जेलबाट छुटेका मिटरव्याजी रौनियार पीडितलाई चिठ्ठी पठाएर धम्क्याउँदै

विराटनगर । ठगी मुद्दामा २ वर्ष जेल सजाय काटेर छुटेका विराटनगरका ‘मिन्टु’ भनिने मिटरव्याजी सञ्जयप्रसाद रौनियारले फेरि धम्की दिन थालेका छन् । जेलबाट छुटेसँगै हुलाकबाट चिठ्ठी पठाएर धम्क्याएको भन्दै पीडितले पत्रकार गुहारेका हुन् ।

मोरङको सुनवर्षी नगरपालिका-४ का अमितकुमार यादवले पहिल्यै साँवा र व्याजसहित सबै पैसा तिरिसकेको भए पनि पुन: पैसा माग गरिएको बताए । उनले रौनियारसँग धितोमा राखेको जग्गा पनि फिर्ता लिइसकेका छन् ।

यादवका अनुसार ६ वर्षअघि उनका बुवा महावीरले १ बिघा १ कठ्ठा १५ धुर जग्गा राजीनामा पास गरेर २ लाख रूपैयाँ ऋण लिएका थिए । त्यसको ब्याज र साँवा गरी २० लाख रूपैयाँ तिरिसकेपछि पनि रौनियारले अझै २० लाख रूपैयाँ मागेका छन् ।

विराटनगर-८ का गणेश रायले रौनियारले २५ लाख रूपैयाँ माग्दै पत्र पठाएको बताए ।

उनले भने, ‘प्रहरी प्रशासन आफ्नो पक्षमा रहेको भन्दै मनलाग्दी पैसा मागिरहेका छन् । रकम नदिए प्रहरी लगाएर कानूनी कारबाही गर्ने भनिएको छ ।’

रौनियारले आफूविरुद्ध उजुरी दिने १७ जनामध्ये ११ जनालाई यस्तो धम्कीपूर्ण पत्र पठाएको बताइएको छ । २०७७ मंसिर २९ गते प्रहरीले रौनियारलाई पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धानको क्रममा उनले १७ जना सर्वसाधारणलाई ९२ लाख ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रूपैयाँ असुली गरेको पाइएको थियो । ऋण दिएको भन्दा पाँच गुणा बढी मिटरब्याज असुली गरिसके पनि उनले १ करोड ३८ लाख ९८ हजार ४ सय रूपैयाँ माग गरेको अभियोग पत्रमा उल्लेख थियो ।

सो मुद्दामा २०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजालसले रौनियारलाई सफाइ दिएको थियो । यसअघि जेलमा रहँदा उनले पीडितहरूको जग्गा फिर्ता गरिदिने कबुल गरेका थिए ।

२०७७ चैत ८ गते वडा कार्यालयमा १७ जना पीडित र रौनियारको तर्फबाट श्रीमती ज्योति रौनियारको हस्ताक्षरसहित जग्गा फिर्ता गर्ने सहमति भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *