प्रकाशचन्द्र खतिवडाका तीन कविता

१. युवा

समयलाई डोर्‍याऊ
युग तिम्रो हो
वढ अगाडि
निरङकुशताका पर्खाल ढाल्दै ।

तिम्रो उत्तेजित उत्सुकता
आँखाका नानीहरुमा तैरिरहेछन
वरालिएको समयलाई
थिल थिलो हुने गरी चुट
हार वोक्न सक्दैन धरती
जितेको इतिहास लेख्नु पर्छ ।

सीमान्तकृत छैन अस्तित्व
रातको प्रत्येक प्रहर गुज्रदा
बिहान हुनु अगावै
युवा हुनुको नाताले
उर्जाशील समयले अंगालो हालेर
तिमीलाई घच्घच्याउने गर्छ
तिमी उठ
युगको गुनासो सुन्दै
मान्छेको दुःखेको मनमा
मल्हम पट्टि लगाउने गरी ।

मिसायल भट्टिहरु
नमिठो मृत्यृको पीडा फ्याँकि रहेछन
हृदयविदारक चित्कार सुनिन्छ कतै
तिमी अत्तालिन सक्छौ
युगको नाजायज हत्या हुँदा
तिमी चिच्च्याउन सक्छौ
मानवताको रुवाइमा
युवा
तिमी प्रतिरोध बोल
युद्धको विभीषिका छेक्ने गरी ।

२. अव्यक्त पीडा

असंख्य आत्माहरु
पीडाले छट्पटिरहेछन
साउती मार्दै एकापशमा
ह्ठात मृत्युको भय र त्राशले ।

कुण्ठिएर भावनाहरु
फक्रन नपाइ कक्रिएर
नखुम्चने आकाश भरी
निरुध्येश्य फटफटाउँछन किन ?

म आफै छक्क छु
भावनाहरु
उम्रन्छन्/मर्छन्
न पौरख देखाउन सकियो
अर्जुनले जस्तो
न नीति दिन सकियो
चाणक्यले जस्तो
कस्तो लाचार भइयो ?
चिन्न नसकी आत्मालाई
भड्खारोतिर जाक्किनु पर्‍यो ।

अस्तायो आज पनि सूर्य त्यसै
चिसिएका आत्माहरु नतातेरै
बरफ जस्तो ढिको मन
नदी भएर कहिल्यै पग्लन सकेन
दुई आँखाका गुलुपहरु
टोलाईरहे निस्तेज बनेर ।

कुहिरोमा मडारिरहेका
पुस्तौ पुराना दिनहरु
न खुल्न सके हावाको झोक्कामा
वैसाखीको सहारा लिएर
लङगडो विश्वास बोकि रहेछ मान्छे ।

म आफैँलाई थाहा छैन
आफ्नै आमाका करुण पुकारहरु
म मुर्दा त हैन गाँठे
अ‍ैया
चिमोट्दा त दुख्तो रहेछ ।

यसरी व्यक्त छ
अव्यक्त पीडा
हामै्र मझेरीहरूमा
थाहा छैन
कहिले र कहाँ विष्फोटित हुन्छ ?

३. आँखा

आँखालाई
तिमी चिम्लन सक्छौ
हेर्न सक्छौ
झिम्क्याउन सक्छौ
तिम्रो खुशी हो
तिम्रो आँखा
मन लागुन्जेल
दौडाउन सक्छौ ।

आँखालाई
तिमी आँखा मात्रै नठान
यो परिघटना हो
भूत हो
वर्तमान हो
भविष्य हो
आँखा इतिहास हो
पत्यार नलागे
सोध आँखाकै निश्चल नानीहरुलाई ।

आँखालाई
तिमी दोष नदेऊ
टाउको जोगाउने बहानामा
तिमी आँखालाई
यातना दिन तम्सियौ भने
तिमी हत्यारा हौ
आफनै आँखा रेटेर
उज्यालोविरुद्ध
अँध्यारोको खेती गर्ने ।

आँखाहरुलाई
तिमी सरल रेखामा मात्रै सीमित नराख
बक्र रेखामा दौडाउँदै
प्रयोग र उपप्रयोग गर
तिम्रो आँखा विश्वास हो
विश्वासका मोतीहरू टिप
तिम्रो आँखा
यथार्थ हो
अँध्यारोविरुद्ध उठ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *