नेपाली क्रिकेटको नयाँ ‘बेन्चमार्क’ कायम गरेको सिरिज

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक श्रृंखलाको सुखद समापन गर्दै नेदरल्यान्ड्सलाई १६ रनले हराएको छ । पेनाल्टीस्वरूप नेपालबाट उपहारमा पाएको १० रन पनि नेदरल्यान्ड्सका लागि पर्याप्त भएन ।

स्लो पीचमा नेपालले पूरा ५० ओभर ब्याटिङ गर्दै २३६ रनको ठीकठाक स्कोर खडा गरेको थियो, जहाँ मध्यक्रमका ब्याटर आरिफ शेख फेरि एक पटक नेपालका ‘विघ्नहर्ता’ बने । उनले ८५ बलमा ८४ रनको उत्कृष्ट पारी खेल्दै एक्लो बलबुतामा नेपाललाई सम्मानजनक स्थितिमा पुर्‍याएका थिए । यो सिरिजमा आरिफ दोस्रो पटक प्लेयर अफ दि म्याच बनेका छन्, जसका उनी हकदार पनि थिए ।

आफ्ना प्रमुख दुई अलराउन्डर गुल्शन झा र सोमपाल कामीविना खेलिरहेको थियो नेपाल । इन्जुरीका कारण उनीहरू दुवैले स्कटल्यान्डमा हुने बाँकी खेलहरू गुमाएका छन् । नेदरल्यान्ड्विरुद्ध ब्याटिङमा नेपाललाई उनीहरूको अभाव खट्कियो । अन्तिम १० ओभरमा नेपालले चाहे जति रन बटुल्न सकेन । गुल्शनको प्रतिस्थापनमा आएका बसिर अहमद चलेनन् । उनले ११ रनमात्रै जोड्न सके । त्यसमा पनि १० रन हर्जाना तिर्नुपर्‍यो, उनी पिचमा कुदेका कारण । यद्यपि यही एउटा असफलताले बसिरको क्षमतामाथि भने प्रश्न उठ्दैन । उनी नेपालको राष्ट्रिय टीममा थप अवसरहरू पाउनुपर्ने युवा खेलाडी हुन् ।

नेपालका लागि भीम सार्की र कप्तान रोहितकुमार पौडेलले उपयोगी इनिङहरू खेले । दुवैले समान ३५-३५ रन बनाएका थिए, तर फरकफरक लयमा । भीम चुस्त देखिए भने रोहित सुस्त । ३५ रनका लागि भीमले ३८ बल र रोहितले ६० बल खेलेका थिए । यद्यपि तत्कालीन परिस्थितिमा दुवैको इनिङ महत्वपूर्ण थियो नेपालका लागि । पछिल्लो क्रमका ब्याटरहरूले ठोस योगदान दिन नसक्दा नेपाल बलियो स्कोरबाट चुकेको थियो । कम्तीमा एक जनाले ‘केमियो’ खेलेको भए नेपालको स्कोरकार्ड मजबुत हुन सक्थ्यो ।

नेपालले २५० रन छुन नसक्दा अधैर्य फ्यानहरूले खेलाडीलाई सामाजिक सञ्जालमा गाली गर्न सुरु गरिसकेका थिए, तर क्रिकेटमा कति स्कोर बलियो र कति कमजोर भन्ने चाहिँ धेरै हदसम्म पीचको कन्डिसनले निर्धारण गर्छ । जति बलियो ब्याटिङ पंक्ति भए पनि सबै कन्डिसनमा ३०० माथि रन बनाउन सम्भव हुँदैन । हिजोको पीचमा नेपालले दिएको लक्ष्य प्रतिस्पर्धात्मक नै थियो र बलरहरूले त्यसलाई सावित गरिदिए ।

बलिङमा हिजो सबैभन्दा प्रभावशाली प्रदर्शन गरे युवा फास्ट बलर नन्दन यादवले । नेपाललाई लामो समयदेखि एउटा यस्तो फास्ट बलरको कमी महसुस हुँदै आएको छ, जसले नयाँ बल र पुरानो बल दुवैबाट विकेट निकाल्न सक्छ । सोमपाल कामी र करण केसीले लामो समयदेखि नेपालको फास्ट बलिङ धान्दै आएका छन्, तर उनीहरूको प्रदर्शनमा एकरूपता पाइँदैन । कन्डिसनले सपोर्ट नगर्दा उनीहरू खर्चिला बन्ने गरेका छन् । खासगरी डेथ बलिङमा नेपालको फास्ट बलिङले धोका दिँदै आएको छ ।

नेपालको यो कमजोरीलाई मल्हमपट्टि गर्नसक्ने संकेत देखाइरहेका छन् नन्दनले पछिल्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरूमा । नेपालमा करिअर नदेखेर अस्ट्रेलिया पलायन भएका नन्दन गत वर्ष एनपीएल खेल्न आएका थिए । एनपीएलमा आफ्नो उत्कृष्टता देखाएपश्चात उनले फेरि अस्ट्रेलिया फर्किनु परेन । नन्दनको उत्कृष्टताबारे अहिल्यै निष्कर्षमा पुग्नु हतारो हुनसक्छ, तर उनले निकै आशालाग्दो सुरुवात भने गरेका छन् ।

हिजो अनुभवी बलर करण केसी नचल्दा नन्दनले नेदरल्यान्ड्सको ब्याटिङलाई घुँडा टेकाए । ‘नेक टु नेक’ को स्थितिबाट खेल अघि बढिरहँदा ४७औं ओभरमा उनले दुई विकेट लिएर नेपालको जित निश्चित गरेका थिए । नेपालका तीन स्पिनर सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कुशल भुर्तेलको बलिङको पनि तारिफ नगरिरहन सकिन्न । सन्दीपले आफ्नो वास्तविक स्तर देखाउँदै १० ओभरमा ३९ रन खर्चेर तीन महत्वपूर्ण विकेट हात पारे । ललितले कसिलो बलिङ गर्दै १० ओभरमा २९ रनमात्र खर्चेर दुई ब्याटरलाई पेभिलियन फर्काए । यस्तै पार्ट टाइम बलर कुशलले पनि पूरा १० ओभर बल फ्याँक्दा मात्र ३४ रनको खर्चमा एक विकेट लिए ।

श्रृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध दोस्रो जित निकालेको हो । आयोजक राष्ट्र स्कटल्यान्डविरुद्ध भने नेपालले एक जित र एक हारको नतिजा स्वीकार्‍यो । स्कटल्यान्डविरुद्धको दोस्रो म्याचमा नेपाल जितको नजिकै पुगेर पनि २ रनले चुकेको थियो । यद्यपि ३-१ को नतिजा यो श्रृंखलामा नेपालले सोचेभन्दा धेरै राम्रो हो ।

सिरिज रिभ्यू

धेरै हिसाबले नेपालका लागि अविस्मरणीय र ऐतिहासिक बन्यो यो सिरिज । नेपाली क्रिकेटको स्तर नयाँ उचाइमा पुगेको शंखघोष यो स्कटल्यान्डबाट भएको छ । अब नेपाललाई कुनै पनि टीमले कम आँक्न सक्ने छैनन्, चाहे ती टेस्ट राष्ट्र नै किन नहून् ।

हुन त नेपालले टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई झण्डै हारको संघारमा पुर्‍याएको इतिहास ताजै छ, तर यो श्रृंखलामा जस्तो प्रदर्शनमा एकरूपता र आत्मविश्वास यसअघि सायदै देखिएको थियो । चार वटै खेलमा नेपालले विपक्षी टीमलाई आफूमाथि हावी हुन दिएन । जस्तोसुकै कठिन स्थितिमा पनि हार नमान्ने ‘विजेता मनोविज्ञान’ प्रदर्शन गर्‍यो ।

प्रतिस्पर्धीहरू चानचुने थिएनन् । एसोसिएट्समा सबैभन्दा बलियो टीमका रूपमा नेदरल्यान्ड्सलाई हेरिन्छ, जसले अहिलेसम्म ५ पटक ओडीआई विश्वकप र ६ पटक टी-२० विश्वकप खेलिसकेको छ । सन् २०२३ मा भएको एक दिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराएको थियो । यस्तै स्कटल्यान्ड पनि तीन पटक एक दिवसीय विश्वकप र ६ पटक टी २० विश्वकप खेलिसकेको राष्ट्र हो । टी २० विश्वकपमा स्कटल्यान्डले बंगलादेश र वेस्ट इन्डिज जस्ता टीमहरूलाई हराएको इतिहास छ । त्यसैले यो त्रिकोणात्मक प्रतिस्पर्धामा अन्य दुई टीमको तुलनामा नेपाललाई कमजोर आँकिएको थियो ।

विदेशी भूमिमा नेपालको रेकर्ड त्यति राम्रो पनि छैन । खासगरी फास्ट बलरलाई सपोर्ट गर्ने पिचहरूमा नेपालको ब्याटिङ बारम्बार धर्मराउने गर्छ । त्यसले गर्दा दुई बलिया टीमविरुद्ध नेपाल प्रतिस्पर्धामा खडा नै हुन नसक्ने हो कि भन्ने चिन्तासमेत थियो, तर खेलाडीहरूले त्यसलाई गलत सावित गरिदिए । नेपालको ब्याटिङ नयाँ स्तरमा पुगिसकेको आभास भयो ।

पहिलो खेलमै नेपालले स्कटल्यान्डलाई उसकै मैदानमा एक विकेटको हार चखाएर बलियो सन्देश दियो कि हामीलाई कमजोर नआँक्नू । नेपालले २९६ रनको बलियो लक्ष्य पछ्याएर अहिलेसम्मकै सर्वाधिक स्कोर पछ्याएको नयाँ बेन्चमार्क राख्यो । उक्त म्याचमा नवौं नम्बरका ब्याटर करण केसीले नेपालको नैया पार लगाएका थिए । १९२ रनमा ७ विकेट गुमाएर लगभग आश मारिसकेको स्थितिबाट उनले नेपाललाई अन्तिम बलमा रोमाञ्चक जित दिलाए । स्कटल्यान्डविरुद्धको यो जितले नै लिग २ गुमेको नेपालको आत्मविश्वास फिर्ता ल्यायो र बाँकी तीन वटा म्याचमा नेपालले उच्च मनोबलका साथ खेल्यो ।

दोस्रो म्याचमा नेदरल्यान्ड्सलाई नेपालले ५ विकेटको हार चखायो, जसमा हिरो बने आरिफ शेख । २२६ रनको औसत लक्ष्य पछ्याउने क्रममा आरिफले ७८ रनको उत्कृष्ट पारी खेल्दै नेपालको जित निश्चित गरेका थिए । यो जितले नेपालको हौसला थप बुलन्द भयो ।

स्कटल्यान्डविरुद्धको तेस्रो म्याचमा नेपालले आफ्नो ब्याटिङको गहिराइ प्रदर्शन गर्‍यो । भलै अन्तिममा सम्हालिन नसक्दा जित हासिल भएन । पराजय व्यहोर्नुपरे पनि नेपालको खेल गर्व गर्न लायक थियो । जब स्कटल्यान्डले ३२३ रनको पहाड खडा गर्‍यो, त्यसबेला खेल नेपालको हातबाट गयो भन्ने ठानिएको थियो । हुन पनि विगतमा नेपाललाई २०० भन्दा माथिको स्कोर नै भारी पर्थ्यो । ३०० माथिको रन चेज त सम्भव नै लाग्थेन, तर यसपालि नेपालले विशाल लक्ष्य पछ्याउन सक्ने क्षमता, धैर्यता र साहस देखायो । नेपालको प्राविधिक हार भए पनि यो खासमा मानसिक जित नै हो ।

उक्त म्याचलाई अलिकति फर्केर हेरौं न ! १८३ रनमा ६ विकेट गुमाउँदा नेपाली फ्यानहरूले लगभग हार स्वीकारिसकेका थिए । फेसबुकमा गालीगलौज सुरु भइसकेको थियो, तर खेलाडीले आत्मसमर्पण गरेनन् । नेपालको ब्याटिङ पंक्ति यति लामो छ कि १० नम्बरसम्म आउने जोसुकै ब्याटरले खेल पल्टाइदिन सक्छन् । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले नेपालको मरिसकेको आशालाई व्युँताइदिए । उनीहरूले केवल ६५ बलमा १०५ रनको विस्फोटक साझेदारी गरे ।

यो जोडीको पार्टनरसीप पनि विशेषखालको थियो । चौका-छक्काको वर्षाविना नै उनीहरूले विस्फोटक साझेदारी गरेका थिए, उत्कृष्ट रनिङ विटविन द विकेटको बलमा । सिंगल र डबल लिएरै उनीहरूले स्कटल्यान्डलाई आच्छुआच्छु बनाइदिए । दीपेन्द्रले ५१ बलमा ५६ रन बनाउँदा केवल २ चौका प्रहार गरेका थिए । उनले तेज गतिमा दौडिएरै ४८ रन लिए ।

सोमपालले फेरि एक पटक आफूलाई ब्याटबाट प्रमाणित गरे । आठौं नम्बरमा आएका उनले ४४ बलमा ६७ रन हान्दै नेपाललाई खेलमा फर्काएनन् मात्र, जितकै संघारमा पुर्‍याएका थिए । एक समय नेपाललाई जितका लागि १५ बलमा १६ रन चाहिएको थियो भने हातमा सोमपालसहितका तीन विकेट थिए । नेपाली खेमा जितको सेलिब्रेसन गर्न ठीक परिसकेको थियो, तर ४७.६ ओभरमा सोमपाल आउट भएसँगै खेलमा ट्विस्ट आयो । लगातार दुई सर्ट बल खेल्न नसक्दा दबाबमा आएका सोमपालले तेस्रो बललाई हिट गरेर क्याच थमाउन पुगे ।

त्यसो त सोमपाल आउट भएपछि पनि नेपालको हातबाट जित टाढा थिएन । अन्तिम ओभरमा नेपाललाई सात रनमात्र चाहिएको थियो । क्रिजमा थिए करण केसी र सन्दीप लामिछाने । उनीहरू दुवै राम्रैसँग ब्याट चलाउन सक्छन् । कुनै रिस्क नलिइकन सिंगल-डबलबाटै लक्ष्य भेटिन सक्थ्यो, तर ओभरको तेस्रो बलमा करणले बाउन्ड्री निकाल्ने प्रयास गर्दा आउट हुन पुगे । पाँचौं बलमा सन्दीप स्ट्राइकमा आए । उनले सिंगल रनका लागि दौडिनु पनि अर्को त्रुटि थियो । अन्तिम बल उनी आफैंले फेस गरेको भए बाउन्ड्री लाग्ने आशा गर्न सकिन्थ्यो, तर अन्तिम बल ललित राजवंशीको भागमा पर्‍यो । कहिल्यै ब्याटिङमा जिम्मेवारी लिनु नपरेका ललितलाई एक बलमा ३ रन बटुल्ने चुनौती भारी भयो र उनले विकेट गुमाए ।

यो खेलमा नेपाललाई हराएको चाहिँ खासमा डेथ बलिङले हो । यदि डेथ बलिङ नेपालको राम्रो हुन्थ्यो भने स्कटल्यान्डले ३०० को आँकडा कटाउन सक्थेन । नेपालका दुई मुख्य फास्ट बलरहरू करण केसी र सोमपाल कामी अन्तिम ओभरहरूमा नराम्ररी चुटिए, जसले गर्दा स्कटल्यान्डले विशाल स्कोर खडा गर्न सक्यो ।

हुन त खेलमा इफ वा बटको कुनै अर्थ हुँदैन भन्ने गरिन्छ । जित हासिल हुँदा सबै कमी कमजोरीहरू बिर्सिइन्छन् भने हारेपछि अनेक ठाउँमा गल्तीहरू भेटिन्छन्, तर पनि हारका कारणहरूको विश्लेषण यसकारण आवश्यक हुन्छ कि आगामी खेलमा सुधार गर्न सकियोस् ।

जे भए पनि यो श्रृंखलाले नेपालको लिग २ यात्रालाई अलिकति लिकमा ल्याइदिएको छ । यसअघि १२ वटा म्याच खेल्दा केवल २ जित निकालेको नेपालले थप ४ म्याच खेल्दा ३ जित थप्न सफल भयो, त्यो पनि विदेशी भूमिमा । नेपालले अझै आधाभन्दा बढी खेल खेल्न बाँकी नै छ । त्यसैले बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल अंक तालिकाको टप ४ मा अटाउन सक्नेमा फ्यानहरू आशावादी छन् ।

नेपाली टीमसँग अहिले नयाँ प्रशिक्षक छन् स्टुअर्ट लका रूपमा । यी अस्ट्रेलियन प्रशिक्षकले आउँदाआउँदै भनेका थिए कि मलाई हारसँग घृणा छ । नभन्दै उनको सुरुवात उत्कृष्ट ढंगबाट भएको छ । स्टुअर्टले नेपाल आउनेबित्तिकै कुनै चमत्कार गरेका त पक्कै होइनन्, तर खेलाडीको माइन्ड सेट र खेल रणनीतिमा भने उनको हात हुन्छ नै । त्यसमा उनी सफल देखिए ।

नेपाली क्रिकेटको स्तर यहाँसम्म पुग्नुमा भने लामो प्रक्रिया र लगानी परेको छ । पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) ले बनाएको अनुकूल वातावरण पनि एउटा प्रमुख तत्व हो । लिग २ भन्दा अगाडि नै नेपाली टीमलाई बेलायत पुर्‍याएर त्यहाँको पीच र वातावरणसँग अभ्यस्त गराउने काम क्यानले गरेको थियो । त्यसले पनि पक्कै सहयोग गर्‍यो । खेलाडीहरूले पनि उचित वातावरण पाएमा जतिसुकै बलिया टीमलाई पनि घुँडा टेकाएर देशको शिर उँचो राख्नसक्ने अठोट देखाएका छन् । सबैलाई बधाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *