आजको समयमा क्यान्सर विश्वव्यापी रूपमा प्रमुख जनस्वास्थ्य चुनौतीको रूपमा उभिएको छ। विशेषगरी फोक्सोको क्यान्सर विकासोन्मुख मुलुकहरूमा तीव्र रूपमा बढ्दो छ । विश्व स्वास्थ्य संगठनको सन् २०२० को प्रतिवेदनअनुसार फोक्सोको क्यान्सरबाट मात्रै विश्वभर १.८ मिलियन मानिसको मृत्यु भएको थियो । पुरुषहरूमा यो सबैभन्दा बढी देखिने क्यान्सर हो, जसको कारणहरूमा धूमपान, हावाको गुणस्तरमा गिरावट, औद्योगीकरण र जीवनशैलीमा आएको परिवर्तन प्रमुख हुन् । यो रोग भौगोलिक रूपमा समान रूपमा वितरित हुँदैन । बरु वातावरणीय अवस्थाहरू, सामाजिक व्यवहार र स्वास्थ्य सेवामा पहुँच जस्ता कारणले विभिन्न स्थानहरूमा जोखिम फरक-फरक देखिन्छ । नेपालमा पनि पछिल्लो दशकमा फोक्सोको क्यान्सरको घटनामा उल्लेख्य वृद्धि देखिएको छ, जसले यस समस्याको गम्भीरता र यसको स्थानिक विश्लेषणको आवश्यकता औंल्याउँछ ।
नेपाल जस्तो भौगोलिक विविधता भएको मुलुकमा रोगहरूको वितरण विशुद्ध स्थान आधारित (spatial based) विशेषताबाट प्रभावित हुन्छ ।फोक्सोको क्यान्सरको जोखिम भौगोलिक दृष्टिले फरक-फरक देखिन्छ । वातावरण, जनसंख्या घनत्व, धूमपानको दर, मानिसको जीवनशैली, भौगोलिक बनावट र खानेकुराको बानी जस्ता विविध कारकहरूले यसको जोखिम निर्धारण गर्छ । नेपालमा पनि फोक्सोको क्यान्सरको अवस्था चिन्ताजनक छ । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (IARC) को अनुसार नेपालमा मात्र २ हजार ४३१ नयाँ फोक्सोको क्यान्सरका घटना ९.३ प्रतिलाखको दरमा रिपोर्ट गरिएकाे थियाे । शिल्पकार २०२२ को एक अध्ययनअनुसार नेपालको समायोजित मानक घटनाको दर (ASIR) ८०.९ र मृत्युदर (ASMR) ५४.८ प्रतिलाख रहेको छ, जुन अत्यन्तै उच्च हो । शहरी क्षेत्रहरूमा विशेषगरी पुरुषहरूमा फोक्सोको क्यान्सरको मृत्युदर उच्च देखिनु गम्भीर जनस्वास्थ्य चुनौती हो । यो दर विशेषतः ७० देखि ७४ वर्ष उमेर समूहमा झन् बढी देखिन्छ, जुन जनसंख्याको उच्च जोखिम समूह हो । काठमाडौं उपत्यकामा पुरुषहरूमा फोक्सोको क्यान्सरको Adjusted Standardized Incidence Rate (ASIR) १८.१ र महिलामा १०.४ रहेको तथ्याङ्कले राजधानी क्षेत्रमा रोगको तीव्रता देखाउँछ। यद्यपि ग्रामीण क्षेत्र जस्तै रुकुममा यो दर क्रमशः १३.२ र ५.२ मात्र छ, जसले स्थान र वातावरणअनुसार फोक्सोको क्यान्सरको जोखिममा ठूलो भिन्नता हुने प्रमाणित गर्छ । यसले स्पष्ट गर्छ कि स्थानिक स्तरमा वातावरणीय जोखिम तत्वहरूको अध्ययन नगरी प्रभावकारी नीतिगत हस्तक्षेप गर्न सकिँदैन ।
