काठमाडौं । पचासको दशकमा उदाएकी प्रतिभाशाली कवि हुन् कविता राई गाउँले । हाल इलाम पशुपतिनगरमा रहेर कविता कर्ममा निमग्न उनको कविता सरल र सम्प्रेषणीय हुन्छन् । भावमा गहिराइ र शालिन नारीत्व उनको काव्यिक विशेषता हो । दशगजामा बसेर भारतीय नेपाली साहित्य र नेपाली साहित्यको सम्बन्ध सेतु बनिरहेकी उनै कवि गाउँलेको कवितासंग्रह ‘फाटकमा घाम’ सार्वजनिक भएको छ ।
‘फाटकमा घाम’कै सन्दर्भमा उनै कवि कविता राई गाउँलेलाई अर्का कवि एवं निबन्धकार प्रकाश थाम्सुहाङले पाँच प्रश्न सोधेका छन् । प्रस्तुत छ कविलाई कविकै प्रश्नअन्तर्गत गरिएको वार्ताको सम्पादित अंशः
– पचासको दशकबाट काव्य साधनारत तपाईंले कृति निकाल्न भने ढिलो गर्नुभयो । यो अलमलको कारण के होला ?
सर्वप्रथम त कविता लेख्न सुरु गर्दा संग्रहबारे केही सोच नै पलाएको हुँदैन । जस्तो प्रेममा पर्दा विवाहसम्मको यात्रा सोचिएको हुन्न नि ! त्यस्तै (हाँसो) । संग्रह आउन किन अलमलमा परियो भने कविता लेख्न सुरू गर्दा अविवाहित थिएँ । विवाहपछि जिम्मेवारीहरू स्वतः बढ्दारहेछन् । अझ नारी भएपछि प्रकृतिको निरन्तरतालाई अँगाल्दै अघि बढ्दा कविता कहिले मेरो पछाडि पर्यो त कहिले मेरो अगाडि । त्यसैले संग्रह आउन अलि ढिला भयो ।
– हल्ला, विज्ञापन, गुटबाट पर सीमान्तमा चुपचाप कविता लेख्नुहुने तपाईं ‘फाटकमा घाम’ पाठकले हल्ला गरेर कि चुपचाप पढून् लागिरहेछ ?
जहाँसम्म मलाई लाग्छ, कविता कुनै नारा होइन । त्यसैले ‘फाटकमा घाम’ पाठकले चुपचाप पढून् भन्ने लागिरहेको छ । किनकि म कवितामा राजनीति लेख्न खास्सै रुचाउँदिनँ । कविताको विषय राजनीतिबाहेक अरु पनि हुन्छन् । म कवितामा खहरेभन्दा नदी बगाउन चाहन्छु । कविताको नदी क्षणिकभन्दा युगयुग बगाउन चाहन्छु ।
– ‘फाटकमा घाम’भित्र समाविष्ट कविताहरू सरल, बोधगम्य लाग्छन् । कोमलता साथै भाव गहिराइ कविताका विशेषता लाग्छन् । सरल, तर गहिरो कविता लेख्नु कठिन यात्रा हो । तपाईंले यो यात्रा कसरी गरिरहनुभएको छ ?
स्वभावैले कविहरू कोमल हुन्छन् र म पनि अलि ज्यादै कोमल छु जस्तो लाग्छ । हुन त मेरा कविताहरू सरल हुनुको कारण यतिमात्रै पक्कै होइन, तर मलाई लाग्छ, कविता पढ्दा दिमाग खियाउन नपरोस् । जस्तो कि गहिराइसम्म पुग्नलाई आफैं पौडिएर पुग्नुको मज्जा बेग्लै हुन्छ ।
– तपाईंका कविताले राजनीति गर्दैनन् भन्ने प्रश्नलाई के जवाफ दिनुहुन्छ ?
कविता मौन आवाज हो, जुन हृदयले मात्र सुन्नसक्छ । राजनीतिको बाटो एउटै हुन्छ, तर कविताको बाटो हजार हुन्छन् । त्यसैले कविता र राजनीतिको यात्रा कुनै न कुनै परिवेशको अप्ठेरोतिर अघि पछि हुनपुग्छ, तर कविताले राजनीतिको हात समाउनुपर्दैन । किनकि कविता आफैंमा शक्तिशाली विधा हो ।
– सिमानामा बसेर भारतीय नेपाली कविताको सूक्ष्म अध्ययन गरिरहनुभएको छ । सीमापारि र वारिका कवितामा के समानता र अन्तर पाउनुभयो ?
सीमापारि र वारिका कविताहरूमा पहिचान र सर्वभौमिकताको विषयबाहेक प्रायः समान नै पाउँछु । किनकि भावनाले उन्ने भनेको जीवन र जगतबीच घट्ने उस्तै उस्तै श्रृंखला नै त हुन् । यद्यपि यताका कविताहरू अलि संवेदनशील र हस्तक्षेपी लाग्छ भने उताका कविताहरूबाट निस्किने आवाजमा विद्रोह थोरै मलिन हो कि जस्तो लाग्छ ।

Leave a Reply