा केही बोल्नुपरे वा गर्नुपरेमा सबै कामको संयोजन उनैले गर्दै आएका छन् । यद्यपि, दलको नेताको रुपमा परिभाषित जिम्मेवारी र त्यसअनुसारको सुविधा पाउने गरी अर्को नेता तोक्नुपर्ने माग पार्टीमा उठेको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले नेपाल निलम्बित भएकै मितिदेखिका सम्पूर्ण सुविधाहरू रद्ध भइसकेको जानकारी दिए । यद्यपि, पूर्वप्रधानमन्त्रीका हैसियतले उनले पाउने सुरक्षा, यातायात र इन्धनका सुविधा भने जारी छ ।

‘उहाँ निलम्बन भएको सूचना संसदमा पढिएपछि सांसदका रुपमा पाउने कुराहरु स्वतः रोकिने हो, रोकिइसक्यो’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *