माधवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारको पत्र संसद सचिवालयमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका सांसद माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको पत्र संसद सचिवालयमा पुगेको छ ।

पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ताको जानकारीसहितको अख्तियारको पत्र प्राप्त भएको संसद सचिवालयले जनाएको छ ।

अख्तियारले रौतहटबाट निर्वाचित सांसदविरुद्ध ‘हदभन्दा बढी जग्गा खरिब बिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको’ मुद्दा दर्ता गरिएको जानकारी गराएको छ ।

नेपालको सांसद पद अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐनको प्रावधानअनुसार मुद्दाको किनारा नलागुञ्जेल स्वत: निलम्बनमा परेको छ ।

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो मुद्दामा अन्य ९२ जना प्रतिवादी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *