काठमाडौं । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएको छ । जेठ १५ गते संवैधानिक बाध्यताअनुसार बजेट पेस गर्न दिएपनि अब चल्न नदिने अडानमा उनीहरू छन् ।
गृहमन्त्री लेखकको राजीनामा, प्रधानमन्त्री केपी ओलीको जवाफ र उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको बटमलाइन छ । छानबिन समितिको पक्षमा नखुले पनि गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ दिनुपर्ने माओवादीको भनाइ छ । राप्रपाले पनि यी मागमा साथ दिएको छ ।
प्रचण्डले आन्तरिक बैठकमा गृहमन्त्री राजीनामाको लागि तयार भइसके पनि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आड पाएर ब्याक भएको ब्रिफिङ गरेका थिए ।
गृहमन्त्रीको राजीनामा नआएसम्म सदन नखोल्ने बताउँदै आएको माओवादी र रास्वपाले भोलिदेखिको सदनमा रणनीति बनाउन संसदीय दलको बैठक डाकेका छन् ।
यद्यपि, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी यो प्रकरणमा अहिलेसम्म सदन अवरोध गर्न साथ दिए पनि गृहमन्त्रीले बोल्न पाउनुपर्ने पक्षमा उभिएको छ ।
रास्वपाले पार्टी सभापति रवि लामिछानेको सहकारी प्रकरणमा कांग्रेसको व्यवहारलाई जोडेर अहिले बदला लिन खोजेको कतिपयको बुझाइ छ ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले यो प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्ने पार्टीले कुनै निर्णय नगरेको बताए । गृहमन्त्रीको राजीनामाबारे विपक्षी दलले उठाइरहेको विषयको वरिपरि रहेर नेकपा एसका संसदीय दलका उपनेता समेत रहेका पाण्डेसँग गरिएको संक्षिप्त कुराकानी-
– भिजिट भिसा प्रकरणमा अन्य विपक्षी दलले गृहमन्त्रीको राजीनामा बटमलाइन बनाउँदा तपाईँहरूको भनाइ के ?
हाम्रो पार्टीले अहिलेसम्म गृहमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छैन । हामीलाई हाम्रो कुरा राख्नलाई सभामुखले दिइराखेका छैनन्, १३ गतेको बैठकमा माओवादी र रास्वपाले आफ्नो कुरा राख्यो, हामीले समय माग्दा सभामुखले दिएनन् । उल्टो सत्तापक्षका श्याम घिमिरेलाई समय दिन खोजेका थिए ।
रास्वपाले आफ्नो बैठक राखेर राजीनामा बटमलाइन भनेर निर्णय गर्यो । प्रतिपक्षको बीचमा छलफल गरेर निर्णय गर्नुपर्छ भनेर धैर्यता पनि राखेन । संसदमा रहेका पार्टीहरू त आ-आफ्नो अस्तित्वमा रहन्छन् नि !
उनीहरूले निर्णय गर्ने हामी पछि लाग्ने भन्ने हुँदैन । माओवादीको निर्णयको पछि लाग्ने पनि कुरा हुँदैन । आन्दोलन सुरू गर्नुअघि के गर्ने भनी उनीहरूले भन्नुपर्यो ।
मैले प्रचण्डजीको संसदीय दलको कार्यालय बैठकमा बस्दा हामी तपाईँहरूको पुच्छर हुन सक्दैनौँ भनिसकेको छु । यही निर्णय पनि तपाईँहरूले निर्णय नगरी विचार हुनसक्थ्यो, प्रस्ताव गर्न सक्नुहुन्थ्यो, सबैले बसेर निर्णय गर्दा हुन्थ्यो, अहिले तपाईँहरू मार्केट लिने, अहिले रास्वपा मार्केट लिने दाउमा छ । त्यसैले तपाईँहरूको मार्केट लिने दाउमा हामी मिसिन सक्दैनौँ भनेको छु ।
– विपक्षी दलको बैठक त बसेको थियो, भनेपछि राजीनामा बटमलाइन भनेर कुनै निर्णय भएको होइन ?
राजीनामा बटमलाइन उनीहरूले भने । हामीले संसदमा मन्त्रीबारे प्रश्न उठेपछि उत्तर दिन पाउनुपर्छ भनेका छौँ । राजीनामाको कुरा त पछि गरौँ, अहिले त मन्त्रीले उत्तर दिन पाउनुपर्यो नि !
प्रश्न उठाउने उत्तरै दिन नपाउने भन्ने हुँदैन । त्यसो भए सबै मन्त्रीहरूलाई एउटा एउटा सांसदले राजीनामा गर भनेर बोल्ने अनि, संसदमा राजीनामा नगरी नआइज भनेर हुन्छ कि हुँदैन ।
– रास्वपाले त गृहमन्त्रीको राजीनामा, प्रधानमन्त्रीको जवाफ र छानबिन आयोगको कुरा उठाएको छ नि !
छानबिन त हामीले पनि हुनुपर्छ भनिरहेका छौँ । यो कुरा अहिले रमेश लेखकको पालामा मात्रै भएको छ कि विगतमा पनि भएको छ ? त्यो त छानबिन भएपछि मात्रै थाहा हुन्छ।
अर्को कुरा मन्त्री बदल्दैमा सधैँका लागि यो कुरा बन्द हुन्छ र ? मानव तस्करी र भ्रष्टाचारको लहरो त टुटाउनै पर्यो नि ! त्यो लहरो टुटाउने काम पहिला छानबिनबाट गर्नुपर्छ, त्यसपछि मन्त्रीले राजीनामा गर्नपर्ने लेबलको अवरोध हो कि नपर्ने भन्ने त्यसपछि छलफल हुन्छ ।
– माओवादीले पनि गृहमन्त्रीको राजीनामा नआई भोलिदेखि सदन अघि बढ्दैन भनिसक्यो ?
माओवादीले आफ्नो पार्टीको निर्णय गरेको हो, हामी हाम्रो कुरा गर्ने हो । हामीले अहिलेसम्म गृहमन्त्रीको राजीनामा माग्ने निर्णय गरेका छैनौँ ।

Leave a Reply