म ‘सेम्योरी’भित्रका कविताहरूमा खुलेर पोखिएकी छु: अञ्जना इछमफूल

काठमाडौं । सोलुखुम्बु जिल्लाको खालिङ परिवारमा हुर्किएकी कवि अञ्जना इछमफूल संस्कृति, भूगोल र समुदाय मिसाएर कविता लेख्न माहिर छिन् । उनी ग्रामीण परिवेशलाई टपक्कै टिपेर प्रतिरोधी कविता लेख्नसक्ने शब्दशिल्पी हुन् ।

उनका कवितामा स्थानिकतासँगै श्रमको सम्मान, मातृ स्नेह प्रचुर मात्रामा पाइन्छन् । सांस्कृतिक र भाषिक तालमेलमा पनि उनी अब्बल छिन् । सृजनात्मक कर्मसँगै उनी व्यवसायमा पनि सक्रिय छिन् । हातले बुनेका ढाका, किराँती संस्कार, संस्कृतिमा चाहिने पहिरन, गरगहनालगायत सामानहरूको व्यापारमा केही वर्षदेखि सक्रिय छिन् ।

उनै अञ्जना इछमफूलले भर्खरै कवितासंग्रह ‘सेम्योरी’ बजारमा ल्याएकी छन् । यही संग्रह वरिपरि रहेर कवि अञ्जना इछमफूललाई अर्का कवि किराँत नकराले पाँच प्रश्न सोधेका छन् । प्रस्तुत छ, कविलाई कविकै प्रश्नअन्तर्गत गरिएको वार्ताको सम्पादित अंश:

– ‘सेम्योरी’ शब्द नेपाली कविता साहित्यमा नयाँ र आकर्षक लाग्छ । यसको अर्थ के हो ?

खालिङ राई भाषामा ‘सोम्यो’ भनेको सपना र ‘री’ भनेको डोरी, लहरा, तरंग हो । यस अर्थमा ‘सेम्योरी’ मेरो सपना हो । मलाई सानैदेखि अरु लेखकको किताब देख्दा म पनि किताब लेख्छु भन्ने सपना थियो ।

‘सेम्योरी’को शाब्दिक अर्थ चाहिँ प्राचीन किराँती गहना हो । हाम्रो समुदायमा सोम्योरी बाटेर एकले अर्कोलाई लगाइदिने चलन छ । पछि आएर थाहा पाएँ, त्यो सोम्योरीलाई आकाश, धर्ती र हावासँगै तीन चुलाको प्रतीक मानिँदो रहेछ । चेतनाको गाँठो(चेत गाँठो) भनेर मगर समुदायदेखि सुनुवारमा, ‘प्लेकास’ भनेर आदिवासी जनजातिहरूमा सोम्योरी प्रख्यात रहेछ, तर यो लोप हुन लागेको आदिवासी गहना हो ।

सोलुखुम्बुका खालिङ समुदायले चाहिँ लेकतिर पाइने सेम्योरीको बुट्यानबाट सेम्योरी तयार गर्छ । चोयाको सेम्योरी चाहिँ त्यति शुभ मानिँदैन । ओरिजिनल सेम्योरी लगाएर हिँड्दा, सिरानीमुनि राखेर सुत्दा सपना राम्रो देखिने, भविष्यमा आउने बाधा व्यवधान तथा अशुभहरू टरेर जाने मान्यता छ । त्यसैले मैले कवितासंग्रहको नाम ‘सेम्योरी’ राखेकी हुँ ।

– कविता लेख्दा ‘साँस्कृतिक अतिवाद’लाई कसरी सन्तुलित गर्नुहुन्छ ? यो सन्दर्भ तपाईंको कवितासंग्रहमा कतिको पाइन्छ ?

कवितामा मात्र नभएर हाम्रो दैनिक जीवनशैली, घर, समाज, संस्कार, संस्कृति, भाषा, धर्म र भूगोलको विषय नै किन नहोस्, अतिवाद लाद्नुहुँदैन भन्ने लाग्छ । म सधैं यस्तो कुरामा सतर्क पनि रहन्छु । म जन्मिएको भूगोल, हुर्किएको समाज, व्यतित गरिएको वातावरण, माहोल र सङ्गत नै मेरो लेखनशैलीमा झल्किने कुराहरू हुन् ।

म सोलुखुम्बुको खाँटी पहाडमा जन्मेको मान्छे । किराँती संस्कार र भाषा मेरो मूल जरा हो । सायद पाठकले मेरा कविताहरूमा त्यसको प्रतिविम्ब अलि बढी पाउनुहुन्छ । आफ्नो भाषा, भूगोल र परिवेश झल्किनुलाई म कविको आफ्नो पहिचान मान्छु । कसैले कसैमाथि सांस्कृतिक अतिवाद हावी गर्न खोज्छ भने म त्यसको विरोधी हुँ ।

– तपाईंको कवितामा श्रमको सम्मान, मातृ स्नेह, स्थानिकता, सांस्कृतिक एवं भाषिक संवादको तालमेल आदि विषयवस्तु पाइन्छन् । तपाईंको विषय छनोटमा यस्तै विषय पर्नुका पछाडिका कारण के के हुन् ?