यस्ता जटिल र स्थान-विशेष स्वास्थ्य समस्याहरूको अध्ययनका लागि ‘स्थानिक स्वास्थ्य अनुसन्धान’ (Spatial Health Research) अत्यन्त महत्वपूर्ण छ। भू-सूचना प्रविधि (GIS), स्याटेलाइट डेटा र स्थानिक सांख्यिकी प्रविधिको प्रयोगले रोगको फैलावटको ढाँचा, जोखिम क्षेत्र र सम्बन्धित वातावरणीय कारकहरूको पहिचान गर्न सकिन्छ । यस्ता अध्ययनले केवल रोग नियन्त्रणमा मात्र होइन, नीति निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेल्छन्, तर दुर्भाग्यवश नेपालमा अझै स्थानिक स्वास्थ्य अनुसन्धनलाई पर्याप्त प्राथमिकता दिइएको छैन । बागमती प्रदेशमा फोक्सोको क्यान्सर र PM2.5 बीचको सम्बन्धबारे यो अनुसन्धान पहिलोमध्ये एक हो, जसले प्रदेशस्तरमा जोखिम क्षेत्रहरूको स्थानिक चित्रण गरेर भावी अनुसन्धान, स्वास्थ्य हस्तक्षेप र नीति निर्माणका लागि मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ । यस्तो अनुसन्धानले केवल वैज्ञानिक समुदायका लागि मात्र होइन, नीति निर्माताहरू, जनस्वास्थ्य अभियन्ता र स्थानीय सरकारका लागि समेत व्यावहारिक उपकरणको रूपमा कार्य गर्नसक्छ ।
नेपालको वातावरणीय प्रदर्शन सूचकांक (Environmental Performance Index-EPI) मा २०० देशमध्ये १६२औं स्थानमा रहेको छ, जसले देशको हावाको गुणस्तर कस्तो स्तरमा रहेको छ भन्ने गम्भीर संकेत दिन्छ। विश्व स्वास्थ्य संगठनले रिपोर्ट गरेअनुसार नेपालको औसत PM2.5 स्तर १४० माइक्रोग्राम प्रतिघनमिटर (µg/m³) छ, जुन सुरक्षित मानकभन्दा १० गुणा बढी हो । यसले स्पष्ट संकेत गर्छ कि विशेष गरी बागमती प्रदेश जस्ता शहरी तथा अर्ध-शहरी क्षेत्रका बासिन्दा अत्यधिक जोखिममा छन् । यी क्षेत्रमा जनसंख्या घनत्व अत्यन्तै उच्च छ, धेरै मानिसहरू खुला क्षेत्रमा, सडकमा, निर्माणस्थलमा वा कृषि कार्यमा संलग्न छन् । औद्योगिक गतिविधि, सवारीसाधनको अत्यधिक प्रयोग तथा जैविक इन्धन जलाउने अभ्यासले प्रदूषणको मात्रा अझ बढाएको छ । यी सबै कारणले गर्दा जनसंख्या प्रदूषित हावासँग दिनहुँ सम्पर्कमा आउँछन्, जसले दीर्घकालीन रूपमा फोक्सोको क्यान्सर जस्ता जटिल रोगहरूको जोखिमलाई बढाएको छ ।
यस सन्दर्भमा रोगहरूको स्थानिक वितरणलाई बुझ्न र जोखिम क्षेत्रहरू पहिचान गर्न ‘स्थानिक स्वास्थ्य अनुसन्धान’ अत्यन्तै आवश्यक हुन्छ । पारम्परिक स्वास्थ्य अनुसन्धानहरूमा व्यक्तिगत वा जनसांख्यिकीय विवरणहरूमा केन्द्रित हुने प्रचलन छ, तर भू-अवधारणात्मक विश्लेषणको प्रयोगले रोग, वातावरण र भौगोलिक विशेषताहरूबीचको अन्तर्क्रियालाई स्पष्ट रूपमा देखाउन सम्भव बनाउँछ । भू-सूचना प्रविधि र रिमोट सेन्सिङ प्रविधिहरूको प्रयोगबाट रोगको फैलावट, जोखिम क्षेत्र तथा सम्भावित कारणहरू जस्तै: प्रदूषणको सघनता, जनसंख्या घनत्व तथा भौगोलिक अवरोधहरूको विश्लेषण गर्न सकिन्छ । यस्तो विश्लेषणले रोग नियन्त्रणका लागि लक्षित र प्रभावकारी नीति निर्माणमा ठूलो योगदान दिनसक्छ ।
त्यही कारण मेरो हालैको अनुसन्धान बागमती प्रदेशमा PM2.5 प्रदूषण र फोक्सोको क्यान्सरबीचको सम्भावित सम्बन्ध पहिचान गर्ने उद्देश्यले गरिएको हो । अध्ययनले सन् २०१२ देखि २०१९ सम्मको अवधिमा फोक्सोको क्यान्सरका घटनाहरूको स्थान र समयअनुसारको वितरणलाई मूल्याङ्कन गरेको छ । यसमा जोखिम क्षेत्रहरूको स्थानिक नक्सांकन गरी ती क्षेत्रमा कति मात्रामा PM2.5 को असर परेको छ भन्ने विश्लेषण गरिएको छ । साथै जनसांख्यिकीय अवस्था, शहरीकरण, भू-उपयोग र जीवनशैली जस्ता कारकहरू पनि समावेश गरिएको छ ।
नेपालको सन्दर्भमा विशेषगरी हिमाली तथा पहाडी भूभागमा यस किसिमको स्थानिक स्वास्थ्य अध्ययन पहिलो पटक गरिएको हो, जसले नेपालको स्वास्थ्य अनुसन्धान क्षेत्रमा एक नवीन प्रयासको प्रतिनिधित्व गर्छ । यस अनुसन्धानका निष्कर्षहरूले प्रदूषण नियन्त्रण, जनस्वास्थ्य रणनीति निर्माण तथा फोक्सोको क्यान्सर जस्ता दीर्घकालीन रोगहरूको न्यूनीकरणमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ । विशेषगरी बागमती प्रदेशका स्थानीय तहहरूमा जोखिमको स्तर के कस्तो छ भन्ने स्पष्ट जानकारी उपलब्ध गराई तिनलाई लक्षित गरी पूर्वसूचना आधारित हस्तक्षेप गर्न सकिनेछ । यसले दीर्घकालीन रूपमा नीति निर्माताहरूलाई वातावरणीय स्वास्थ्यमा आधारित योजना बनाउन मद्दत गर्नेछ । साथै जनतालाई पनि आफ्नो स्वास्थ्यसम्बन्धी जोखिमबारे सचेत बनाउने कार्यमा योगदान पुर्याउनेछ ।
बागमती प्रदेशमा फोक्सोको क्यान्सरको दरमा निरन्तर वृद्धि: एक दशकको गहिरो अवलोकन
भक्तपुर क्यान्सर अस्पतालबाट प्राप्त सन् २०१२-२०२१ को तथ्याङ्कले बागमती प्रदेशमा फोक्सोको क्यान्सरको घटनामा उल्लेखनीय वृद्धि भएको देखाउँछ । यीमध्ये १ हजार ३१५ पुरुष (६०.२%), ८६७ महिला (३९.७%) र १ जना तेस्रो लिंगी व्यक्ति रहेका छन्, जसले लैङ्गिक असमानताको पनि संकेत गर्छ । सन् २०१२ मा जम्मा ११९ बिरामी दर्ता भएका थिए भने २०२१ मा त्यो संख्या २७१ पुगेको छ, जुन १२७.७३% वृद्धि देखाउँछ । यस अवधिमा वार्षिक घटनादरमा औसत वृद्धिदर लगभग ८.५% रहेको देखिन्छ ।
CIR (Crude Incidence Rate) को विश्लेषणले बागमती प्रदेशमा औसत ५.१६ रहेको देखाएको छ । विशेषगरी सन् २०१९ मा यो दर उच्चतम विन्दु ६.८५ पुगेको पाइन्छ । SIR (Standardized Incidence Rate) को आधारमा काठमाडौं उपत्यकामा औसत दर ६.५६ रहेको छ । यी दरहरूले फोक्सोको क्यान्सर विस्तारै, तर निरन्तर रूपमा सार्वजनिक स्वास्थ्य संकटमा रुपान्तरण हुँदै गएको देखाउँछ । काठमाडौं उपत्यकाभित्र मात्र हेर्दा त्यहाँ ७७.०३% वृद्धि भएको पाइन्छ, जसले उपत्यकाका शहरी क्षेत्रहरूमा फोक्सोको क्यान्सर विस्तारै गम्भीर सार्वजनिक स्वास्थ्य समस्याको रूपमा उदाइरहेको देखाउँछ । सन् २०२१ सम्म काठमाडौं उपत्यकाको SIR पनि ७.८१ मा पुगेको छ, जुन प्रारम्भिक ४.९६ को तुलनामा लगभग दोब्बर भएको छ । यी परिणामहरूले फोक्सोको क्यान्सरको नियन्त्रण तथा रोकथामका लागि विशेष कार्यक्रम आवश्यक भएको स्पष्ट देखाउँछ ।

स्थानिक भिन्नता र जटिल भूगोलको जोखिम
स्थानिक तहमा फोक्सोको क्यान्सरको जोखिम समान रूपमा वितरित छैन । भक्तपुर नगरपालिका (CIR = २४३.८८), पाँचखाल नगरपालिका (१४६.३९) र सुनापती गाउँपालिका (१२९.६२) उच्च जोखिममा रहेको छ । यी नगरपालिकामा राष्ट्रिय औसतको तुलनामा क्यान्सरको दर निकै माथि छ । यसले जनस्वास्थ्य रणनीतिमा स्थानीय भिन्नताको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने खाँचो देखाउँछ । स्थानिक विश्लेषणले बागमती प्रदेशभित्र फोक्सोको क्यान्सरको घटनामा उल्लेखनीय असमानता देखाएको छ । काठमाडौं उपत्यकाका उच्च जनघनत्व भएका क्षेत्रहरूमा घटनाको कुल संख्या धेरै भए पनि जनसंख्याको तुलनामा दर भने तुलनात्मक रूपमा कम देखिन्छ। उदाहरणका लागि काठमाडौं महानगरमा दर्ता भएका बिरामीहरूको संख्या धेरै भए तापनि जनसंख्या आधार ठूलो भएकाले CIR भने कम देखिएको छ । उता राख्सिराङ (३.८५) र मरिण (३.४७) जस्ता ग्रामीण क्षेत्रमा क्यान्सरको घटना निकै कम देखिएको छ । यस्तो असमान वितरणले शहरीकरण, जीवनशैली, प्रदूषणको स्तर, स्वास्थ्य सेवा पहुँच र अन्य वातावरणीय कारकबीचको जटिल अन्तरसम्बन्धलाई सङ्केत गर्छ ।
Spatial Autocorrelation (Moran’s I) विश्लेषणले सन् २०१२ देखि २०१९ सम्म लगातार सकारात्मक स्थानिक सम्बन्ध देखाएको छ, जसले फोक्सोको क्यान्सर निश्चित भौगोलिक क्षेत्रमा समूहगत रूपमा केन्द्रित भइरहेको पुष्टि गर्छ । उच्च जोखिम भएका क्षेत्रहरू केन्द्रित hotspot हरू निर्माण भएको पाइयो, जुन विशेषगरी भक्तपुर, सिन्धुपाल्चोक र काभ्रे आसपास बढी देखिएको छ । Spatial Empirical Bayes Smoothing Method अपनाउँदा थप स्पष्ट रूपमा देखिन्छ कि भक्तपुर, पाँचखाल र काभ्रेका केही क्षेत्रहरू फोक्सोको क्यान्सरका उच्च जोखिम क्षेत्रका रूपमा उदाएका छन् । यो प्रवृत्तिले स्वास्थ्य सेवामा पहुँच, वायु प्रदूषण, धूमपानको दर, जीवनशैली तथा वातावरणीय जोखिमहरूबीचको जटिल अन्तर्क्रियालाई देखाउँछ । यस्तो भिन्नताले स्पष्ट गर्छ कि प्रदेशस्तरीय एउटै नीति पर्याप्त हुँदैन; नगर वा गाउँपालिकास्तरमै लक्षित रणनीति अपनाउनु अपरिहार्य हुन्छ ।

PM2.5 प्रदूषण र फोक्सोको क्यान्सर: बदलिंदो सम्बन्ध र स्थानिक प्रभावहरू
प्रदूषण र फोक्सोको क्यान्सरबीचको सम्बन्ध समय र स्थानअनुसार बदलिँदो देखिएको छ । हावामा PM2.5 (२.५ माइक्रोन भन्दा साना कणहरू) को मात्रा र फोक्सोको क्यान्सरबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि भएको छ । Getis-Ord Gi* Hotspot विश्लेषणअनुसार काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक र रामेछापमा क्यान्सरको उच्च घटना भएका क्षेत्रहरू समयक्रममा परिवर्तन हुँदै आएका छन् । यी क्षेत्रहरूमा PM2.5 को दीर्घकालीन प्रभावले क्यान्सर जोखिम बढाएको ठहर गरिएको छ । यी क्षेत्रहरूमा वायु प्रदूषणको समस्या र क्यान्सरको घटनादर दुवै उच्च रहेको पाइन्छ । चितवन, मकवानपुर र रसुवा भने अपेक्षाकृत चिसा क्षेत्रका रूपमा देखिएका छन्, जहाँ जोखिम कम छ ।
Geographically Weighted Regression (GWR) विश्लेषणले यो सम्बन्धलाई अझ प्रस्ट देखाएको छ। सन् २०१८ मा GWR को R² मान ०.५९४ पुगेको छ, जसले PM2.5 स्तरले क्यान्सरको ५९.४% जोखिम व्याख्या गरेको देखाउँछ । यद्यपि सन् २०१५ मा मात्र ०.२०४ R² पाइएको थियो, जुन सम्बन्ध कमसल थियो । समयक्रममा PM2.5 र फोक्सोको क्यान्सरबीचको सम्बन्ध झन बलियो हुँदै गएको छ । सन् २०१८ र २०१९ का तातो विन्दु (hotspots) विश्लेषणले वातावरणीय प्रदूषणको दीर्घकालीन असर बुझेविना क्यान्सर नियन्त्रण असम्भव देखाएको छ । काठमाडाैं उपत्यकालगायत बागमती प्रदेशका अरु घना बस्ती भएका क्षेत्रमा प्रदूषणका कारण जोखिम उच्च रहँदै गएको छ ।
यी तथ्यहरूले नीति निर्माताहरुलाई सुझाव दिन्छन् कि केवल औसत PM2.5 स्तर घटाउनुमात्र पर्याप्त हुँदैन, बरु उच्च जोखिम भएका स्थानहरूमा लक्षित र समयबद्ध हस्तक्षेप गर्नु अनिवार्य छ । विशेषगरी काभ्रे, भक्तपुर र सिन्धुपाल्चोक जस्ता स्थानहरूमा प्रदूषण नियन्त्रण, जनचेतना अभिवृद्धि र प्रारम्भिक क्यान्सर पहिचान तथा उपचारका कार्यक्रमहरू तीव्र रूपमा विस्तार गर्नु जरुरी छ ।
यस अध्ययनले बागमती प्रदेशका नगर तहहरूमा फोक्सोको क्यान्सरको घटनालाई विश्लेषण गर्दै PM2.5 प्रदूषणसँगको सम्भावित सम्बन्धलाई उजागर गरेको छ । प्राप्त नतिजाहरूले उमेर र लिङ्गका आधारमा क्यान्सरको जोखिममा स्पष्ट असमानता देखाएको छ, जहाँ वृद्ध र पुरुष जनसंख्या विशेष रूपमा उच्च जोखिममा छन् । स्थानिक र समयगत वितरणमा उल्लेखनीय भिन्नता र विषमता पाइयो । साथै बर्सेनि सार्थक र स्थायी तातो विन्दुहरू पत्ता लागेका छन् । PM2.5 र फोक्सोको क्यान्सरबीचको सम्बन्ध स्थिर नभई समयक्रमअनुसार परिवर्तनशील देखियो, जसले वातावरणीय जोखिमको जटिल स्वरूपलाई देखाउँछ । विशेषगरी काठमाडौं उपत्यका वरपर यस्ता जोखिमहरू उच्च घनत्वमा केन्द्रित भएको पाइन्छ ।
यी नतिजाहरूले नीति निर्माताहरू, स्वास्थ्य योजना बनाउने निकायहरू र वातावरणसम्बन्धी सरोकारवालाहरूलाई दीर्घकालीन, स्थानिक सन्दर्भअनुसार लक्षित रणनीति बनाउने स्पष्ट वैज्ञानिक आधार प्रदान गर्छन् । सरकारलाई फोक्सोको क्यान्सर न्यूनीकरणका लागि स्थान र समयअनुसारको जोखिम बुझ्न अत्यावश्यक तथ्यांक चाहिन्छ, जुन यस अध्ययनले प्रस्तुत गरेको छ । विशेष गरी PM2.5जस्ता पर्यावरणीय कारकहरूलाई समावेश गरेर गरिएको यस्तो स्पाटियो-टेम्पोरल अध्ययनले नेपालमा स्वास्थ्य असमानता र वातावरणीय अन्यायको पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्नसक्छ ।
समग्रमा फोक्सोको क्यान्सरको स्थानिक जानकारीको अभावमा यस अध्ययनले नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीमा ‘Geo-Health’ अन्तर्गत नयाँ अनुसन्धानको ढोका खोलिदिएको छ । स्वास्थ्य स्रोतको यथोचित वितरण, उच्च जोखिम क्षेत्रमा प्रारम्भिक जाँच तथा सचेतना अभियानका लागि यी निष्कर्षहरू मार्गनिर्देशक बन्नसक्छन् । तसर्थ अबको कदम वैज्ञानिक प्रमाणमा आधारित नीति निर्माण, स्थानीयस्तरमा लक्षित रोकथाम कार्यक्रम र वातावरणीय जोखिम न्यूनीकरणमा केन्द्रित हुनु आवश्यक देखिन्छ ।
geo.bneupane@gmail.com
(भूगोलविद् न्यौपाने चीनस्थित युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस मा विद्यावारिधि गर्दैछन् ।)

Leave a Reply