रूपन्देही । लुम्बिनी प्रदेशबाट १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षक गरी ११३ जनाले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरूलाई लुम्बिनी प्रदेश सरकारले बिदाई गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले सोमबार टोलीलाई सामूहिक बिदाई गरेका हुन् ।
भलिबल, उसु, कराते, तेक्वान्दो, कबड्डी र एथलेटिक्स गरी ६ विधामा प्रतिस्पर्धा गर्ने ९८ जना खेलाडी र १३ जना प्रशिक्षकलाई बिदाई गरिएको हो ।
उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न मन्त्री ढकालले खेलाडीहरूलाई हौसला दिएका छन् । उनले लुम्बिनी प्रदेश सरकारले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए । साथै, नियमित प्रतियोगिता र संरचनागत सुधारमा विशेष ध्यान दिइएको पनि उनले उल्लेख गरे ।
यसपटक लुम्बिनी प्रदेशले उपाधि हात पार्नेगरी प्रतियोगितामा सहभागीता जनाउन थालेको खेलकुद परिषद्का सदस्य–सचिव तिरणदाज गौतमले जानकारी दिए । यसअघि लुम्बिनीले ११ औं, १२ औं र १३ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको थियो । १४ औं संस्करणको उपाधि भने सुदूरपश्चिम प्रदेशले जितेको थियो । १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता काठमाडौंमा यही जेठ २८ गतेदेखि सुरु हुँदैछ ।

Leave a Reply