२०८२ साल वैशाख ३ गते बिहानको सूर्यले मेरो यात्रा सुरुवातको संकेत गर्यो । काठमाडौंबाट हामी यात्रा प्रारम्भ गर्दै थियो । मनमा अपार उत्साह थियो । नेपालकै एक अनुपम र उद्भूत स्थलमा रहेको रारा तालमा पुग्ने सपना बोकेर । थोरै डर, धेरै उमंग र अनगिन्ती जिज्ञासाहरू लिएर अगाडि बढयौं ।
पहिलो दिन पर्वतको कुश्मामा विश्राम गर्दा नै थाहा भयो यो यात्रा सहज हुनेवाला छैन । साँघुरा पहाडी बाटाहरू, उकालो ओरालोले भरिएको कच्ची सडक र सवारी साधनको असहजता, यी सबैले शरीरलाई थकाइ दिन थाले पनि, मन भने लक्ष्यप्रति अटल थियो ।
अर्को दिन पूर्वी रुकुमको रुकुमकोट पुग्यो । रुकुमकोटको हरित परिवेश स्थानीय संस्कृतिको सरलता र डाँडाकाँडा बीच बसेको सुन्दर बस्तीले मुटुलाई छोयो । यहाँका मानिसहरूका उज्याला अनुहार र मेहनतबाजीले यात्राको थकान केही घटाएको अनुभव भयो ।

तेस्रो दिन, हामी दैलेखको तल्लो डुंगेश्वर पुग्यौ । सडक यात्रा अझ विकट हुँदै गयो । बाटोमा कहिलेकाहीँ सवारी साधन रोकिन्थ्यो, कहिले घामले पोल्थ्यो, कहिले धुलोले ढाक्ने नै भयो । तर प्रकृतिको काखमा घुमिरहँदा यस्तो कठिनाइलाई पन्छाएर अघि बढ्ने ऊर्जा आफैँ जाग्थ्यो ।
नाग्मा कालिकोट जिल्लाको एउटा सानो बस्ती थियो, चौथो दिनको गन्तव्य भयो । त्यहाँको हिमाली चिसो हावा, न्यून जनसंख्या र शान्त वातावरणले हामीलाई एकअर्कासँग अझ नजिक बनायो । यात्रामा केवल प्राकृतिक सौन्दर्य मात्र होइन, मानव सम्बन्ध पनि प्रगाढ बन्दै गइरहेको थियो ।
रारा तिमी कति सुन्दर !
पाँचौँ दिन, जब हामी रारा तालको किनारामा पुगेका थियो, शब्दहरू कम पर्थे । नीलो आकाशमा हलुका बादलहरूको पर्दा, शान्त र चञ्चल तालको पानी, वरिपरिको घना वनजंगल, यस्तो अनुपम दृष्यले मुटुमा शान्तिको सुगन्ध छर्यो ।
छायानाथ नगरपालिका, हुटु मुगुमा २९९० मिटरको उचाइमा अवस्थित रारा ताल जलाधार क्षेत्र २६.८ वर्ग किमी, परिधि १४.८८२ किमी, अधिकतम लम्बाइ ५.२ किमी, अधिकतम चौडाइ २७ किमी र अधिकतम गहिराई करिब १६७ मिटर छ ।
रारा ताललाई नेपालको मोती पनि भनिन्छ, यसको नीलो पानी, वरिपरिको हरियाली जंगल र हिँउले ढाकिएका पहाडहरूले निकै मनमोहक दृश्य सिर्जना गर्दछ । यहाँबाट देखिने चाँदनी रातको प्रतिबिम्ब र बिहानको सूर्योदय अत्यन्त रमणीय हुन्छ । ताल वरिपरि पाइने सल्लो, लालीगुराँस जस्ता वनस्पति पाइन्छ भने राष्ट्रिय निकुञ्जभित्र रेड पान्डा, मृग, भालु लगायतका वन्यजन्तुहरू पनि पाइन्छ ।
रारा ताल नेपालको पर्यटनमा महत्त्वपूर्ण स्थान राख्छ । आन्तरिक र बाह्य पर्यटकहरू यस तालको शान्त वातावरण, पदयात्रा मार्गहरू, क्यापिङ र प्रकृतिसँगको घनिष्टताका लागि यहाँ पुग्ने गर्दछ ।
तालको पश्चिम किनारमा रहेको होमस्टेमा बस्दै हामीले स्थानीय जीवनशैली नजिकबाट अनुभूत गर्यौँ । शान्त वातावरणमा रमाउँदा लाग्दथ्यो, संसारकै सबैभन्दा पवित्र स्थलमा छु । रारा तालले एउटा सन्देश दिएको जस्तो लाग्यो ‘सौन्दर्य सधैँ मौन हुन्छ ।’
यात्राको कठिनाइहरू :
तर यथार्थमा पनि यात्रा त्यतिकै कठोर थियो । विकट बाटाहरूले यात्रा थकाइपूर्ण बनाएको थियो । ठाउँठाउँमा शौचालयको अभावले पाखा भित्ता नै शौचालय वनेका थिए, पिउने पानीको कतै व्यवस्था थिएन आफैँले बोकेर जानुको विकल्प देखिएन । उचित र पर्याप्त बसोबासको पनि खाँचो नकार्न सकिँदैन यद्यपि यो पक्ष भने सुधारकै पक्षमा देखियो । यद्यपि यी अप्ठ्याराहरूले हाम्रो आत्मबलमा कमी ल्याउन सकेनन् ।
सपना देखियो सुधारकोः
रारा ताल जस्तो अमूल्य सम्पत्तिको संरक्षण र व्यवस्थापन अत्यन्त जरुरी देखिन्छ । भविष्यमा निम्न सुधारका लागि सुझाव उल्लेख गरेको छु ।
१. सडक सुधार र स्तरीकरण: कच्ची, साँघुरा र असुरक्षित सडकहरूको सुधार अत्यन्त जरुरी छ । यात्रा सहज हुँदा पर्यटकको संख्या बढ्नेछ र स्थानीय आर्थिक विकासमा टेवा पुग्नेछ ।
२. शौचालय तथा पिउने पानीको व्यवस्था: प्रमुख विश्रामस्थलहरूमा स्वच्छ र पर्याप्त शौचालयको निर्माण हुनुपर्छ । साथै , स्वच्छ पिउने पानीका स्रोतहरू सुनिश्चित अनिवार्य छ ।
३. सस्तो र स्तरीय होटल तथा होमस्टे विकासः रारा क्षेत्र वरिपरि अझ व्यवस्थित सरसफाइयुक्त, सस्तो र गुणस्तरीय होटल तथा होमस्टेको आवश्यकता छ । यसले पर्यटकलाई दीर्घकालीन बसाइका लागि आकर्षित गर्नेछ ।
४. स्थानीय सहयोग र अभ्यर्थनाः स्थानीय बासिन्दाको पर्यटकप्रति सक्रिय सहभागिता जरुरी छ । उनीहरूको आय आर्जनका अवसर सिर्जना गरेर स्थानीय उत्पादन र सेवा पर्यटनसँग जोड्न सकिन्छ ।
५. स्वच्छता र वातावरण संरक्षणः राराको मौलिक सौन्दर्य जोगाउन सफाइ अभियान, फोहोरमैला व्यवस्थापन, प्लास्टिक निषेधजस्ता कार्यक्रम अनिवार्य हुनुपर्दछ ।
यात्राको अन्तिम चरण घर फर्कँदैः
छैठौं दिन रारा तालको अवलोकन सम्पन्न गरी कालिकोटको नाग्मामा नै बास बसियो । सातौं दिन बिहानै जुम्ला जिल्लाको सदरमुकामको ऐतिहासिक र सांस्कृतिक धरोहरहरू अवलोकन गरियो । स्थानीय खाधान्न र सामानहरू खरिद गरी नाग्मामा नै लन्च खाई दैलेख सदरमुकाम तर्फ लाग्यो ।
आठौँ दिन सुर्खेत र नवौँ दिन स्वर्गद्वारी, जसको शान्त धार्मिक वातावरणले हाम्रो हाम्रो यात्रा थप पवित्र बनायो । स्वर्गद्वारी पृथ्वीको स्वर्गजस्तो ठाउँ, हरिया पहाडहरू, न्यानो घाम र आध्यात्मिक ऊर्जाले भरिपूर्ण स्वर्गद्वारीमा पुगेपछि यस्तो लाग्यो- यात्रा सफल भयो ।
त्यहाँको आश्रम, पूजा अनुष्ठान, र शान्त वातावरणले मनमा स्थायी छाप छाड्यो ।
दशौँ दिन, दाङ जिल्लाको भालुवाङबाट काठमाडौंबाट फर्कँदा, थकाइले थिचिए पनि मनमा एउटा उद्भूत सन्तोष थियो , मैले जीवनमा एउटा सपनालाई साकार बनाएको थिए ।
यात्राको क्रममा बागलुङ कालिकाको दर्शन, दैलेख जिल्लाको ज्वालादेवी, बटुक भैरव र पञ्चदेवलको दर्शन र अवलोकन, सुर्खेतको काँक्रेविहार र बुलबुले तालको दर्शन र अवलोकन स्मरणीय रह्यो ।
निष्कर्ष:
रारा तालको यो यात्रा केवल भौगोलिक गन्तव्यसम्म सीमित रहेन, यो एउटा जीवन्त अनुभाव बन्यो, संघर्षपछि प्राप्त हुने सौन्दर्य र शान्तिको गहिरो बोध । रारा भनेको केवल ताल होइन, यो स्वच्छ आत्माको ऐन हो, आत्माको शुद्धीको केन्द्र पनि हो । यात्रा कठिन थियो, तर सम्झना अमूल्य रह्यो । जीवनमा कहिल्यै नबिर्सने क्षणहरू रारा तालले दिएको छ, जुन मेरा हृदयमा रहिरहनेछ ।
त्यसैले, यो प्राकृतिक धरोहरलाई हामी सबैले माया र संरक्षण गर्नु अत्यावश्यक छ ।

Leave a Reply