काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसाबारे सरकारसँग भएको दुई बुँदे सहमतिमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।
पार्टीको दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले यसबारेमा पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘सरकारमा रहेका पार्टीहरूसँग दुई बुँदे सम्झौता भएर संसद् खुलेको हो । त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्, त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट भएको छैन । त्यसकारण छलफल गरेर एउटा निष्कर्षमा नपुगी केही भन्न सक्दिनँ, तर औपचारिक कुरा थाहा पाइसक्नुभयो । त्यसले हाम्रो पार्टीलाई, सुशासनको अभियानलाई हित हुने गरी भयो कि भएन भन्ने प्रश्नमा समीक्षा हुनसक्छ ।’
उनले अध्यक्ष प्रचण्डले समग्र परिस्थितिको लेखाजोखा गरेर दुई बुँदे सहमतिको निष्कर्षमा पुगेको हुनसक्ने पनि बताए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीमा आधिकारिक रूपमा छलफल नगरी भन्नसक्ने स्थिति नरहेको भन्दै यो प्रकरणको मुद्दा निष्कर्षमा पुर्याइछाड्ने बताए ।

Leave a Reply