बझाङ । बझाङको जयपृथ्वी क्याम्पसले उच्च शिक्षाको गुणस्तर सुधारका लागि जेठ १६ र १७ गते दुई दिने राष्ट्रिय सम्मेलन आयोजना गर्नका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपालका विभिन्न विश्वविद्यालयका प्राज्ञ, विषय विज्ञ, शिक्षक, अनुसन्धानकर्ता, विद्यार्थी र जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
उच्च शिक्षाको गुणस्तर सुधारका विषयमा गहन छलफल र बहस गरिने सम्मेलनमा विभिन्न विषयका कार्यपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने छ। आयोजकले सम्मेलनमार्फत उच्च शिक्षाको वर्तमान अवस्था, अवसर र चुनौतीहरूको खोजी गरिने बताइएको छ ।
‘ उच्च शिक्षाको गुणस्तर खस्कँदै गएका कारण यसको असर समाजको समृद्धि र विकासमा परेको छ। यस्ता विषयमा थप गम्भीर बहस आवश्यक छ ’ जयपृथ्वी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक लालबहादुर बोहराले भने, ‘ बझाङजस्ता जिल्लामा यस प्रकारको बहस अझ जरुरी छ, त्यसैले लामो तयारीपछि हामीले यो राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेका हौँ । ’
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरबाहेक अन्य जिल्लामा अहिलेसम्म यस्ता सम्मेलन हुन नसकेको हुँदा बझाङमा आयोजना हुने यो कार्यक्रमले प्रदेशभरि सकारात्मक सन्देश फैलाउने विश्वास आयोजकहरूको विश्वास छ । २०३८ सालमा स्थापना भएको जयपृथ्वी क्याम्पसले यसअघि पनि सुदूरपश्चिम विश्वविद्यालयको आर्थिक सहयोगमा प्रदेशभरका २४ वटा क्याम्पसका प्राध्यापक, शिक्षक र अनुसन्धानकर्ताको सहभागितामा प्राज्ञिक कार्यशाला सम्पन्न गरिसकेको छ।
क्याम्पस प्रमुख दीर्घराज पण्डितका अनुसार, विश्वविद्यालय अनुदान आयोग, स्थानीय तह, प्रदेश मन्त्रालय, कूटनीतिक निकाय, सुदूरपश्चिम विश्वविद्यालय तथा जिल्ला उद्योग वाणिज्य सङ्घको सहयोगमा हुने सम्मेलनमा दुई सयभन्दा बढी विषय विज्ञ, शिक्षक, अनुसन्धानकर्ता र जनप्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा विज्ञान र प्रविधि, शिक्षा, मानविकी, भाषागत योजना, ग्रामीण विकास र उच्च शिक्षा प्रदायक संस्था र सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको सहकार्यजस्ता बहुविधात्मक विषयमा एक सयभन्दा बढी कार्यपत्र प्रस्तुत गरिनेछ।
आयोजकहरूले सम्मेलनपछि उच्च शिक्षाको गुणस्तर सुधार र समयानुकूल विकासका लागि बहस र पहलहरू उत्पन्न हुने आशा गरेका छन्।

Leave a Reply