मेरो सृजनात्मक लेखनमा यिनै तत्वहरूको प्रभाव छ । श्रमको सम्मानविना सफल र सन्तुष्ट जीवनशैली सम्भव छैन । म आफू श्रमिक भएकैले बढी अरुको श्रमको सम्मान गर्छु ।

म एउटी आमा हुँ । आमामात्र नभएर कवि मन भएकी आमा हुँ । संसारका सम्पूर्ण आमा हुने सौभाग्य पाएका आमाहरू मेरा निम्ति भगवानभन्दा माथि छन् ।

लगनशीलता, इमानदारिता, सांस्कृतिक तथा भाषिक सद्भाव र स्नेहविनाको मानिसको जीवनको एक सेकेन्ड पनि कति खल्लो होला ! अनुमानमात्रै गर्दा पनि उकुसमुकुस हुन्छ । त्यसैले उल्लेखित विषयहरू मेरा रोज्जा विषय हुन् । तसर्थ म जे छु, ‘सेम्योरी’ मभित्रको म नै बोलेको हो ।

– तपाईं व्यवसायमा पनि सक्रिय हुनुहुन्छ । सृजनात्मक लेखन, घरपरिवार र व्यवसायलाई कसरी सन्तुलनमा राख्ने गर्नुहुन्छ ?

मलाई त अहिले धेरै लेखक र कविहरूले व्यापारीमात्र भन्ठान्छन्, तर मभित्रको कवित्व सधैं बौरिइरहन्छ । त्यो मरिसकेको छैन । म आफ्नो रोजीरोटीको निम्ति निश्चित समय छुट्ट्याएर मेसिन बनेर बाँच्छु । यसमा मलाई बानी परिसक्यो । म त काम नगर्दा बिरामी जस्तो हुन्छु ।

सन्तुलन भन्ने कुरा चैँ मानिसले चाहेरभन्दा पनि मानिसको अवस्था हेरेर समयले निर्धारण गरिदिन्छ कि जस्तो पनि लाग्छ । म लामै समयदेखि औपचारिक कार्यक्रमहरूमा जान छोडेकी छु । समय नै पुग्दैन । मेरो ढाकाको पसल नै साथीभाइ जमघट हुने थलो पनि भएको छ । केही युवाहरूलाई रोजगारी पनि दिएकी छु ।

कामबाट रातितिर घर पुग्दा कहिलेकाहीँ नुनको बट्टा रित्तो हुन्छ । वरिपरि पसल बन्द भइसकेको हुन्छ । नानीहरूलाई पनि मैले राम्रोसँग समय दिन सकिनँ कि जस्तो पनि लाग्छ । अहिले मभन्दा अग्लाअग्ला भइसके उनीहरू पनि । उनीहरूलाई भात पस्केर दिँदा ‘ममी तपाईं पनि खानुस् न’ भन्छन् । मलाई नानीहरूको यति बोलीले दबाइको काम गर्छ । यसरी नै आजसम्म यहाँ आइपुगिएछ, अब यसैलाई त सन्तुलन बन्ने होला कि !

– तपाईंका कविताहरूमा समुदायप्रतिको लगाव एकदमै ज्यादा देखिन्छ, किन होला ?

म सामाजिक प्राणी हो । मेरा हरेक गतिविधि समाजसँग जोडिन्छ । कवि हृदयले त झनै ज्यादा आफ्नो समुदायप्रति झुकाव राख्दोरहेछ । अब आफ्नो समुदायप्रति झुकाव र लगाव त अत्यधिक धेरै भएकै राम्रो हो नि !

Comments

One response to “म ‘सेम्योरी’भित्रका कविताहरूमा खुलेर पोखिएकी छु: अञ्जना इछमफूल”

  1. Raju Bikram Chamling Avatar
    Raju Bikram Chamling

    Perfect, Great Salute, Nakara Sir.

Leave a Reply

Your email address will not be published. Required fields are marked *