बाटो त बनिरहेको छ, अनि देश ?

जेठ दोस्रो साता काठमाडौं छोडेर पूर्व लाग्दै गर्दा बीपी राजमार्गको उधुम चिन्ता थियो, क्षतिग्रस्त खण्ड कसरी पार गर्ने भनेर । धुलिखेल छिचोलेर ओह्रालो लाग्दै गर्दा चिन्ता पीरमा विकसित भइरहेको थियो ।

असोजमा गएको अकल्पनीय बाढीका कारण क्षतिग्रस्त भएको सो सडकमा त्यसै बेला मुख-मुख आएको दशैँमा गाडी चल्ने-नचल्ने बडो संशय थियो । तर जसरी सोच्दै नसोचेको बेला बाढी गयो उसैगर सोच्दै नसोचेको ढंगले तुरुन्त मर्मत भई यातायात पनि सुचारु भएको थियो । बाटोको चिन्ता र पीर त्यस बेला भागिसकेको रहेछ, जुन बेला हामी सिन्धुली प्रवेश गरेर आरुबखडा र जुनारले ज्यानमा पुनर्ताजगी भरि रहेका थियौँ ।

वर्षा याम शुरू हुँदै गरेकाले उर्लिएर आउने सुनकोसीले कति बेला सडकलाई निल्ने हो भन्ने पीरले काठमाडौं र पूर्वी नेपालको आउ-जाउ धुकचुकको विषय बन्न थालिसकेको छ ।

तर, जब क्षतिग्रस्त सडकको उबडखाबड पार गर्दै अघि बढ्दा किनाराभरि ग्राभेल उधिन्न र बाटो बनाउन व्यस्त श्रमिकहरू भेटिए, टिपरका ताँतीहरू पहरो घन्काउने गरी हर्न बजाउँदै अघि लागे अनि निम्छरो बनेको आशा र विश्वास जवान बन्दै हुर्किन थाल्यो । ठाउँ ठाउँमा दर्जन भन्दा बढी डोजर, लोडर, एक्स्काभेटर बाटो बनाउन र सम्याउन मग्न थिए ।

काठमाडौंलाई पिठ्यूँ देखाएर सप्तकोसी भेट्न लम्किएको सुनकोसीकै गतिमा सयौँ साना ठूला सवारीसाधन सललल अघि बढिरहेका थिए । बढ्दै गएको गर्मीलाई छलेर काठमाडौंको शीतल बतास भेट्न हतारिएका गाडी र बटुवाको गति पनि उही थियो ।

आखिर देश भनेको पनि त नागरिक, भूगोल, पूर्वाधार, पर्यावरण आदि आदिको समष्टि त हो नि, होइन ? बीपी राजमार्ग क्षतिग्रस्त थियो तर नागरिकको गति तेज थियो । भूगोल तथा पूर्वाधार क्षतिग्रस्त थियो तर फेरि उभिने र जाग्ने आशा बलशाली बन्दै थियो । पर्यावरण प्रदूषण, चर्को ध्वनि र धुलो खेप्न बाध्य थियो तर पुनर्जीवन पाउने भरोसामा शान्त थियो । खासमा त्यहाँ बाटोमात्रै बन्दै थिएन, नागरिकका आशा र भरोसा हुर्किने जग पनि उभिँदै थियो ।

कहिले रौद्ररूप धारण गर्ने रोशी अनि शान्त र सललल बग्ने सुनकोसी । पारिपट्टि रामेछापका काख र कोखभरि हुर्किएको लोकमार्ग । खण्डहरबाट उठ्दै गरेका बस्ती र आशा कोरल्दै गरेका सडक किनाराका व्यवसायी । डोका भरि मेहनतको उपज सहर पठाउन आएका किसान । दृश्यावलोकन, संवाद, मनोवादसँगै दिन साँझको पोल्टामा छिर्दै गर्दा बागमती प्रदेशले बिदा लिई सकेको थियो ।

कोशीको कटारी पुग्दा बिहान अबेर शुरू भएको यात्रालाई बिट पार्नु पर्ने परिस्थित बन्यो । बाटो खत्तम होला, बिग्रिएको होला, गाडी कसरी चल्छ होला भन्ने भ्रमबाट शुरु भएको त्यो दिन बाटो मात्रै होइन देश पनि बनिरहेको छ भन्ने भरोसासँगै अन्त्य भयो ।

नयाँ बाटो, नयाँ आशा

बाटोले गन्तव्य मात्र पहिल्याउन सहयोग गर्दैन । नयाँ आशा र सम्भावनाका क्षितिजहरू पनि उघार्दै लैजान्छ । मलाई मिर्चैया-कटारी-घुर्मी सडक त्यस्तै लाग्यो । हिमाली काखको सोलुखुम्बूदेखि तराईको फाँट सिरहासम्म सोझो सम्पर्क स्थापित गर्ने यो सडक मलाई त्यस्तै क्षितिज उघार्ने नयाँ रुट थियो । यो राजमार्गले कोशी प्रदेशको पश्चिमी भूगोलमा आर्थिक समृद्धि र सडक सञ्जालको बिस्तारमात्र गर्ने छैन, विशाल जनसंख्या भएको भारतका पर्यटकको हलेँसी हुँदै सगरमाथा सम्मको यात्रालाई छरितो पनि पार्नेछ ।

‘हिमाल र पहाडका कृषि उपज सजिलै मधेश झर्ने छन्, मधेशका तीर्थालु र यात्रुहरू सजिलै पहाड र हिमाल उक्लिने छन् । यो बाटो यति धेरै सम्भावनाको ठाउँ छ कि यसलाई जति छिटो पूरा गर्न सकिन्छ, त्यति नै छिटो यहाँका नागरिकको जीवनमा प्रभाव र परिवर्तन देखिने छ,’ कटारीको प्रवेशद्वारमा एक थान फोटो खिच्दै गर्दा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवारले भने ।

केही दिनअघि उदयपुर र खोटाङलाई जोड्ने फोक्सिङ्टार पारी सडक स्तरोन्नति कार्यको शुभारम्भमा आउँदा सो सडकका आयोजना प्रमुख पशुपति ज्ञवाली पनि भन्दै थिए, ‘कतिपय पूर्वाधारमा लगानी गर्दा प्रतिफलको मात्र आशा नगरी सुविधाको कुरा पनि हेर्नु पर्छ, तर यो बाटोमा गरिएको लगानीको प्रतिफल बाटो बनेको भोलि देखिनै प्राप्त गर्न सकिन्छ । एक हिसाबले यो बाटो पूर्वी नेपाल, मधेश र काठमाडौ जोड्ने लाईफलाईननै हो ।’

कटारीलाई बिदा गर्दै ओह्रालो झर्दा बिहानीको उमेर नपुगेकै भए पनि घामले जवान रूप प्रकट गर्न थालिसकेको थियो । ठाउँ ठाउँमा केही अलपत्र र केही निर्माणाधीन पुल र कलभर्टहरूको अवलोकन गर्दै बाटो छोट्याउँदा चुरेको हरियाली र मनमोहकताले जवान बन्दै गरेको घामको राप र तापको प्रतिरोध गर्ने प्रयास गरिरहेको थियो ।

‘हाम्रा पूर्वाधारहरूको निर्माणलाई प्रभाव पार्ने धेरै फ्याक्टरहरू छन्,’ सडक इन्जिनियरिङमा वरिष्ठता हाँसिल गरेका मौवार भन्दै थिए, ‘कतिपय ठाउँमा हाम्रो देशको भौगोलिक धरातल चुनौती बनेर देखा पर्छ । केहीलाई मौसमी जोखिम र प्राकृतिक विपत्तिले थला पार्छ ।

निर्माण कम्पनीबाट हुने ढिलासुस्ती, कतिपयमा हुनु पर्ने नियमन र अनुगमनको अभाव, कहिले हाम्रा कानूनी जटिलताहरूले पनि हामीलाई चाहे जसरी काम गर्न दिँदैन । तर, यसो भन्दैमा हामी निराश हुनु पर्ने अवस्था छैन । पछिल्लो २ दशकको मात्रै पनि मुल्याङ्कन गर्नु हुन्छ भने हामीले पूर्वाधार निर्माण र सडक सञ्जालको बिस्तारलाई नयाँ आयाम दिएका छौँ ।’

संवाद, भलाकुसारी, समीक्षासँगै चुरेको फन्को मार्दै अघि बढेको यात्राका क्रममा कतिपय स्थानहरूमा सडक र संरचनाहरू निर्माण भइरहेका थिए । केही अलपत्र संरचनाहरूले भने मन अमिलो पार्थे र फेरि चर्किँदै गएको घाममा सडक किनारामा काम गरिरहेका श्रमिकहरूको मुस्कान र उज्यालो चेहराले उचाइ लिँदै गरेको ताप भन्दा तेजिलो आशाको ज्योति देखाउँथे ।

हो, कतिपय वर्ष दिनमा सकिनुपर्ने संरचना दशक हुँदा पनि पूरा भएका छैनन् । कयौँ संरचना अलपत्र परेका छन् । एउटा पुस्ताले देखेको सपना अर्को पुस्तामा पुस्तान्तर हुनुपर्ने अवस्था पनि छ । तर निराशा र नकारात्मकता मात्र छर्नेहरूले भने जस्तो देशमा केही भएन, हुँदै भएन, देश बनेन भन्ने जस्तो मात्र पनि त होइन ।

थला परेका संरचनाहरू तङ्ग्रिँदै छन्, अलपत्र बनेका सडकहरू बनिरहेका छन्, भत्किएका पुलहरूले नयाँ स्वरूप पाउँदै छन् । दूरी घटिरहेको छ, सम्पर्क र सम्बन्धहरू नजिक भइरहेका छन् ।

३ दशक सडक विभागमा बिताएका सहयात्री गणेश पौडेल भन्दै थिए, ‘अहिले यो बाटो बनेन, अलपत्र भयो भनेको धेरै सुनिन्छ । हुन त हो पनि, जति छिटो बन्नु पर्ने थियो, त्यति छिटो चाहिँ बनेन तर यतिको अवस्थामा ल्याइपुर्‍याउन पनि कम्ता दुःख गरिएको छ । सरकार र नागरिकको ठूलो मेहनत पछि यो बाटो यतिको भएको हो नि, आफैँ बनेको हो र ? कोठामा बसेर देश बनेन भन्नेहरूले देख घुम्नु पर्छ, विगतको अवस्थाको समीक्षा गर्नु पर्छ । अनि आफैँ थाह हुन्छ, देश बनेन कि बनेको देख्न खोजिएन भनेर ।’

उनको टिप्पणीमा एक प्रकारको आक्रोश थियो, अनुभूति थियो । सबैभन्दा ठूलो कुरा उनको अभिव्यक्तिमा एउटा आशा थियो, देश बनिरहेको छ ।

यात्राको थकान, सन्‍न्यासीको संगत

चुरे नाघेपछि सडक किनारामा हाँसिरहेका आँपको बगानले मिर्चैया नजिकिएको संकेत गरिरहेका थिए । लहान-मिर्चैयाका आँप सम्झिएर मुखै रसाउने । तर, पाकिनसकेकाले चाख्नलाई हतार गरिएन ।

पूर्वपश्चिम राजमार्ग आइपुगिएछ । ठाउँ-ठाउँमा पूरा भएको एसियन हाईवे स्तरको राजमार्ग । झ्यालबाट छिर्ने बतासमा मिसिएर आउने आँपको सुवाससँगै यात्रा ऊर्जाकृत थियो । फराकिलो सडकको मध्यभाग सजाउन ठाउँ ठाउँमा टाँगिएका तोरण र तुल । तेजिलो भएको घामसँग जोरी खोज्दै बहने उस्तै तेजिलो बतास अनि त्यही बताससँग रमाएका तोरण र बुट्यानले आशा मर्न दिएन ।

विशाल उपकरणहरू सहित धमाधम फराकिलो बनिरहेको सडक, ठाउँ ठाउँमा बेपत्तासँग उडिरहेको धुलो, सडककै मध्यभागमा चलिरहेको बजार, सडककै किनारामा लागेको अन्न र परालको बिस्कुन, सम्याइन नभ्याएका खाल्डाखुल्डी, गाडीको तेज हर्नलाई नटेरी बाटो काट्ने चौपायाका हुल, केही स्याहार नपुगे जस्ता-पूरा नभए जस्ता नाली र कलभर्ट । यी सबै थिए सडकमा । तर, यति हुँदाहुँदै पनि बलियो गरी उभिएको अनुभूति थियो, बाटो बनिरहेको छ, बाटो यही देशको हो । त्यसैले देश पनि बनिरहेको छ ।

लाहान पुगे पछि दिशा बदलियो । मौवारले भने,‘आज म यस्तो दिव्य ठाउँमा लान्छु कि, तपाईँको थकान सबै भागिहाल्छ । मन प्रफूल्लित हुन्छ ।’ कहाँ-कसो मैले धेरै चासो नराखी सहमति जनाएँ, ‘मनै प्रफुल्लित हुन्छ भने किन नजाने त ?’ राजमार्ग छोडेर बाटो मोडिए पछि आयो चौरस्ता, चौरस्ताबाट फेरि मोडियो गाडी । मूल सडकलाई छोडेरै किनारै किनार लागे पछि एउटा बुट्यान र रुखहरूले छोपिएको ठाउँमा गाडी रोकियो ।

जता जता मौवार, उतै उतै हामी । फलामे ढोकाबाट छिर्नुअघि नै उनले दुई हात जोडेर नमस्कार बिसाए । हामीले पछ्यायौँ मात्र । भित्र पुग्न साथै देखिए लिचीको छहारीमा बसेका एक लामो दाह्री भएका लालवष्त्रधारी पुरुष । आ-आफ्ना ढंगबाट श्रद्धा र अभिवादनपछि बस्ने अनुमति प्राप्त भयो ।

त्यो ठाउँ रहेछ, ओशो माधुर्य ध्यान केन्द्र । तस्बिरमा देखिने सेतै फुलेको लामो दाह्री भएका स्वामी ओशो झैँ देखिने ती लालवष्त्रधारी पुरुष रहेछन्, ज्ञान केन्द्रका प्रमुख स्वामी ज्ञानसाहिल । ध्यान केन्द्रको पर्यावरणले अघिल्लो दिन देखिकै यात्राको थकान मधुरो बनायो । वरिपरि रुख बुटाले ढाकिएको, शीतल बतासको स्पर्श, बोटबाट टिप्दै खान पाइएका लिचीको स्वाद, नजिकै गाई रहेका चराहरूको गीत ।

अनि भलाकुसारीका विषय : जीवन-मृत्यु, लोक-परलोक, दुःख-आनन्द, जन्म-पुनर्जन्म आदि आदि । दिन मध्य भइसकेको थियो । खाजा नखाई शुरु भएको यात्राका कारण भोक र थकान जाग्नु स्वभाविक थियो । तर केहि बेर सन्यासीसँगको संगत र संवादले भोक र भोगका बारेमा धेरै घोरिन पनि दिएन । आफैँले लेखेको एक थान पुस्तक श्रद्धापूर्वक हस्तान्तरण गरेँ, स्वामीबाट स्वामी ओशोको एकथान पुस्तक प्रेमपूर्वक प्राप्त भयो । अनि लागियो, भोक व्यवस्थापनका लागि ।

सडक डिभिजन कार्यालय लाहानका प्रमुख आशुतोष कर्ण सार्वजनिक सम्पत्तिको संरक्षण, रुग्ण आयोजनाहरूको व्यवस्थापन र थालिएका सडक योजना पूरा गराउन ताकेताका लागि कार्यस्थलमा पुगेका रहेछन् ।

उनी आएपछि लाहान डिभिजन कार्यालय परिसरमा आँपको बुटामुनि थकान मेटियो । अनि भेटिए रसिक निरज शाक्य । उनी पूर्वपश्चिम राजमार्ग विस्तार आयोजनाका त्यहाँका कार्यालय प्रमुख रहेछन् । गीत संगीतमा हुरुक्कै हुने उनका केही भाका सुन्दा निख्रिएको थकान शून्यमा झर्‍यो । अनि शुरु भयो यात्राको अर्को चरण ।

‘कलिङ’ राजविराज

मलाई राजविराजले बोलाइरहेको थियो । पटक-पटक जम्का गर्दा पनि पुग्न नसकेको, इतिहास बोकेको राजविराज । राजविराज पुग्न मभन्दा आतुर थियो मेरो मन । कारण सुन्दै र पढ्दै आएको यसको इतिहास हो । पढेको कुरा हो, टाउन प्लानिङ गरेर बसाइएको राजविराज नगरपालिका तराईको सबैभन्दा पहिलो र नेपालको चौथो शहर हो ।

वि.सं. १९९४ तिर सप्तकोसी नदीले पुरानो सदरमुकाम हनुमान नगरलाई कटान गर्न थाले पछि सदरमुकाम अन्यत्र सार्न उपयुक्त ठाउँको खोजी हुन थाल्यो । तत्कालीन बडाहाकिम प्रकाश शमशेर जबराले उपयुक्त ठाउँ खोजेर सहर बसाउने जिम्मेवारी ख्याति प्राप्त इन्जिनियर डिल्लीजङ्ग थापालाई सुम्पेका थिए । उनले आफ्नो जमिनन्दारी मौजा रहेको जोलहरी मलेठ गाउँनजिकैको राजपुर मौजामा सदरमुकाम बसाउने निधो गरे ।

त्यस बेला सुन्दर सहरको रूपमा प्रसिद्धि पाएको भारतको जयपुर सहरको नक्सा बमोजिम टाउन प्लानिङ गरी वि.सं. १९९८ मा राजविराज शहर बसाइयो भनेर बारम्बार पढिएको कुरा हो । इतिहासको यकिन इतिहासकारहरूको कोणबाट होला तर जे भए पनि दन्त्यकथाको अलकापुरीझैँ कल्पिँदै शुरु भयो लाहानबाट राजविराजको यात्रा ।

कटारीबाट मिर्चैया र लाहान छोड्दै गर्दा चोक बाटामात्र होइन, यात्राका सहयात्रीहरू पनि पछि पर्दै थिए । वरिष्ठ इन्जिनियर विनोदकुमार मौवारलाई लाहानै छोडेर हुलाकी राजमार्ग भेट्टाउन चालक विष्णुले गाडीको गति बढाए । सडक किनारामा झपक्कै झुलेका रुख बुटाको छहारी छिचोल्दै हुलाकी राजमार्ग पुग्दा राजविराज नजिकिएको भान भयो ।

बाटो भए व्यापार, व्यापार भए व्यभार

तत्कालीन समयमा सगरमाथा अञ्चलको मुकाम राजविराज मध्यान्हमा पुग्दा मानसपटलको राजविराज आँखै अघि आयो । केही सरकारी कार्यालयहरू पुरानो मुकामको प्रमाणका रूपमा थिए । विमानस्थलतर्फ लागिएन । मध्य बजारको उत्तरतर्फ रुखको सयँलमा भेटिए हातमा नाइलन झोला बोकेका रामाजी मण्डल ।

रामाजी भन्दै थिए, ‘हुलाकी बाटो बन्यो र त राजविराज, राजविराज भयो । नत्र यहाँका मान्छे धेरै बाहिर गई सकेका थिए । बाटो भए त व्यापार गर्ने हो, नत्र के व्यापार ?’ बनौलीबाट साइकलमा व्यापारका लागि आएको बताउने अर्धशतक संघारका उनले व्यापार त खुलाएनन्, तर थपे, ‘व्यापार त जे गरे भो नि, अहिले बाटो छ । बजार छ । मान्छे छ । सब छ नि ! यो बाटो नबन्दाको हालत के थियो ? थाहै होला त होइन ? बाटो भए व्यापार चल्छ, व्यापार चले व्यभार पनि त चल्छ ।’

२०२० को दशकसँगै पूर्वपश्चिम राजमार्ग विस्तार भयो । राजमार्ग विकास र विस्तारसँगै नयाँ शहरहरू उदाए । चौडा र विस्तारित सडक नभएका दक्षिणी गाउँका बासिन्दा राजमार्ग आसपासका बजारमा खनिए । मैले सबैभन्दा बढी सुनेको र केही देखेको हुलाकी राजमार्गमै पर्ने झापाको गौरीगञ्ज बजारको कथा पनि यस्तै यस्तै हो । कुनै बेलाको पूर्वी नेपालकै आर्थिक गतिविधिको केन्द्र बनेको भद्रपुरको व्यथा पनि उस्तै-उस्तै हो ।

पूर्वपश्चिम राजमार्ग निर्माणकै आसपासको बेला पहाडी जिल्लाहरूबाट तराई झर्नेको क्रम पनि बढ्यो । अनि नयाँ राजमार्गका बस्तीहरू चोक बने, चोकहरू बजार बने, बजारहरू शहर । शहर विकास भएसँग आर्थिक गतिविधिहरू त्यतै केन्द्रित भए । राजनीतिक र क्षेत्रीय आन्दोलनहरूले पनि कतिपय शहरहरू स्तब्ध बने । तर, मदन भण्डारी, पुष्पलाल अनि हुलाकी राजमार्गको बिस्तारसँगै विकास हुँदै गएका शहरहरूले आशालाई तंग्र्याइरहेका छन् ।

दमकले थपिएको चमक

राजविराजलाई बिदा गर्दै गर्दा हामी चियाका अम्मलीहरूलाई सामूहिक तलतल लागिसकेको थियो । कतै शान्त ठाउँमा पुगेर चिया पिउनेमा एकमत भयो । कतै झुरुप्प बस्ती, कतै फराकिला फाँट । कतै पतपती धुवा उडाइरहेका इँटाभट्टाका चिम्नी नियाल्दै ग्राभेल सडकबाट यात्रा छोट्याउँदै गर्दा एउटा पुरानो घुम्तीको टेबुलमा तेलको टिन काटेर बेरा लगाई चिया पकाउँदै गरेको दृश्यले लोभ्यायो । झ्याप्पै ब्रेक हानेपछि हामी सोझै लाग्यो सोही चिया पसलमा ।

‘चिया खाऊँ न है । तीन ओटा, रंग कडा चिनी कम’ गणेश सरको आग्रहसँगै ‘बस्नुस् न’ भन्ने मिठो आग्रह आयो । सुतीको गुन्यूले टाउको ढाकेर दूध उमाल्दै गरेकी साहुनी हाम्रा अनुहार र गाडीतिर पुलुक्क पुलुक्क हेरिरहेकी थिइन् ।

स्यान्डो लगाएका ख्याउटे ज्यान भएका अधबैँसे चिया पकाउने टेबुल नजिकैको बाँसको खाँबोमा आएर अढेस लागे अनि सोधे, ‘कहाँबाट हो, दाइहरू ?’ चालक विष्णुले जवाफ दिए, ‘दमक । दमक बाट हो । पुग्नु भएको छ ?’ अघिनै देखि खासै नबोलेकी चिया पसलकी साहुनीको अनुहारमा एकाएक चमक आयो र आश्चर्यजनक रूपमा थपिन्, ‘दमक ?’ उता स्यान्डोवाला पुरुष झनै नजिक आए । उनीहरू दम्पती रहेछन्, मुखामुख गरे ।

राजविराजमा रामाजीले भनेका थिए, बाटो भए व्यापार चल्छ, व्यापार चले व्यभार । अनि जिवछको जवाफले प्रष्ट्यायो, बाटो बने पछि गरिखान गाउँ छोड्नु पर्दैन । बनेको बाटोले परदेशिएकाहरूलाई बोलाउँछ ।

‘अरे दमक, कसरी नजान्नु दमक । सारा जवानी बित्यो त्यहाँ’ आधा निधारसम्म छोपेको घुम्टो माथि उचाल्दै जवाफ दिँदा ती महिलाको अनुहारमा कान्ति छायो ।

‘२० वर्ष रिक्सा चलाएर बसेछु दमक । लाइफलाइन अस्पतालको छेवैमा’ ती पुरुषले भन्नसाथ महिलाले थपिन्, ‘सब केटाकेटी त्यहीँ हुर्किएको हो ।’ अनि विभिन्न नाम, रूप, चेहराका रिक्सावालहरूका प्रसंग निस्किए । अनि प्रश्न गरेँ, तपाईँको नाम चैँ के हो ? स्यान्डोबाट हात छिराउँदै पेट कनाएर अचम्मको जवाफ दिए, ‘नाम खास के सोध्नु हुन्छ ? दमकको कुनै पुरानो रिक्सावाललाई सोध्नु कि मत्तुभैया को हो भनेर ।’

उनको जवाफले हरहरी बाफ उडेको चिया मुखमा पुगेको मात्र के थियो, झण्डै सर्कियो । ‘किन यस्तो नाम भन्नु भएको ? मत्तु भनेको राम्रो हो र ? खास नाम चाहिँ के हो नि ?’ जवाफमा उनले प्रस्ट्याए, ‘मेरो नाम त जिवछ मण्डल हो । तर, कसैले चिन्दैन यो भन्दा । बरु मत्तुभैया भन्दा सबैले चिन्छ । तब नचिन्ने नाम किन भन्नु ? त्यसैले चिन्ने नाम भनेको नि ।’ मैले यो नामको मान्छे भेटेँ भनेर कसैलाई भने वा केहीमा लेखे भने तपाई रिसाउनु हुन्न ? मैले पुनः प्रश्न गरेँ, उनले जवाफ सहजै दिए, ‘म त्यो बेला खुब मात्थेँ त्यही त मत्तु भन्थे सबैले । मेरो नामै उही भयो । मेरो चिन्ने नाम भन्दा अब म किन रिसाउँ ?’

श्रीमती पनि गफिन खोज्दै थिइन्, ‘त्यो बेला त यो मान्छे बहुतै मात्ने । २० वर्ष बसे पछि दमक छोडेको ६ वर्ष हुन लाग्यो । अचेल चैँ अलिक कम पिउँछ ।’ अनि तपाईँको नाम ? ‘गुडिया देवी’ उनको छोटो जवाफ पछि जिवछलेनै थपे, ‘पहिले यहाँ बाटो थिएन । रिक्सा पनि कुदाएर गरिखाने उपाय थिएन । अनि काम खोज्दै दमक पुगेँ र उसलाई पनि लगेँ । अचेल त यहाँ पनि बाटो बन्यो । यहीँ पनि रिक्सा चलाउन पाइयो । सिटी कुदाए पनि हुन्छ । त्यही भर फिरेको दमकबाट ।’

राजविराजमा रामाजीले भनेका थिए, बाटो भए व्यापार चल्छ, व्यापार चले व्यभार । अनि जिवछको जवाफले प्रष्ट्यायो, बाटो बने पछि गरिखान गाउँ छोड्नु पर्दैन । बनेको बाटोले परदेशिएकाहरूलाई बोलाउँछ । साँच्चि, अहिले देशै भरी बाटो बन्ने र बिस्तार हुने क्रम चलिरहेको छ । बाटो आखिर बटुवाको बाटो काट्ने रेखामात्रै होइन गरिखान आधार भेटाउने माध्यम पनि हो रहेछ क्यारे ।

अहिले धेरैले निराशा व्यक्त गरिरहेको सुनिन्छ, देश बनेन-बन्दै बनेन भन्ने । तर, देश घुम्दा देखिन्छ बाटोहरू बनिरहेका छन्, बाँधहरू उभिइरहेका छन्, सुरूङहरू छेडिइरहेका छन् । अब बाँकी छ त यिनको उपयोग गर्दै जीवनस्तरमा परिवर्तन ल्याउन, आफ्नै ठाउँमा गरिखाने जग बसाल्न ।

देश बनेन-बन्दै बनेन भन्नेहरूलाई प्रश्न गरौँ झैँ त लाग्यो, के देश बनेन-बन्दै बनेन ? तर सोध्ने कोही थिएन त्यहाँ । अनि लागियो हनुमान नगर कंकालिनी- ७ स्थित जीवछ र गुडियादेवीलाई धन्यवादसहित कोशी ब्यारेज पहिल्याउँदै उत्तर-पूर्व ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *