काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जेठ १५ गतेको कार्यक्रम शान्तिपूर्ण हुने बताएका छन् ।्
उनले गत चैतमा गरेको प्रदर्शन जस्तै जति नै ठूलो भिड भएपनि कार्यक्रम आयोजकको नियन्त्रणमा हुने बताएका छन् ।
प्रदर्शनकाे विषयमा सम्पादकहरुसँगको अन्तरक्रिया गर्दै उनले भने, ‘हाम्रो आन्दोलन पूर्णरुपले शान्तिपूर्ण, अहिंसात्मक र सत्याग्रहपूर्ण हुन्छ । हाम्रोतर्फको हिंसा भड्काउने कुनै पनि क्रियाकलाप हुँदैन ।’
त्यस्तै, उनले चक्रपथबाहिर सरकारले आन्दोलन गर्न भनेको विषयमा प्रष्टीकरण दिँदै बाहिर गर्दा प्रभाव र दबाब सिर्जना नहुने भएकाले रत्नपार्कमा गर्ने घोषणा गरिएको बताए ।
यस्तो छ लिङदेनको भनाइः
हामीले यो कार्यक्रमको लागि स्वीकृति किन लिइराख्नु पर्दैन भने हामीले कुनै मञ्च खडा गरेर सभा गर्दैनौं । हामीले शहरभरी प्रदर्शन गर्ने हो । तर हामीले केन्द्र रत्नपार्कलाई किन बनाएका छौँ भने त्यहाँ गर्यौँ भने धेरै आवागमनलाई पनि असर गर्दैन । हामीले भित्रै गर्नुपर्छ । बल्खुमा गरेर, बालाजुमा प्रदर्शन गरेर विरोध पनि हुँदैन दबाब पनि सिर्जना हुँदैन । मुख्य शहरभित्रै गर्नुपर्छ र रत्नपार्कमा गर्ने भनेर घोषणा गरेका छौं ।
हामीले त्यहाँ कार्यक्रम गर्ने भनेर घोषणा गर्यौँ । र त्यसपछि प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुलाई पनि त्यही नजिकै भेला हुुनु भनेर जुन मुठभेड निम्त्याउने क्रियाकलाप अगाडि बढेको छ । गलत छ ।
२०४६ सालमा पनि परिवर्तन आउँदा पनि चुनावबाट भएको होइन । ०६२÷६३ मा पनि परिवर्तन आउँदा चुनावबाट होइन । जनताबाटै आएको हो । त्यसैले आधारभूत तहमै परिवर्तन ल्याउन आन्दोलन नै चाहिने भएकाले हामीले जनआन्दोलनको घोषणा गरेका हौं । यो जनआन्दोलन विगतका आन्दोलन भन्दा फरक हुन्छ । अघिल्ला आन्दोलनहरुमा हिंसात्मक भए । धेरैको ज्यान गयो । यो सत्याग्रहको रुपमा हुनुपर्ने भनेर सडकको बाटो पक्रेका छौं ।
कतिपयले यो व्यवस्थाको विरोध गर्ने र दोहोरो सुविधा पनि लिने भनेर सोधिरहनुभएको हुन्छ । यसलाई पनि आन्दोलनकै एउटा पार्टको रुपमा लिन पनि आग्रह गर्छौं । यो पनि आन्दोलनको पार्ट हो भनेर कसरी भन्न सक्छु भने यदि हामी संसदमा थिएनौ भने यसरी यो तहको आन्दोलन गर्न सक्ने अवस्था आउन सक्ने थिएन ।
हाम्रो आन्दोलनमा विश्व समुदायले निरपेक्ष भएर अवलोकन गरोस् । र कुनै पनि प्रकारको हस्तक्षेप नगरोस् भन्ने हाम्रो चाहना राख्छौं । स्वभाविकरुपमै हिजो विदेशीकै संलग्नतामा भएको १२ बुँदे सहमति र त्यसको जगमा उठेको आन्दोलन र त्यसपछि मुलुकमा भित्रिएको संघीयता र धर्म निरपेक्षताका रुपमा भनिराख्नु पर्दैन । उनीहरुले आफ्नो गल्ती सुधारे भने हामी खुशी हुन्छौं ।

Leave a Reply