काठमाडौं । गायक, गीतकार तथा संगीतकार गणेश रसिकको निधनप्रति अर्का गायक तथा गीतकार हिरण्य भोजपुरेले दुःख प्रकट गरेका छन् । भोजपुरेले भावुक हुँदै लेखेका छन्, ‘गणेश रसिक गएछन् । अरु जानेहरू गए जसरी गए । दैवले उनलाई हुनी दुःख दिएनन् । अब त दैवले पनि उनलाई दुखाउन सक्दैनन् ।’
रसिक र भोजपुरेले पाँच दशकभन्दा लामो समय लेकाली समूह चलाए । गाउँ-गाउँमा गएर जनताको घरघरमा प्रगतीशील गीतहरूमार्फत् चेतना फैलाउने काम गरेका थिए ।
विगत सम्झँदै भोजपुरेले फेसबुकमा लेखेका छन्, ‘उनले लेकालीलाई चुलीतिर पुर्याउन कम कसरत गरेका होइनन् । उनले लेकालीहरूलाई उचाले । लेकालीहरूले उनलाई अग्लो बनाए । साहित्य, स्वर र संगीतका कलकल निनाद गणेश रसिक ।’
भोजपुरे थप्छन्, ‘तिमी सर्वदा बुडुली बनेर हाम्रो मनमा बिम्झिरहने छौ । ६० वर्षभन्दा लामो हाम्रो आत्मियता अब त तुस बनेर भित्रभित्र बल्झिरहने भो ।’
छ महिना जति मन्जुल, रायन, रामेश र नोरेमसँग राल्फामा बसेपछि छुट्टिएर रसिकले भोजपुरेसँग मिलेर लेकाली समूह गठन गरेका थिए । यही समूहको प्रमुख पात्र थिए रसिक र भोजपुरे । उनीहरूले ‘रातो भाले क्वायँ क्वायँ’, ‘नखेल्नू जुवा तास’, ‘त्यो माथिबाट’, ‘खोलातिर नाचेर’ लगायत दर्जनौं गीत सृजना गरे । यिनै गीतहरू गाउँदै गाउँ गाउँ डुल्थे ।
भोजपुरे अचेल अमेरिका बस्दै आएका छन् ।
प्रोस्टेड क्यान्सरबाट पीडीत रसिकको २ दिनअघि ७८ वर्षको उमेरमा निधन भयो ।

Leave a Reply