निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, भन्छन्– मेरो मूल्यांकन तपाईंहरु नै गर्नुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको प्रमुखबाट ६ महिनाको लागि निलम्बनमा परेका राजु पाण्डे निलम्बन पत्र पाएपछि कार्यालयबाट बाहिरिएका छन् ।

आज नियमित समयमा कार्यालय पुगेका हुन् दिउँसो निलम्बनमा परेपछि निस्किएका हुन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाको लागि निलम्बन गरेका छन् ।

गत चैत २१ मा भएको घटना (प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा अवरोध) का विषयमा छानविन गर्न जाँचबुझ समिति समेत बनाइएको छ ।

नेपाल प्रेससँगको फोन सम्पर्कमा पाण्डेले आफूमाथि गरिएको कारवाहीबारे खासै प्रतिक्रिया दिन चाहेनन् ।आफूले कार्यलयमै हुँदा निलम्बित भएको खबर पाएको र लगत्तै कार्यालयबाट निस्किएको उनले बताए ।

पाण्डेले भने, ‘मैले निलम्बनको चिठी पाएको छु । अब के गर्ने कसो गर्ने भन्नेबारे सोचेकै छैन ।’ आफ्नो आमा अहिले सिकिस्त बिरामी भएको पनि उनले सुनाए ।

‘मेरी आमा सिकिस्त विरामी हुुनुहुन्छ तीन–चार दिनदेखि दिनभरि ड्युटी र रातभरि अस्पतालमा आमा कुरिरहेको छु । यो कुरा सबैलाई थाहै थियो । अब ठिक छ । केही छैन,’ उनले भने ।

पाण्डे थप्छन्, ‘मैले जे गरेँ, सबैको सामु छर्लङ्ग नै छ । मेरो मूल्याङ्कन मैले गर्ने कुरा भएन । मेरो मूल्याङ्कन गर्ने जिम्मा तपाईंहरुलाई छोडिदिएँ मैले । मैले दिएको स्पष्टीकरण चित्त बुझदो भएन भन्ने छ । अब मेरो कुरा त्यही हो, चित्त नबुभ्mन पाइयो ।’
आफूले यस विषयमा मेयर बालेन साहसँग कुनै सिकायत नगरेको पाण्डेको भनाइ छ ।

उनले भने, ‘मैले यो विषयमा कसैसँग कुरा गरेको छैन । मेयर साबलाई पनि केही भनेको छैन ।’

आफूले व्यक्तिगत रुपमा कुनै गल्ती नगरेको उनको भनाइ छ । कर्तव्य पालनको क्रममा आफ्नो काम इमान्दारपूर्वक निभाएको प्रतिक्रिया दिए । कर्तव्य पालनाको क्रममा भएका घटनाबारे थप टिप्पणी नगर्ने र सबै जनतालाई छाडिदिने उनले बताए ।

पाण्डेले महानगरमा नगरप्रहरी प्रमुखको रुपमा झण्डै साढे ३ वर्ष काम गरे । मेयर बालेन साह निर्वाचित भएर आइपुगेपछि नगरप्रहरी बल प्रमुख मेयरले धनपति सापकोटाको जिम्मेवारी पाण्डेलाई दिएका दिए ।

२०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका पाण्डे २०७७ मा नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका थिए ।

सबैतिरबाट एक्लिएका काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई नगरप्रमुख पाण्डेले भने दरिलो साथ दिइरहेका थिए । पाण्डे यसकारण पनि बालेनप्रति वफादार थिए कि नगर प्रहरी प्रमुख हुने सौभाग्य उनलाई बालेनबाटै मिलेको हो ।

यसअघि एसपी धनपति सापकोटा नगरप्रहरी थिए । तर आफूले भनेको हुबहु नमान्दा बालेन उनीबाट सन्तुष्ट हुन सकेनन् । खासगरि नर्भिक हस्पिटलको टहरा भत्काउने सन्दर्भमा कानूनी प्रावधान पूरा गर्नुपर्ने सन्दर्भ उठाएपछि धनपतिसँग बालेनको रुष्ट बने ।

काठमाडौं नगर प्रहरीमा ५ एसपीको दरबन्दी छ, जसमध्ये धनपति प्रमुख थिए । उनलाई माइनस गर्दै बालेनले २०७९ भदौमा पाण्डेलाई एसएसपीमा बढुवा गरेर नगर प्रहरीको निमित्त प्रमुख बनाएका हुन्। त्यसपछि धनपति जागीर छाडेर हिँडेका थिए । काठमाडौं महानगरको कार्यपालिका वैठकले सर्वसम्मतिबाटै पाण्डेलाई एसएसपीमा बढुवा गर्ने निर्णय लिएको थियो ।

Comments

One response to “निलम्बनको पत्र बोकेर महानगरबाट बाहिरिए राजु पाण्डे, भन्छन्– मेरो मूल्यांकन तपाईंहरु नै गर्नुस्”

  1. ksp pyl Avatar
    ksp pyl

    तिम्रो केही गल्ति छैन । नेपालका प्रशासकीय अधिकृतहरू सबैको ध्यान भ्रष्टाचार गर्ने सिवाय अरू केहि छैन । यस्ता भ्रष्टाचारीको त मरण राम्रो हुँदैन यिनका सन्तानले पनि नराम्रो दुःख पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *