बेंगलुरु । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले आईपीएल २०२५ को फाइनलमा पञ्जाब किङ्ग्सलाई हराएर पहिलोपटक उपाधि जितेपछि बेंगलुरुमा आयोजित विजयी जुलूसमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
यो घटना चिन्नास्वामी स्टेडियम नजिकै भएको हो, जहाँ हजारौं समर्थकहरू आरसीबीको ऐतिहासिक जीतको उत्सव मनाउन भेला भएका थिए ।
प्रत्यक्षदर्शीहरूका अनुसार जुलूसमा सहभागी हुन ठूलो संख्यामा भीड जम्मा भएको थियो । स्टेडियम बाहिर प्रवेश गर्न खोज्ने समर्थकहरूको भीडले स्थिति नियन्त्रण बाहिर गएको थियो ।
प्रहरी स्रोतका अनुसार अचानक भएको भागदौडमा केही व्यक्ति लडेर च्यापिए, जसका कारण १०जनाको ज्यान गएको पुष्टि भएको छ । अन्य धेरै घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
स्थानीय प्रहरीले घटनास्थलमा तत्काल उद्धार कार्य सुरु गरेको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याइएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अपर्याप्त व्यवस्था भएको स्वीकार गरेको छ र घटनाको छानबिन सुरू गरिएको छ ।
आरसीबीका एक समर्थकले भने, ‘हामी सबै उत्साहित थियौं, तर यस्तो दुःखद घटना हुन्छ भन्ने कसैले सोचेको थिएन । यो जीतको खुशी अब शोकमा परिणत भएको छ ।’
विजयी जुलूसको आयोजना गरेको फ्रेंचाइजीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गरेको छ । आरसीबीले एक विज्ञप्तिमा भनेको छ, ‘हाम्रो टिमको जीतको उत्सवमा यस्तो घटना हुनु अत्यन्त दुःखद छ । हामी पीडित परिवारसँग छौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौ ।’
स्थानीय प्रशासनले भीड व्यवस्थापनमा कडाइ गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply