काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रशासन सेवातर्फका सहसचिव भुपाल बराल र प्राविधिकतर्फका दिनानाथ मिश्र बढुवा भएका हुन् ।
महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे उमेर हदले अनिवार्य अवकाशमा गएपछि रिक्त ठाउँमा बराललाई बढुवा गरिएको हो ।
यसैबीच ३ सचिवको पदस्थापनसँगै ८ जना सचिवको सरुवा गरिएको छ । शोभाकान्त पौडेललाई गण्डकी प्रदेशको प्रमुख सचिव र भुपाल बराललाई बागमती प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ । मिश्रलाई जल तथा ऊर्जा आयोगको सचिवालयमै खटाइएको छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । त्यहाँका डा. दिपक काफ्लेलाई राष्ट्रपति कार्यालय पठाइएको छ ।
राष्ट्रपति कार्यालयका सचिव डा. रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको (वाणिज्य) मा सरुवा गरिएको छ । त्यहाँका सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (प्रशासनतर्फ) का सचिव हरिप्रसाद मैनालीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ ।
गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ भने बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थ र लोक सेवा आयोगका सचिव डिल्लीराम शर्माको पनि सरुवा भएको छ ।

Leave a Reply