ड्युटीमा रहेका प्रहरीमाथि अपशब्द बोल्दै दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षमाथि मुद्दा चलाइँदै

विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीका विरुद्ध ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज गरी मनोबल गिराएको आरोपमा मुद्दा दर्ताको तयारी गरिएको छ ।

कोशी कटानमा ड्युटीमा रहेका ट्राफिकका सई कमलप्रसाद दाहाल र ट्राफिक असई सन्तोष मिश्रमाथि उनले अपशब्दसहित गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । सुनसरीका प्रहरी प्रमुख एसपी सुमनराज तिम्सिनाले मुद्दा दायर गर्न आवश्यक कागजात जुटाइएको बताए ।

उनले भने, ‘ड्युटीमा रहेका असई र ट्राफिकमाथि गालीगलौज गरेको तथा सार्वजनिक ठाउँमा दुर्व्यवहार गरेकोलगायतको आरोपमा मुद्दा दायरको काम थालेका छौं । माथिल्लो निकायमा जानकारी गराएका छौं ।’

के थियो घटना ?

जेठ २३ गते को १ त ४९४३ नम्बरको बाँस लोड गरिएको ट्याक्टर ट्राफिक प्रहरीका असई रामराजा यादवले रोक्छन् । ट्याक्टर ओभर लोड पाइएपछि जरिबाना तिराइन्छ । ट्याक्टरका चालक गाउँपालिकाका अध्यक्ष अन्सारीका आफन्त हुन् । ती चालकले फोन गरेपछि पुगेका अध्यक्षले मेरो पालिकाका जनतालाई दु:ख दिने भन्दै मुखमा आएजति गाली गरेका छन् ।

अन्सारीले प्रहरीले घुस खाएको आरोप लगाउँदै आफूले गरेको फोन पनि नउठाएको भनेर गाली गरेका छन् । केही दिनअघि दूध बोकेको मोटरसाइकललाई पनि ओभरलोडमा ५ सयको चिट काटिएको थियो । त्यो मोटरसाइकल रोकेका कारण दूध फाटेको पनि अन्सारीले आरोप लगाएका छन् ।

मनपरी गाली गरेको भिडिओ भाइरल भएर आलोचना बढेपछि पालिका अध्यक्ष अन्सारीले ती शब्द आफूले नबोलेको र एआईको प्रयोग गरेर भिडिओ बनाएको दाबी गरेका छन् । बनाइएको भन्दै आफूले त्यसो नभनेको बताएका छन् । उनले भिडियोमा कसरी यस्तो भिडियो आयो भन्ने बारेमा थाहा नभएको भन्दै भिडिओ पोस्ट गरेका छन् ।

Comments

One response to “ड्युटीमा रहेका प्रहरीमाथि अपशब्द बोल्दै दुर्व्यवहार गर्ने गाउँपालिका अध्यक्षमाथि मुद्दा चलाइँदै”

  1. KB Gurung Avatar
    KB Gurung

    Fine tiraunu galat..kina ki fien tire paxi tyo tacktor overload liyerai afno gantabya tira lagxa ra accident hune dar hunxa….overload saman jharna lagauni 2 tip garera lanxa…

Leave a Reply

Your email address will not be published. Required fields are marked *