गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका विद्यार्थी संगठन सडकमा, तत्काल पक्राउ गर्न माग

काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलनिकट विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। विपक्षी विद्यार्थी संगठनहरुले संयुक्त रुपमा माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्। उनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसामा खाडी मुलुक र युरोप जाने नेपालीहरुबाट लिइएको दैनिक ५० लाख बढीको घुस प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको दाबी गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयमा छापा मार्दै त्यहाँ कार्यरत भ्रष्ट सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसामा नेपालीहरूलाई विदेश पठाए बापत दैनिक ५० लाख बुझाउने गरेको बयानले थप आक्रोशित बनाएको उनीहरुको भनाइ छ।

देशकै गृहमन्त्री जस्तो व्यक्तिको प्रत्यक्ष संलग्नतामा दैनिक पचासौं लाख घुस लिएर विदेश पठाउनु मानव बेचबिखन र देशद्रोह भएको विद्यार्थी संगठनको ठहर छ।

ओली सरकार अख्तियारको दुरुपयोग गर्दै मानव बेचबिखन र देशद्रोहमा मुछिएका गृहमन्त्री रमेश लेखक र दोषी कर्मचारीहरुलाई तत्काल बर्खास्त गरी कारबाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप लगाएका छन्।

गृहमन्त्री रमेश लेखक तथा अन्य मानव बेचबिखन र देशद्रोहमा संलग्न सबैलाई तत्काल बर्खास्त गरी पक्राउ र कारबाही गर्न माग गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *