काठमाडौं । हिमानी ट्रस्टले दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारका सदस्यहरुको सम्झनामा भोलि दीप प्रज्वलन गर्ने कार्यक्रममा संशोधन गरेको छ । नारायणहिटी दरवारभित्रको मन्दिरमा गर्ने भनिएको दीप प्रज्ववल कमलादी गणेश मन्दिरमा सारिएको हो ।
राजावादी आन्दोलनका कारण सरकारले नारायणहिटी क्षेत्रमा निषेधाज्ञा लगाएको छ । दीप प्रज्ववलनजस्तो शान्तिपूर्ण कार्यक्रमलाई निषेधाज्ञाले असर नगर्ने आँकलन सुरुमा गरिएको थियो । तर, प्रहरी–प्रशासनले अवरोध गर्न सक्ने संकेत मिलेपछि स्थान परिवर्तन गरिएको हिमानी ट्रस्ट स्रोतले बतायो ।
‘हामीले त दरबार हत्याकाण्डमा दिवंगत हुनुभएका पिता पुर्खाहरुलाई श्रद्धान्जली दिनका लागि मात्रै कार्यक्रम राखेका हौं । यसमा कुनै पनि राजनीतिक अभिष्ट थिएन । जेठ १५ मा हरेक वर्ष हुँदै आएको पनि हो । तर, खोइ के कति कारणले जिल्ला प्रशासनले अनुमति दिन मानेन,’ स्रोतले भन्यो ।
आफूहरुले अनुमतिका लागि पत्र दिन जाँदा प्रमुख जिल्ला अधिकारीले बुझ्नै नमानेको पनि हिमानी ट्रस्टको गुनासो छ ।
को को जाने ?
दीप प्रज्ववलन कार्यक्रममा काठमाडौंमा उपलब्ध राजपरिवारका सबै सदस्यहरु उपस्थित हुने कार्यक्रम छ । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल झापामा छन् । उनीहरु दीप प्रज्ववलनमा अनुपस्थित रहनेछन् ।
काठमाडौंमै रहेका पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीले दीप प्रज्वलनमा भाग लिने छन् । उनीहरु विरलै एकसाथ देखिने गर्छन् । पारस–हिमानी पुत्र पूर्वनवयुवराज हृदयन्द्र पनि दीप प्रज्वलनमा सरिक हुने कार्यक्रम छ । अमेरिकामा अध्ययन गर्न गएका उनी अहिले छुट्टिमा नेपाल आएका छन् । पूर्व अधिराजकुमारी प्रेरणा, तथा पूर्वराजाका बहिनी, ज्वाईंहरु पनि जाने तयारी छ ।
पूर्वशाहज्यादी शिताष्मा भने पूर्वराजदम्पत्तिसँग झापामा छिन् ।

Leave a Reply