मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।
मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ हुने बताए ।
‘जीवन विकास सामुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । दुनियाँमा कमैमात्र यस्ता अस्पताल हुन्छन्’’, उनले भने, ‘दुई सय शय्याबाट तीन सय शय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा हुन सकोस् । सरकार आवश्यक सहयोग गर्न तयार छ ।’
प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारी वृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिए ।
उनले प्रतिफल राम्रो नहुने र तिर्न नसक्ने ऋण नलिई यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेताहरुलाई आग्रह गरे ।
मोरङ–५ का सङ्घीय सांसद योगेन्द्र मण्डलको नेतृत्वमा उक्त अस्पताल अघि बढेको छ । सांसद मण्डले अस्पतालका अध्यक्षसमेत हुन् ।

Leave a Reply