सम्भावना देशमा, युवा जति विदेशमा !

युवा आशाको पुञ्ज, सम्भावनाको केन्द्र, भरोसाको आधारस्तम्भ, ऊर्जा र शक्तिको अजय स्रोत हुन् । युवाका यही अनेकौं विशेषताका कारण थुप्रै नाम र विशेषण पर्याप्त छ । यद्यपि नेपालमा आजको समयमा युवा को हो त ? उमेरको सीमाले रेखांकन गरेकाहरूमात्रै युवा हुन् कि उमेर केवल अंकमात्रै हो ? या त व्यक्तिको ऊर्जा, सोच, चेतना, सक्रियता र समर्पणका सूचकहरू पनि युवाका मापनयन्त्र हुन् ? यसमा भिन्नभिन्न कोणबाट बहस भइरहेको छ, जुन जरुरी पनि छ ।

नेपालको सन्दर्भमा विशेष गरेर युवालाई तीन भागमा छुट्ट्याएर हेर्दा न्यायोचित हुनसक्ला । पहिलो क्रोनोलोजिकल, जो क्यालेन्डरमा आधारित उमेर हुन्छ । हामी जन्मेको साललाई आधार मानेर उमेर छुट्याउँछौं । खासमा असली युवाहरू हामीकहाँ उमेरकै आधारमा १६ देखि ४० वर्षसम्मकालाई युवा मान्ने प्रचलन छ । दोस्रो जीवविज्ञान, जो शरीरको उमेर (एज फ्याक्टर)मा आधारित हुन्छ । यो भनेको कोही मानिस धेरै वर्षको भइसक्दा पनि कम उमेरका देखिन्छन्, कोही कम उमेरमै धेरै वर्षको जस्तो देखिन्छन् । यो चाहिँ हाम्रो समुदाय, खानपान, जीवनशैलीमा बढी निर्धारण होला । तेस्रो मनोवैज्ञानिक, यो नितान्त मान्छेको परिवर्तनशील सोच, कार्यशैली, व्यवहारलगायतसँग सम्बन्धित हुन्छ । यही मनोवैज्ञानिक तर्कका आधारमा हाम्रो देशका ६० वर्ष पार गरेका पुराना नेताहरू पनि आफूलाई युवा नेता भनिरहेका/भन्न लगाइरहेका हुन्छन् । हामीहरूले पनि जान अञ्जान उनीहरूलाई युवा नेता भनिरहेका हुन्छौं ।

यी तीन वटै विषयको सारमा भन्दा युवाहरू ती हुन्, जोसँग केही न केही गरांै भन्ने अथाह हुटहुटी छ, जोश, जाँगर, ऊर्जा र उत्साह छ । उनीहरू परम्परागत प्रथा, सोच र भ्रमबाट मुक्त छन्, सन्त्रासमा बाँच्दैनन्, विद्रोही स्वभावका जो हार्न डराउँदैनन् । युवाहरू आफू र आफ्नो क्षमतामा विश्वास राख्छन्, जीवन चलाउन अरुमा आशा राख्दैनन् । आफ्नो बाटो र गन्तव्य आफैं बनाउँछन् । सिर्जनशील कर्महरूमा रमाउँछन् । संसार हेर्ने दृष्टिकोणमा कुनै एक संकुचन र लघुताभाषमा आफूलाई सीमित गर्दैनन् । जीवन्त विचार र स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छन्, कुनै पूर्वाग्रह राख्दैनन् । जो कुनै निश्चित भूगोल र सीमामा बाँधिन चाहन्नन्, भ्रम र परिबन्दमा पर्दैनन्, निरन्तर खोज, अनुसन्धान र अन्वेषणबाट व्यक्ति, परिवार, समाज र देश समृद्ध तुल्याउने फराकिलो दायरा रोज्छन् । यो लेख यी र यस्तै सोच, संस्कार, स्वभाव र संसारमा हुर्किरहेका तमाम युवा पुस्ता र यस पुस्ताले आफ्नो भविष्य र विकल्प नेपालमै खोज्ने कि विदेश नै सोच्ने भन्नेमा केन्द्रित छ ।

देश नै विदेश गइरहेको जबरजस्त भाष्य

देशमै यथेष्ट अवसर, उच्च शिक्षा, रोजगारको अभावले परदेशिनु हामी नेपालीको विवशता बनेको छ, तर यही विवशतालाई लिएर धेरै मान्छेहरू सिंगो देश नै विदेश हिँडिरहेको जबरजस्त गलत भाष्य स्थापित गर्न लागिरहेका छन् । यो चाहिँ तथ्य हो कि नेपालबाट श्रमका लागि दैनिक २२ सय बढी युवा र शिक्षाका लागि दैनिक ३०० बढी युवा विदेशिने गरेको तथ्यांक छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार देशभरका १५ लाख ५६ हजार परिवारका कोही न कोही सदस्य विदेशमा छन् ।

देशमै यथेष्ट अवसर, उच्च शिक्षा, रोजगारको अभावले परदेशिनु हामी नेपालीको विवशता बनेको छ, तर यही विवशतालाई लिएर धेरै मान्छेहरू सिंगो देश नै विदेश हिँडिरहेको जबरजस्त गलत भाष्य स्थापित गर्न लागिरहेका छन् ।

नेपालमा १५ वर्षभन्दा माथिको सक्रिय श्रमशक्ति जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको पछिल्लो श्रमशक्ति सर्वेक्षणले देखाउँछ । त्यसमध्ये केवल ७० लाख ८६ हजार जनसंख्यामात्रै रोजगारीका विभिन्न क्षेत्रमा सामेल देखिन्छ । रोजगारीका क्षेत्रमा रहेको श्रमशक्ति जनसंख्याको ३४.२ प्रतिशत देखिन्छ । बाँकी ११.३ प्रतिशत बेरोजगारीदर देखिन्छ । त्यसले खोज्ने विकल्प भनेको विदेश नै हो । श्रमबाहेक पनि शिक्षाका लागि विदेश जानेको संख्यामध्ये १६-४० उमेर समूहभित्रको झन्डै ७ प्रतिशत अर्थात् १ लाख १० हजार छ । यो पाटोमा पनि सरकारले गम्भीरतापूर्वक कदम चालेर कसरी युवाहरू देशमै रोक्न सक्छौं भन्ने सवाल सोचनीय छ ।

उसो त अहिले जे भाष्य बनाइएको छ या बनाउन खोजिएको छ, यो आज अहिलेमात्र भएको/देखिएको होइन, वर्षौंदेखि उच्च शिक्षा अध्ययन र रोजगारको खोजीमा गइरहेको दृष्टान्त हो । जो उसैगरी नेपाल फर्किरहेका पनि छन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने भीडभाडको भिडियो र तस्बिर राखेर यस्तो भाष्य निर्माण गर्न खोजिएको छ कि यही रफ्तार केही वर्ष रहिरहे देश खाली हुन्छ । नेपालमा कुनै सम्भावना छैन, अब देशमा कोही पनि बस्दैनन्, बस्नेवाला छैनन् । झट्ट सुन्दा, तस्बिर, भिडियो र समाचार हेर्दा साँच्चिकै हो कि जस्तो धेरैलाई परिरहेको छ । त्यसले आमरूपमा थप निराशा फैलाइरहेको छ, तर एयरपोर्टमा जुन भीड देखिन्छ, त्यसको तथ्य केलाउन आवश्यक छ । त्यहाँ १ जना परदेश जाँदा ८-१० जना छोड्न जानेहरू हुन्छन्, जसले एयरपोर्टमा थामिनसक्नु भीडभाड भएको तथ्य बिर्सिनुहुन्न । सँगै विदेशबाट अध्ययन, अनुभव र सीप सिकेर आफ्नै देशमा केही गर्ने सोच र सपनासहित दैनिक फर्किरहेको ठूलो संख्यालाई पनि हामीले नजरअन्दाज गरिरहेका छौं ।

मुलुकको राजनीतिक अस्थिरता, अस्वस्थ सत्ता चलखेलले अपेक्षित उपलब्धि र प्रगति हासिल हुन सकिरहेको छैन । नागरिकमा राजनीतिप्रति वितृष्णा र निराशा पैदा गरिरहेको छ, तर यही कारण देशमा बस्ने वातावरण नै छैन भनिनु न्यायोचित हुँदैन । जबकि देशमै स-साना उद्यम, कृषि, पर्यटन, व्यापार व्यवसायबाट राम्रो गरेर देशमै उदाहरणीय बन्नेदेखि आफ्नै देशमा कर्म, उद्यम गरेर रमाउनेको संख्या पनि अधिक छ, जुन पात्र र कामहरू ओझेलमा प्रायः छन् । जति नकारात्मक, भीड र भाइरल कुराहरूले समाजमा प्रश्रय पाइरहेका छन्, सत्कर्म, सत्प्रयासहरूको मिडिया, सामाजिक सञ्जालमा यथेष्ट समाचार, खबर, दृश्यहरूले प्राथमिकता पाइरहेका छैनन् । यो भने नेपाली समाजको विडम्बना हो ।

नेतृत्व र नीति निर्माणमा युवाको बढ्दो उपस्थिति

सरकारले युवा पुस्ता केन्द्रित नीति, कार्यक्रम नल्याएको होइन । युवा सरोकारका विषयलाई व्यवस्थित रूपमा सम्बोधन गरी सामाजिक रूपान्तरण र समृद्धिका लागि छुट्टै संयन्त्रको आवश्यकता महसुस गरी २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय स्थापना गरियो । यसमार्फत युवालाई सशक्तीकरण गर्दै राष्ट्रिय विकासको मूल प्रवाहमा समावेश गर्ने गराउने ध्येयले राष्ट्रिय युवा परिषद्समेत बनाएको काम भइरहेको छ । युवा उद्यमशीलता, स्वरोजगार र आत्मनिर्भरताको अभियानसहित युवा परिचालन वर्ष, सामाजिक जागरण र समृद्धिका लागि युवा अभियान, युवा उद्यमका लागि सहुलियतमा ऋण अनुदान जस्ता विभिन्न कार्यक्रमहरू सरकारले ल्याइरहेकै छ । भलै यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले ठोस नीति, योजना र कार्यक्रम ल्याउनुपर्छ । अर्थतन्त्रमा उदाउँदै गरेका दुई छिमेकी राष्ट्र भारत र चीनसँगसँगै जान नसके पनि कसरी अघि बढ्नेमा सरकारले ठोस पहलकदमी लिनैपर्छ ।

राष्ट्रिय जनगणना २०६८ मा नेपालको युवा ४०.३५ प्रतिशत (१,०६,८९,८४२) रहेकोमा २०७८ अनुसार (राष्ट्रिय नीतिअनुसार १६-४० वर्ष) जनसंख्या ४२.५६ प्रतिशत (१,२४,१२,१७३) छ । पछिल्ला दुई वर्षको जनसंख्याको तुलना गर्दा २.२१ प्रतिशतले नेपालमा युवाको संख्या बढेको देखिन्छ । यस तथ्य र तथ्यांकलाई गहिरो गरी हेर्ने र विश्लेषण गर्ने हो भने नेपालको इतिहासमा अहिले जतिको युवाको जनसंख्या कहिल्यै थिएन । अबको कैयौं दशकसम्म नहुने प्रस्टै देखिन्छ । किनकि पछिल्लो समय नेपालमा जन्मदर घट्दै गइरहेको छ । युवाको संख्या पहिलेको भन्दा बढेको मात्र छैन, सक्रिय र सिर्जनशील जमात क्षमताका पनि छन् । नीति निर्माण र नेतृत्वमा युवाको सहभागिता र पहुँच बढ्दो क्रममा छ ।

संसारभरिको कम उमेर समूहका सांसद वा युवा जनप्रतिनिधिको विवरण खोज्दै जाने हो भने युवाहरूको राजनीतिमा उपस्थिति निकै कम देखिन्छ । सन् २०१६ मा गरिएको युवा सांसदसम्बन्धी एक अध्ययनले विश्व जनसंख्याको झन्डै ६० प्रतिशत जनसंख्या मतदान गर्न योग्य (२२-४४ वर्ष) उमेर समूहका रहेको देखाएको छ, तर अध्ययनले २६ प्रतिशत सांसद वा जनप्रतिनिधिमात्र युवा रहेको कटु यथार्थ पनि प्रस्तुत गरेको छ । यसमा पनि ३० वर्षभन्दा कम उमेर समूहका युवा सांसद १.९ प्रतिशतमात्रै छन् । ४० वर्षभन्दा कम उमेरको प्रतिनिधित्व पनि १४.२ प्रतिशतमात्रै रहेको छ ।

२०६४ चैत २८ मा सम्पन्न संविधानसभा- १ निर्वाचनमा ३० वर्षमुनिका ५२ जना सांसद थिए । २०७० मा गठित संसदमा ४० वर्षभन्दा कम उमेरका ५७ सांसद थिए । २०७४ मा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी तीन तहमा १४.४९ प्रतिशतमात्र युवा निर्वाचित भए । कुल ८८४ सांसदमध्ये संघको प्रतिनिधिसभामा ३६ र राष्ट्रियसभामा चार तथा प्रदेशसभामा १३० गरी कुल १७० जना युवा सांसद बनेका थिए । जसमा प्रतिनिधिसभामा १३.०९ प्रतिशत, राष्ट्रियसभामा ६.७७ प्रतिशत र प्रदेशसभामा २३.६३ प्रतिशत युवा सांसद बने ।

पछिल्लो आवधिक निर्वाचनमा स्थानीय, प्रदेश र संघीय संसदमा युवा ठूलो संख्यामा निर्वाचित भए । स्थानीय तहमा ३९.६४ प्रतिशत, प्रदेश तहमा २३ प्रतिशत र संघीय तहमा १३ प्रतिशत युवा निर्वाचित भए । यसबाट राज्यका नीति निर्माण तहमा युवाको पहुँच र सहभागिता उल्लेख्य रूपमा बढेको देखिन्छ । नेपाल सरकारको विगत चार वर्षको बजेट अध्ययन गर्ने हो भने कोभिड- १९ पछि युवा क्षेत्रलाई लिएर बढी ध्यान दिएको देखिन्छ ।

हाम्रो देशका युवा जनशक्ति विदेश पलायन भएकोमात्र देख्छौं, आजकै समयमा विदेशबाट थुप्रै युवा पैसा, अनुभव लिएर नेपाल फर्किएका पनि छन् । स्वदेशमै भिन्नभिन्न कर्म र उद्यमबाट नवीन सम्भावना र अवसरको उदाहरण पेश गरेका छन् ।

पछिल्लो समय मुलुकको शासकीय स्वरूप संरचनामा मात्रै होइन, मूलधारकै राजनीतिक दलहरूकै केन्द्रदेखि स्थानीय कमिटीमा पनि युवाको उपस्थिति बाक्लो देखिन थालेको छ । जुन सकारात्मक हो । यद्यपि, युवाहरूको प्रतिनिधित्व गरेर सार्वजनिक पद र भुमिकामा पुगेकाहरूले युवा हुनुको अनुभूति भूमिकाबाटै स्थापित गर्न चुक्नुहुँदैन । अहिले धेरै युवा नेतृत्वले आफूलाई प्रमाणित पनि गरिरहेका छन्, यसले युवा आन्दोलन र अभियानलाई आशा र सम्भावनाको रूपमा अघि बढाउन भूमिका खेलेको छ ।

केही समस्या छ, तर त्योभन्दा बढी सम्भावना छ

के देशमा अहिले समस्यैसमस्या छन् ? यथार्थ त्यस्तो होइन । केही समस्या स्वाभाविक छन्, सम्भावना र अवसर यथेष्ट छन् । जसको खोज, अध्ययन, समर्पण, मेहनत र उपलब्धि सरकारमा मात्र निर्भर रहेर होइन, आफ्ना व्यक्तिगत, सामूहिक तवरबाट पनि गर्न सक्नुपर्छ, सयौं युवाले आफ्नै बलबुता, समर्पण र मेहनतको जग र बलमा गरेका पनि छन् । यति हुँदाहुँदै पनि युवाहरूलाई उत्पादनमा कसरी जोड्ने ? विकासलााई कसरी पुँजीकृत गर्ने ? संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले ठोस नीति, योजना र कार्यक्रम ल्याउनुपर्छ । अर्थतन्त्रमा उदाउँदै गरेका दुई छिमेकी राष्ट्र भारत र चीनसँगसँगै जान नसके पनि कसरी अघि बढ्नेमा सरकारले ठोस पहलकदमी लिनैपर्छ ।

राजनीतिक कारणले मात्रै विदेश गएका छन् भन्ने मान्दिनँ । किनभने आजको विश्व एउटा ग्लोबल भिलेज जस्तो बनिरहेको छ । आजको पुस्ता अध्ययनका हिसाबले, कर्मका हिसाबले र अनुभवका हिसाबले विभिन्न देश घुम्न चाहन्छ । हाम्रो देशका युवा जनशक्ति विदेश पलायन भएकोमात्र देख्छौं, आजकै समयमा विदेशबाट थुप्रै युवा पैसा, अनुभव लिएर नेपाल फर्किएका पनि छन् । स्वदेशमै भिन्नभिन्न कर्म र उद्यमबाट नवीन सम्भावना र अवसरको उदाहरण पेश गरेका छन् । यसलाई राज्यका तर्फबाट थप प्रोत्साहित गर्दै देशमै कृषि, पर्यटनलगायतमा सम्भावना र अवसरको दायरा फराकिलो बनाउँदै लैजानुपर्छ ।

अहिले नेपालमा उद्यम, व्यापार व्यवसायमा युवाको चाख र समर्पण रहरलाग्दो छ, तर त्यसरी गर्ने व्यापार व्यवसायमा खास विविधता छैन । छिमेकीले चिया पसल गरेको छ भने चिया पसल, छिमेकीले कफी सप राखेको छ भने आफूले पनि कफी सप, एउटाले रेस्टुरेन्ट खोलेको छ भने अर्को पनि रेस्टुरेन्ट खोल्ने प्रवृत्ति छ । जसले दुबैको लगानी र समय धरापमा पारेको छ । संघीय शासन प्रणाली र विकासमा युवाको सार्थक सहभागिताको अवसर, गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, उद्यमशील वातावरणको अभाव, लैंगिक, क्षेत्रीय, जातीय असमानता, विश्वव्यापीकरण र उदारीकरणले ल्याएका नकारात्मक प्रभाव नेपाली युवाका समस्या एवम् चुनौतीका रूपमा छन् ।

नेपालमा सानो काम भनेर उपेक्षा गर्ने, त्यही काम विदेशमा अनेकौं हण्डर, ठक्कर र अपमान सहँदै गर्न तयार हुने सोच र प्रवृत्ति पनि छ । देश बनेन भन्ने भाष्य बनाइएको जस्तो राज्यले केही गर्दै नगरेको पनि होइन । विगतको तुलनामा हुँदैछ, बन्दैछ, भलै यो अपेक्षित हैन ।

व्यवस्थित रोजगार/स्वरोजगार नीति आवश्यक

अहिले देशमै केही गराैं भन्यो भने पनि विश्वसनीय वातावरण, बजारीकरण, अनुदान तथा ऋण नपाउने समस्या व्याप्त छ । अर्को नेपालमा सानो काम भनेर उपेक्षा गर्ने, त्यही काम विदेशमा अनेकौं हण्डर, ठक्कर र अपमान सहँदै गर्न तयार हुने सोच र प्रवृत्ति पनि छ । देश बनेन भन्ने भाष्य बनाइएको जस्तो राज्यले केही गर्दै नगरेको पनि होइन । विगतको तुलनामा हुँदैछ, बन्दैछ, भलै यो अपेक्षित हैन । कोरोनापछि नेपालको अर्थतन्त्र थलियो । पछिल्लो रुस-युक्रेन युद्धसम्म आइपुग्दा धेरै नै प्रभावित तुल्यायो । यसले देशका यथेष्ट सम्भावना अवसरमा पनि संकट र चुनौती देखापर्‍यो । जसले यहाँभन्दा बाहिरै पुगेर केही गरौं भन्ने सोच व्यापक बन्दै गयो । जुन अहिले अझ बढ्दै गएको छ । यसमा सरकारले गम्भीरतापूर्वक योजनाबद्ध ढंगले काम गर्नुपर्छ ।

के कारणले देशमा रोजगार र स्वरोजगारका अवसर साँघुरिँदै गएका छन् ? यो हाम्रो नीतिगत समस्या हो कि व्यवस्थापकीय समस्या हो ? देशमै रोजगार, उच्च शिक्षा अध्ययनको वातावरण कसरी बनाउने ? उद्योग व्यवसायीलाई छुट, सामूहिक उद्यमलाई प्रोत्साहित, बजारीकरण गरिदिने विषयमा अहिले कहाँनेर समस्या छ ? विदेशी लगानीकर्ताहरू किन आकर्षित हुन सकिरहेका छैनन् ? भित्रिएका लगानीकर्ता पनि किन असुरक्षित महसुस गरिरहेका छन् ? कृषि, पर्यटन उद्योगको यथेष्ट सम्भावना हुँदाहुँदै पनि किन उल्लेख्य सफलता मिलिरहेको छैन ? देशमा के छ ? विश्वमा के देखाउन सक्छौं ? यसको गहन खोज, अन्वेषण, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्छ । नेपालको अर्थतन्त्रमा आधारभूत रूपमा परिवर्तन ल्याउन सक्ने क्षेत्र भनेको स्वरोजगार नै हो, यसका लागि राज्यसँग व्यवस्थित स्वरोजगार नीति हुनु आवश्यक छ ।

अन्त्यमा, राष्ट्र निर्माण अरु कोही आएर बन्ने र बनाइदिने होइन, हाम्रो देश हामी आफैंले बनाउने हो । देश बनेन भनेर गुनासो गर्ने, नेताहरूलाई ट्रोल बनाउने, देश बर्बाद भयो भनेर दुरमा बसेर कुण्ठा पोख्ने, तर समाजका लागि, देशका लागि आफूले एक चिम्ती जोखिम पनि नउठाउने, कुनै त्याग, समर्पण पनि नगर्ने ? अनि कहिले र कसरी बन्छ समृद्ध देश ? हो, मुलुक बन्न नेता र नीति पहिले सही र कुशल हुनुपर्छ, तर नेता र नीतिले मात्र देश बन्दैन । यसका लागि हरेक नागरिक पनि जिम्मेवार र जवाफदेही बन्नुपर्छ ।

देश विदेशमा भएका सम्पूर्ण न्यायप्रेमी युवाहरूले यसलाई गम्भीरतापूर्वक चिन्तनमनन गरेर व्यवहारतः मैदानमा उत्रिनु आवश्यक छ । राजनीतिमा, नेतृत्वमा, कर्मचारीतन्त्र, नागरिकमा कहाँकहाँ समस्या छन्, त्यसको पहिचान र यथोचित सम्बोधन र समाधान हुनुपर्छ । युवालाई राष्ट्र, राष्ट्रियता, जनता र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति समर्पित र प्रतिबद्ध बनाउँदै उत्तरदायी र जवाफदेही बनाउनुबाट मात्रै यो सम्भव छ । युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र अन्वेषणात्मक क्षमताको विकास, श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न सकियो भने अवश्य देश बन्नेछ । यसका लागि सकारात्मक सोच र सत्कर्मका साथ सबैले हातेमालो गरौं ।

(गुरुङ राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *