दुर्गेश भन्छन्- कुवेत भ्रमणका कारण जापानी दूतावासबाट पासपोर्ट फिर्ता लिएको हुँ

काठमाडौं । गायक दुर्गेश थापाले जापानी दूतावासले भीसा नदिएको सम्बन्धी समाचारका विषयमा सार्वजनिकरुपमा प्रष्टीकरण दिएका छन् । आफूले कुवेत भ्रमणका कारण दूतावासबाट पासपोर्ट फिर्ता लिएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै दुर्गेशले जापानको आयोजकसँग आफ्नो कुनै सम्झौता नभइसकेको पनि प्रष्ट पारेका छन् । उनको स्टाटस यस्तो छः

नेपाल महोत्सव जापानको सन्दर्भमा मलाई गल्कोट समाज जापान बाट कल र सन्देशहरू निरन्तर आइरहेका थिए । आयोजक संस्थाले ‘तपाईँलाई कार्यक्रममा लैजानु हाम्रो जिम्मेवारी हो’ भनेर आग्रह गरेपछि, म पनि उत्साहित थिएँ र हुन्छ भनेर सकारात्मक प्रतिक्रिया पनि दिएको थिएँ ।

तर यथार्थमा (७ जून २०२५) मा कुवेत मा हुने कार्यक्रमको लागि म पहिल्यै सम्झौता गरिसकेको थिएँ र त्यो मेरो प्राथमिकता बनिसकेको थियो । मैले आयोजक पक्षलाई यो जानकारी पनि गराएको थिएँ । त्यसैले जापानको कार्यक्रममा जानु तत्काल सम्भव थिएन ।

यति हुँदाहुँदै पनि आयोजकको अनुरोधलाई सम्मान गर्दै मैले पासपोर्ट दिन तयार भएँ । तर कुवेतको कार्यक्रम नजिकिँदै गर्दा पासपोर्ट बिना विदेश जान नसकिने हुँदा मैले आफ्नो पासपोर्ट ३ दिनमै फिर्ता लिनु पर्यो र सम्झौताअनुसार कुवेत गएँ । त्यहाँ म मेरा दर्शक–भगवानहरूसँग भेटेँ र आफ्नो प्रस्तुति दिएँ ।

मैले नेपाल महोत्सव जापानसँग कुनै औपचारिक सम्झौता गरेको थिइनँ । मैले कुनै प्रचार सामग्री पनि सम्प्रेषण गरेको छैन । मैले कुनै कार्यक्रम रद्द गरेको पनि होइन । कुवेतको कार्यक्रमको लागि म आफैले पासपोर्ट झिकेको थिएँ । आयोजकले तीन दिनमा भिषा लगाउछु भनेता पनि सो भन्दा धेरै दिन लाग्ने आयोजकलाई पहिले नै जानकारि गराएको थिएँ ।

म भोलिको दिनमा जापान पक्कै आउने छु, त्यहाँका दर्शक भगवानहरूसँग रमाउने र आफ्नो प्रस्तुति दिने मेरो निकै ठूलो चाहना पनि छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *