भोलि प्रहरीको पहिलो तैनाथी बिहान ८ बजेबाट, १० बजे राष्ट्रपति टुँडिखेल पुग्दै

काठमाडौं । भोलिको प्रहरी तैनाथीको क्रम बिहान ८ बजेदेखि सुरू हुने भएको छ । गणतन्त्र दिवस मूल समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल १० बजे सैनिक मञ्च, टुँडिखेल पुग्ने कार्यक्रम तय भएको छ । त्यसका लागि प्रहरी ड्युटी ८ बजेदेखि नै सुरू हुन्छ ।

उक्त सवारी ड्युटीका लागि जिल्ला प्रहरी परिसरसहित प्रहरी बृत्त महाराजगन्ज, लैनचौर, दरबारमार्ग र सिंहदरबारका टोली सडकमा हुनेछन् । राष्ट्रपति पौडेल ९ः५० मा शितल निवासबाट निस्कने कार्यक्रम रहेका कारण पहिलो चरणमा महाराजगन्जदेखि रत्नपार्कसम्म १५ मीनेट सवारी आवागमन अवरुद्ध हुने प्रहरीस्रोतले जनाएको छ ।

टुँडिखेलबाट राष्ट्रपति पौडेल १०ः४५ मा निस्कने कार्यक्रम छ । उनी फर्कने क्रममा फेरि अर्को १५ मीनेटका लागि सवारी आवागमन अवरुद्ध हुने भएको छ ।

राष्ट्रपतिको सवारीपछि एमाले र राप्रपा प्रदर्शनका कारण फेरि काठमाडौंका मुख्य सडक अवरुद्ध हुने छन् । तर, अहिलेसम्म डाइभर्सन रुट तय भएको छैन । प्रदर्शनका कारण कहाँ कहाँ, कस्तो प्रभाव पर्छ भन्ने आधारमा डाइभर्सन गरिने उपत्यका ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेले बताए ।

अहिलेसम्म प्रदर्शन लक्षित सुरक्षा योजना नबनेको प्रहरीस्रोतले बतायो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *