जनकपुरधाम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–कञ्चनपुर सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनीको ढिलासुस्तीले राजमार्गको अवस्था नाजुक बनेको छ ।
सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म राजमार्ग स्तरोन्नतिको काम सन् २०२० अक्टोबरबाटै सुरु भयो । कूल १५ अर्ब ५६ करोडमा राजमार्ग स्तरोन्नतिको ठेक्का पाएको चाइना रेलवे २ इन्जिनियरिङ ग्रुपले सन् २०२३ अक्टोबरमै काम सम्पन्न गर्नुपर्ने थियो । तर अहिलेसम्म लगभग आधा काम मात्र सकेको छ ।
कमलादेखि कञ्चनपुरसम्म ८७ किलोमिटर राजमार्ग स्तरोन्नति गर्न पुरानो सबै संरचना भत्काएको छ । बीच बीचमा कालोपत्रे गरिएको छ । कालोपत्रे नभएको ठाउँमा असरल्ल निर्माण सामग्री थुपारिएको छ । भत्काएको क्षेत्र कहिले धुलाम्मे र कहिले हिलाम्मे हुने गर्छ ।
लहान र रुपनीमा अन्डरपास तथा लहानमा दुई ठाउँमा ओभरहेड पुलसमेत निर्माण गर्नुपर्ने छ । तर यो कामको बल्ल थालनी मात्र गरिएको छ ।
एकै पटक धेरै स्थानमा काम गर्दा निर्माण कार्य झन् लथालिङ बनेको लहानका स्थानीय रमेश साहले बताए । उनका अनुसार अन्डरपास, ओभरहेड पुल, नाला र सडकमा एकै पटक हात लगाउँदा अहिले लहान बजार अस्तव्यस्त बनेको छ ।
उनले काम अधूरो हुँदा सडकमा धूलो र हिलो हुने गरेको सुनाए । ‘धूलो हुँदा व्यापार चौपट हुन्छ । हिलो हुँदा त आवतजावत नै रोकिन्छ,’ उनले भने ।


Leave a Reply